शुक्रबार, १३ भदौ २०८२

बाजुरामा नि:शुल्क हाडजोर्नी शल्यक्रिया तथा ओपीडी शिविर हुने

बाजुरा : बाजुरामा नि:शुल्क हाडजोर्नीसम्बन्धी शल्यक्रिया तथा बहिरंग (ओपीडी) शिविर सञ्चालन हुने भएको छ। नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी , बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा कार्तिक १७ गतेदेखि २१ गतेसम्म शिविर सञ्चालन गरिने भएकाे छ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवका अनुसार गरिब, अपाङ्ग, असहाय तथा शारीरिक समस्या भएका बिरामीलाई लक्षित गरी वरिष्ठ हाडजोर्नी विशेषज्ञहरुको टोलीले सेवा दिने छन् । नाम दर्ता र प्रारम्भिक चेकजाँच कार्तिक १६ गतेदेखि सुरु हुने र शल्यक्रिया सेवा कार्तिक १७ देखि २१ गतेसम्म उपलब्ध हुने जनाइएको छ।

शिविरमा आगोले पोलिएका, जन्मजात हातखुट्टा बाङ्गिएका, खुट्टाको पैतला फर्किएका, हातखुट्टाको विकृतिजन्य , भाँचिएका वा विकृत भइसकेका हाडसम्बन्धी समस्यामा परेका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा दिइनेछ। करिब १६ सदस्यीय टोलीले सेवा प्रदान गर्ने तयारी गरिएको छ। नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका प्रशासकीय अधिकृत धिरज मैनालीका अनुसार अस्पतालले ४७ वर्षदेखि गैरनाफामूलक सेवा दिँदै आएको छ। यसअघि ७ वर्षअघि पनि बाजुरामा शिविर सञ्चालन गरी करिब ५५ जनाको शल्यक्रिया र १,१०० भन्दा बढीलाई ओपीडी सेवा दिइएको थियो।

शिविरको तयारीका लागि बुधबार सर्वपक्षीय बैठकसमेत सम्पन्न गरिएको छ। बैठकमा व्यवस्थापन र प्रभावकारी सञ्चालनबारे छलफल गरिएको थियो। बैठकमा जिल्ला अस्पतालका प्रमुख डा. यादवको अध्यक्षता तथा बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको प्रमुख आतिथ्य रहेको थियो। साथै स्थानीय तह, सुरक्षा निकाय प्रमुख ,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष  , उद्योग वाणिज्य संघ अध्यक्ष , सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस