बाजुरा: बाजुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ । वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर ओल्केको दिन पहाडी समुदायले सद्भाव बाँड्ने चलन रहेको छ ।
ओल्के भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु हो भन्ने बुझिन्छ । यो पर्वको दिन विभिन्न देवस्थलहरुमा देवताको आह्वानस्वरुप चैत–धमारीको शुभारम्भ हुने गर्दछ । ओल्केको दिन बूढी (पुतनाको प्रतिक) बाँड्ने चलन पनि रहेको छ । विभिन्न वनस्पति, हरियो साग आफन्त, मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने गरिन्छ । विशेष गरेर मान्यजनलाई पिडालुका पात, काँक्रा, भण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ ।
ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा आसुरी (राक्षसी) प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएको छ ।
यो पर्वको दिन गाउँ नजिकै चौबाटोमा गइ सल्लाको लिङ्गो समेत गाँड्ने गरिन्छ । जसलाई बूढी हाल्ने भनिन्छ । ओल्केको दिन गाडिएको लिङ्गो कतै भाद्र मसान्त र कतै असोज १ गते जलाउने चलन छ । भदौ मसान्तमा जलाउने लिङ्गोलाई ‘बूढी पोल्ने’ भन्ने गरिन्छ । विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के त्यार मनाउँदै आएको पाइन्छ ।
पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको बुढापाकाहरु बताउछन । ओल्के पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस