बाजुरा : अनमी रेखा कटेललाई साप्पाटा स्वास्थ्य चौकीमा काम गर्न थालेको नौ वर्ष बित्यो । यो अवधीमा उनले पाँच जना आमालाई बाटोमै सुत्केरी गराएका छन् । उनी २०७५ साल देखि स्वास्थ्य चौकीमा करार सेवामा कार्यरत छन् । करिब तीन सय बढीले स्वास्थ्य चौकीमा आएर सुत्केरी सेवा लिएको देखिन्छ, ती मध्ये पाँच जनालाई बाटोमै गराएको उनको भनाई छ ।
कटेल साप्पाटाकी स्थानीय हुन् । बाजुराको स्वामिकात्र्तिक खापर गाउँपालिका १ बर्कु उनको घर हो । स्वास्थ्य चौकी पुग्न धेरै गाउँ टाढा छन् । कुनै टोलबाट दुई घण्टा बढीको पैदल यात्रा गर्नु पर्छ । गाउँमा पुगेको सडक हिँउदका केही महिना मात्रै चल्छ । सडक चलिरहेको बेलापनि सबैले सहज जीप र सवारी साधन पाउन सक्दैनन् । पैदल यात्रा बाहेक अर्को विकल्प स्थानीयका लागि छैन् ।
अब त बानी नै परिसक्यो, जस्ले पनि बोलाउने मलाई नै हो, जानै पर्छ, खबर आउने बित्तिकै गाउँमै पुग्ने गरेको शुक्रबार मात्रै बाटोमै एक शिशुलाई र आमालाई उद्दार गरेकी कटेलले बताइन् । बोकेर ल्याउदै गर्दा बाटोमै सुत्केरी भएपनि पाँचै जना आमा र शिशुलाई सकुशल उद्दार गरेको अनुभव उनीसँग छ ।
रेखाले शुक्रबार १८ वर्षीया सुचना दमाईलाई बाटोमै सुत्केरी गराएकी हुन् । वाल विवाह गरेकी सूचनाको त्यो पहिलो बच्चा हो । आठ पटक चेकजाँच गरिसकेकी थिइन् । स्वास्थ्य कर्मीले साउन १९ गतेको मिति दिएका थिए । उनी त्यही अनुसार पारिवारीक तयारीमा थिइन् । उनको गाउँबाट स्वास्थ्य चौकी पुग्न करिब डेढ घण्टा बढी लाग्छ ।
तयारीमा बसेकी सुचनालाई शुक्रबार विहान एकाएक पेट दुख जस्तो हुन थाल्यो । उनले आफ्नी सासु र नजिकका आफन्तलाई जानकारी दिइन् । हतारमा छिमेकी सहीत सासुले बुहारी सुचनालाई लिएर स्वास्थ्य चौकी तर्फ हिँडे । त्यो बेला विहानको १० बजेसकेको थियो । उनीहरु करिब २० देखि २५ मिनेट मात्रै के हिँडेका थिए ।
बाटो लागेलगत्तै उनीहरुले स्वास्थ्य संस्थामा फोन गरे । रेखाले उठाइन र खबर पाए लगत्तै एक जना सहयोगी स्टाफ सिएमए तालकुमारी विकलाई लिएर गइन् । उनी पुग्दा, सूचनालले बाटोमै छोरा जन्माइसकेकी थिइन् । साथमा रहेका सासु सहीतले नाल समेत व्यवस्थापन गरिसकेका थिए । तर नाल बाँध्न नजानेरै अत्याधिक रक्तश्राप भइरहेको थियो ।
अनमी रेखा भन्छन्, ‘हतार–हतारमा प्रसव वेदनाले छट्पटाइरहेकी महिला भेट्न गयौं, साल अड्किएर रगत बगिरहेको थियो, प्रसव पीडाले छट्पटाइरहेकी थिइन् ।’ उनले थपिन्, ‘हामी समयमै नपुगेको भए आमाको ज्यान जोखिममा पर्ने थियो । धन्न आमा र बच्चालाई बचाउन सफल भयौं ।’
रेखाले पुगे लगत्तै गर्नु पर्ने र सावधानी पूर्वक सबै गरिन् । नालको व्यवस्थापन र बच्चाको सरसफाइ पनि गरिन् । केही छिनपछि रगत बग्न रोकियो । र आमा र बच्चामा कुनै जोखिम नहुने देखेर सुत्केरीलाई बाटोबाटै घरमा पठाइयो । अहिले शिशु र आमाको अवस्था राम्रो रहेको र स्थानीय स्वास्थ्य कर्मीले हेरविचार गरिरहेको रेखाले बताइन् ।
सुत्केरी भएको २४ घण्टा स्वास्थ्य संस्थामै राख्नु पर्ने प्रावधान हो । तर सुत्केरी भएको लेम्नाबाट स्वास्थ्य चौकी पुर्याउन बोकेर धेरै समय लाग्ने र हलचल भएर थप जोखिम हुन सक्ने भएर घर पठाएको रेखाले बताइन् । यो आर्थिक वर्षको साउन महिना साप्पाटा स्वास्थ्य चौकीमा तीन जनाले बच्चा पाएका छन् ।
गएको आर्थिक वर्षमा ३४ जनाले संस्थागत सुत्केरी गराएका छन् । ती मध्ये एक जनाको बाटोमै बच्चा भएको थियो । त्यो बच्चा आमाको उद्दार र संरक्षण पनि रेखा कटेलले नै गरेकी हुन् । गाउँमा सडक बाटोकै समस्या छ । परिवारीक तयारीको पनि अभाव देखिन्छ । ब्यथा लागेको अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था सम्झीने गलत चेतनाले पनि त्यो ससस्या दोहोरिरहने गरेको अनमी रेखाको बुझाइ छ ।
गएको साता मात्रै बुढीगंगा नगरपालिका ७ की पार्वती ल्वारको सिअनमी मंगला कुमारी बोहराले उद्दार गरेकी थिइन् । माइती घरमा बस्दै आएकी पार्वती घरमा एक्लै थिइन् । सासुससुराबाटल अलग र श्रीमान विदेश थिए । मंगलाकुमारी बोहराको टिमले उनको उद्दार गरि बाटोमै सुत्केरी गराएर आमा र शिशु अहिले स्वस्थ छन् ।
गाउँका बाटोहरु स्टेचर समेत बोक्न समस्या हुने हुँदा हिँडाएर ल्याउनु पर्ने बाध्यता छ । दर्जन बढीको वर्षेनी बाजुराबाटै हवाई उद्दार मार्फत सुत्केरीको ज्यान बचाउने गरिएको छ । सहज स्वास्थ्य संस्थाको पहुँच अझै पुर्याउन सकिएको छैन् । बाजुराका सबै जसो स्थानीय तहमा आमाले बाटोमै बच्चा जन्माउनु पर्ने दुखत समस्या छ ।
गाउँमा बस्तीहरु टाढा हुने, एकटोल वा गाउँबाट अर्को गाउँ पुग्न पनि समस्या हुने र सबै गाउँ टोलमा प्रसुती सेवा उपलब्ध गराउन नसकिदा पनि समस्या देखिएको छ । भने अर्को गरिबी र विपन्नताले गर्भवती अवस्थामै धेरै काम गर्नु पर्ने र सोही कारण कमजोर हुने, बच्चा उल्टो हुने कारण बढी जोखिम भोग्न यहाँका आमाहरु बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस