बाजुरा : जिल्ला अस्पताल बाजुरामा लामो समयपछि सर्जिकल सेवा सुरु भएको छ। मंगलबार अस्पतालमा दुई बिरामीको सफल शल्यक्रिया भएको छ। बुढीगंगा नगरपालिका–४ की १४ वर्षीया निलम नेपालीको एपेन्डिसाइटिस र बडीमालिका नगरपालिका–५ मनाका १९ वर्षीय विमल साउदको फिमोसिसको शल्यक्रिया गरिएको जिल्ला अस्पतालका प्रमुख डा। चन्द्रशेखर यादवले बताएका छन् ।
दुवै बिरामी केही दिनयता पेट दुखाइ र समस्या भोगिरहेका थिए। परीक्षणपछि निलममा एपेन्डिसाइटिस पाइएको र ४८ घण्टाभित्र शल्यक्रिया नभए जटिल अवस्था आउने सम्भावना रहेको अस्पतालका प्रमुख यादवले बताउनुभयो। डा. यादवका अनुसार एपेन्डिसाइटिस प्रायः किशोर–किशोरीलाई देखिने रोग हो र समयमै काटेर निकाल्न आवश्यक हुन्छ। तर, जिल्लामा यसअघि त्यस्तो सुविधा नहुँदा विरामीलाई धनगढी रेफर गर्नुपर्ने बाध्यता थियो। रेफर गर्दा १२–१५ घण्टाको यात्रासँगै आर्थिक तथा शारीरिक कठिनाइ पनि झेल्नु पर्ने अवस्था थियो।
अहिले एमडिजिपी डा। आशिष कार्की आएपछि जिल्लामै अपरेसन सेवा सुरु भएको छ। उहाँले अबदेखि एपेन्डिसाइटिससहित हर्निया, अण्डकोष सुन्निने, गाँठो पर्ने तथा पेटसम्बन्धी रोगका शल्यक्रिया पनि जिल्ला अस्पतालमै हुने बताए।
एमडिजिपी डाक्टर अभावकै कारण पाँच वर्षदेखि रिक्त रहेको पद हालै निक्साइमण्ड इन्स्टिच्युटको सहयोग र जिल्ला अस्पतालको समन्वयमा पूर्ति गरिएको हो। डा। कार्कीलाई एक साताअघि मात्र नियुक्त गरिएको र उहाँको आधारभूत तलब एनएसआईमार्फत दिइने तथा अन्य सुविधा जिल्ला अस्पतालले बेहोर्ने व्यवस्था गरिएको प्रमुख यादवले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस