कञ्चनपुर :नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीको रूपमा व्याख्या गरेका छन् ।
आईतबार कञ्चनपुरमा आयोजित जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउनु राष्ट्रको सम्मान र लोकतान्त्रिक मूल्यका लागि उचित नहुने स्पष्ट पारे ।
“राष्ट्रको अभिभावक, सेनाको परमाधिपति जस्ता पदमा पुगेको व्यक्ति सबैका साझा व्यक्ति हुन्छन् । त्यस्तो पद धारण गरिसकेको व्यक्तिले पुनः राजनीति गर्ने कुरा राम्रो सन्देश होइन,” महासचिव पोखरेलले भने । उनका अनुसार यो निर्णय केवल विद्यादेवी भण्डारीका लागि नभई भविष्यका लागि मार्गनिर्देशन स्वरूप गरिएको हो ।
महासचिव पोखरेलले माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गम्भीर भूल गरेको आरोप लगाउँदै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । उनले एमालेले विधि, अनुशासन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै अघि बढ्ने स्पष्ट गरे ।
त्यस्तै उनले दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षको कार्यकाल दुई वर्षमा सीमित गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा निर्णय गरेको बताए । भीम रावल पार्टीहित विपरीत कार्यमा संलग्न भएकाले पार्टीबाट बाहिरिनुपर्ने उनको भनाइ थियो ।
उनले एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भइरहेको दाबी गर्दै कार्यकर्तालाई एकताबद्ध भई ‘मिशन ८४’ सफल बनाउन आह्वान गरे । “एमाले विरुद्ध भइरहेको चुनौतीको सशक्त प्रतिवाद गर्दै एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने हाम्रो अभियान हो,” पोखरेलले भने ।
उनले कांग्रेस–एमाले नजिकिएपछि माओवादी अध्यक्ष प्रचण्ड छटपटिएको टिप्पणी गर्दै रास्वपाले निराशा र पपुलिज्मलाई आधार बनाएर राजनीति गरिरहेको बताए । “अराजकता र पपुलिज्म दीर्घकालीन हुँदैन,” पोखरेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस