धनगढी : यतिबेला धर्तीको भू स्वर्ग बडीमालिका धार्मिक यात्राको मौसम चलिरहेको छ । औपचारिक मेला साउन २३ गते लाग्ने भएपनि दर्शनका लागि जाने र घुमफिरसहीतको रमाइलो गर्ने उद्देश्य बोकेर दैनिक जसो भक्तजनहरू बडीमालिका यात्रामा जाने गरेका छन् ।
हरेक वर्षको जनै पूर्णिमाको अघिल्लो दिन बडीमालिकामा पूजापाठ हुने र मेला लाग्ने गर्दछ । बडीमालिका माताको दर्शन गर्नाले मनोकांक्षा पुरा हुने, चाहेको वरदान पाइने र जीवन भरिपूर्ण हुने धार्मिक मान्यता रही आएको छ ।
बडीमालिका यात्रामा बर्षेनी पर्यटक र धार्मिक तीर्थ यात्रुहरूको चाप बढ्दै गएपछि भिडभाड र यात्रा अस्तव्यस्त हुने गरेको छ । ४ हजार २ सय मिटरमाथिको उचाइमा पुग्ने पर्ने यात्रा भएकोले धेरैलाई लेक लाग्ने, हिँड्न गाह्रो हुने, बिरामी हुने र बसाइमासमेत समस्या हुने गरेको छ ।
यात्राकै क्रममा पनि धेरैलाई हिँड्न अफ्ठ्यारै भएर बीचबाटोबाटै फर्किनु पर्ने बाध्यता भइरहन्छ । यी समस्यालाई संशोधन गर्न यो वर्ष राष्ट्रिय युवा संघ नेपाल बाजुराले स्वयम् सेवक परिचालन गर्ने भएको छ । युवा संघको तर्फबाट सहजताका लागि ३० जना बढी स्वयम् सेवक परिचालन गरिने जिल्ला संयोजक विष्णु कार्कीले जानकारी दिएका छन् ।
संयोजक कार्कीका अनुसार युवा संघका केन्द्रीय उपाध्यक्ष विनय शाह नेतृत्वमा टिम बडीमालिका जान लागेको बताएका छन् । टिममा युवा संघका केन्द्र, प्रदेश र जिल्लाका नेताहरू पनि सहभागी हुनेछन् । ती बाहेक थप ३० जना स्वयम सेवक खटाइने कार्कीको दाबी छ ।
टिममा स्वास्थ्य कर्मीसहितको व्यवस्था गरिएको छ । सामान्य चेकजाँच र औषधी उपचारका लागि पनि टोलीमा स्वास्थ्य कर्मी परिचालन गर्ने र युवा दस्तालाई विशेष उद्धार तथा सहयोगका लागि खटाउने तयारी युवा संघले गरेको छ । प्रहरी प्रशासनले पनि कम्तीमा प्रहरीको सुरक्षा टोली खटाइ सकेको छ । भने नेपाली सेना र शसस्त्र प्रहरीको टोली पनि परिचालन हुनेछ ।
विगतमा नेपाल स्काउट र रेडक्रमको टोली पनि परिचालन हुने र जिल्ला अस्पतालबाट स्वास्थ्य कर्मी समेत जाने प्रबन्ध हुँदै आएको छ ।
तर पनि बाक्लो भिडभाड र अस्तव्यस्तता सहितको बसाइ र यात्राले धेरैले दुख पाउने गरेका छन् । मनोकाङ्क्षा पुरा गर्न जानेहरूलाई नै थप कष्ट र दुख सहनु नपरोस् भन्ने पवित्र उद्देश्य बोकेर स्वयम सेवक खटाउन लागिएको युवा संघले बताएको छ ।
संघको तर्फबाट बाजुरा र कालिकोटको टिम परिचालन हुने बताइएको छ । टोली बाजुराको मार्तडीबाट सुरु हुने बडीमालिका धार्मिक यात्रा २०८२ को साउन २१ गते बिहानबाट खटाइने बताइएको छ ।
औषधी उपचार, पानी, भारी बोक्ने, उद्धार गर्न, पाल व्यवस्थापन गरिदिने जस्ता काममा स्वयम सेवकले गर्नेछन् । भने अन्तिम दिन २३ गते बडीमालिका मन्दिर क्षेत्रको सरसफाइ सहित स्वयम सेवकबाटै गराइने जिल्ला संयोजक विष्णु कार्कीले बताएका छन् ।
बडीमालिका धार्मिक यात्राका लागि डोटी र जुम्लाबाट सरकारी टोली आइसकेको छ । भने पुजारी नेत्रप्रसाद पाध्याय नेतृत्वको टोली पनि यतिबेला सप्ताहको कामसहित बडीमालिका क्षेत्रमै सक्रिय छ । जिल्ला प्रशासन कार्यालय बाजुराले औपचारिक छलफल सहित मेला व्यवस्थापन बारे पनि छलफल गरेको छ ।
बडीमालिका र बुढीनन्दासहितका धार्मिक गन्तव्यको मेला व्यवस्थापन बारे सबै दलका नेता, जनप्रतिनिधी, प्रहरी प्रशासन सहितको टोलीसँग छलफल गरिएको र आवश्यक सुरक्षा कर्मी, स्वास्थ्य कर्मी, नेपाल स्काउटको टोली पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायले जानकारी दिएका छन् ।
बडीमालिका धार्मिक यात्राको महिला विगतको भन्दा हरेक वर्ष बढ्दै गएको छ । नेपाली सेनाले निर्माण गरेको पुरातात्विक महिमाको मन्दिरका कारण पनि यो वर्ष तीर्थालुहरु बढ्न सक्ने अनुमान गरिएको छ । त्रिवेणी पाटनको सुन्दरता र धार्मिक आस्थाको धरोहरका रुपमा अधिकांश बडीमालिका धार्मिक यात्रा गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस