बाजुरा : ४१ वर्षे लामो शिक्षण सेवा समाप्त गर्दै सरस्वती माध्यमिक विद्यालय, ढाडाकोटका प्रधानाध्यापक विष्णु बहादुर बिष्ट सेवा निवृत्त भएका छन् । शिक्षा, समाज र नेतृत्वका क्षेत्रमा उल्लेख्य योगदान दिएका बिष्टलाई सेवा निवृत्तपछि भव्य विदाई गरिएको छ । सेवा निवृत्तको अवसर पारी उहाँले विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब तथा विपन्न बालबालिकाहरूका लागि उल्लेखनीय उपहार छोडेका छन् ।
बिष्टले आफ्ना स्वर्गीय पिता रूपनाथ बिष्ट र आमा सुन्तला बिष्टको नाममा अक्षय कोष स्थापना गरेका छन् । विद्यालयका लागि रु दुई लाख ६२ हजार ६१२ बराबरको अक्षय कोष स्थापना गरिएको भरत विष्टले जानकारी दिएका छन् । जससमा विष्ट स्वयमले १,००,५०१ (एक लाख पाँच सय एक रुपैयाँ) कोषका लागि जम्मा गरेका छन् । भने । उनका भाइ जनक बहादुर बिष्टले रु ५१,००० र छोरी अधिवक्ता चेतना कुमारी बिष्टले रु १,११,१११ सहयोग गरेकी छिन् ।
भाइ जनक विष्ट नेकपा एमालेका नेता हुन् । उक्त कोषको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रसिंह कामी र निवर्तमान प्रधानाध्यापक धनराज बोगटीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । शिक्षण सेवा अवधिभर बिष्टले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक विकासमा सक्रिय भूमिका निभाउँदै आएका थिए ।
साथै, समाज परिवर्तन, राजनीति र शिक्षा क्षेत्रका अन्य पहलुहरूमा पनि उनको योगदान उल्लेखनीय रहेको स्थानीयले बताएका छन् । विद्यालय परिवारले बिष्टको समर्पणप्रति आभार प्रकट गर्दै सेवा निवृत्त जीवन सुखमय होस् भन्ने शुभकामना दिएको छ । विद्यालयले उनले सुरु गरेको अक्षय कोषलाई एक प्रेरणादायी सुरुवातको रूपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस