आइतबार, २५ साउन २०८२

बडीमालिका र बुढीनन्दामा एकै साथ पूजा, हजारौंको भीड

 

बाजुरा :धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेका बडीमालिका र बुढीनन्दा लगायतका शक्तिपीठमा आज एकै साथ विशेष पूजा सम्पन्न भएको छ। जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीमा यी स्थानमा हरेक वर्ष मेला तथा पूजाको परम्परा रहिआएको छ। बडीमालिका, बुढीनन्दा, सुनन्दा, बडालेख, दुनलेख लगायतका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरूको ठूलो भीड लागेको थियो। बडीमालिकाका पुजारी भानुभक्त पाध्यायका अनुसार, शक्तिरूपमा आस्था राखिएकी बडीमालिकाको दर्शन गर्नाले निसन्तानलाई सन्तान प्राप्ति हुने, मनोकामना पूरा हुने विश्वासका कारण यहाँ अधिक भीड लाग्ने गर्छ। बडीमालिका र बुढीनन्दा दिदी–बहिनीका रूपमा रहेका कारण दुवै स्थानमा एकै दिन पूजा गरिन्छ। बडीमालिकाबाट २२ पाटन, खेतीबेती, त्रिवेणी धाम लगायतका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ भने बुढीनन्दामा राक्षस ताल, झरना र हरियाली फाँट पर्यटकको आकर्षण बनेका छन्। चार जिल्लाको सरकारी पूजा आस्थाको धरोहरका रूपमा रहेका बडीमालिकामा आज बिहानदेखि नै डोटी, जुम्ला, कालिकोट र बाजुराका सरकारी टोलीले संयुक्त रूपमा पूजा गरेका छन्। हरेक वर्ष यी जिल्लाबाट विशेष सरकारी टोली बडीमालिकामा पूजा अर्चनाका लागि आउने परम्परा छ। नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर समुद्री सतहबाट ३,४०० मिटर उचाइमा अवस्थित बडीमालिकामा अक्सिजनको कमीका कारण लेक लाग्ने, ज्वरो आउने लगायतका स्वास्थ्य समस्या देखिने भएकाले नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले त्रिवेणी धाम, बडीमालिका परिसर र बीच बाटो गरी तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सेनाका अनुसार, बिहीबारसम्म ६ सयभन्दा बढी भक्तजनको उपचार गरिएको छ भने तीन जनालाई लेक लागेर सिकिस्त भएपछि उद्धार गरिएको छ। आजको पूजा सम्पन्न भएपछि तीर्थयात्रीहरू त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी मेला दर्शन गरी घर फर्कने परम्परा छ। बुढीनन्दामा पुगेका दर्शनार्थीहरू पनि आजै फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस