बाजुरा : बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायले जिल्लाको विकास र सुशासनमा सबैको सहकार्य र योगदान आवश्यक रहेको बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरुसँग आफ्नै कार्यकक्षमा बोलाएर अधिकारी पाध्यायले सबै पक्षलाई सकरात्मक उर्जा दिन र सहकार्यको वातावरण बनाउन पत्रकारको भूमिका बढी रहनु पर्नेमा जोड दिएका छन् ।
बाढी पहिरोको जोखिम बढिरहेको बेला विपद पूर्व तयारी र सचेतना दिन पत्रकारको भूमिका मुलधारमा देखिनु पर्ने सुझाव दिएका पाध्यायले विकास, सुशासन, सुरक्षा र प्रकोपमा घटनामा प्रहरी प्रशासनसँगै सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् । चारवटै सुरक्षा निकायका प्रमुखलाई साथमा राखेर अधिकारी पाध्यायले पत्रकारसँग छलफल गरेका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अनुसन्धान प्रमुख सहीत सडक डिभिजन कार्यालय साँफे बगरका प्रमुख नेत्र प्रसाद देवकोटा सहीतको उपस्थितिमा छलफल गरेका हुन् । उहाँले बाजुरालाई सुन र चाँदीको थालीका रुपमा ब्याख्या गर्दै जबरजस्त फलाम बनाउन खोजिएकोमा दुख व्यक्त गरेका छन् ।
बडीमालिका र बुढीनन्दा सहीतका धार्मी तथा पर्यटकीय क्षेत्रको विकास गर्न सकेमात्रै बाजुरा आम्दानी र आकर्षणको स्वर्ग नै हुने दाबी गरेका अधिकारी पाध्यायले राजनीतिक नेतृत्व र पत्रकार सहीत आम नागरिक जिम्मेवार र जवाफदेही हुनु पर्ने बताएका छन् ।
राष्ट्रिय परिचय पत्र बनाउने भीड बढी रहेकोले कोल्टीमा डिजिटल मेसिन लिएर भएपनि सेवा प्रवाहको वातावरण बनाउन पहल भइरहेको र सकेसम्म अर्थमन्त्रालयबाट सहमति आउने वित्तिकै कोल्टीमा इलाका प्रशासन कार्यालय सञ्चालन हुने जानकारी गराएका छन् ।
दानसाँघुमा बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढीसकेको र अन्य पुल निर्माणका ठेकेदारहरुलाई समेत समयमै काम गर्न निर्देशन भएकोले आगामी वर्षबाट त्यो सास्ती कम हुने गरि लागि परेको बताएका छन् । एकवर्षको अवधीमा उमेर पुगेर पनि नागरिकता नपाएका ६० बढीलाई नागरिकता दिएको र बाढी, पहिरो र भूइचालो पीडितले समेत घर निर्माणको दोस्रो किस्ता पाइसकेको जानकारी गराएका छन् ।
पत्रकारिताको माध्यमबाट बाजुराको समृद्धि र विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले विकास निर्माणलाई गति दिन, सुशासन कायम गर्न, शान्ति सुरक्षा कायम गर्न र प्रकोपजन्य घटनालाई सुव्यवस्थीत गर्नमा पनि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन् ।
पर्यटन विकासमा पनि योगदान रहेकोले बडीमालिका धार्मीक यात्रालाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । बडीमालिकालाई स्वर्गसँग तुलना गर्दै अधिकारी पाध्यायले पर्यटकका लागि आवश्यक सुविधा र संरचना विकासमा यहाँको पालिका र सरकारले जोड दिनु पर्ने बताएका छन् । आफू सहीतको टोली भर्खरै बडीमालिका पुगेर आएको समेत जानकारी गराएका थिए ।
पत्रकार महासंघ सहीत क्रियाशिल २० बढी पत्रकार सहभागि छलफलमा सेनानी कृष्ण प्रसाद तिमिल्सिनाले विपदजन्य घटनामा उद्दार र हेलिकप्टर सुविधा उपलब्ध गराउनु पर्ने अवस्था आए प्रत्यक्ष नेपाली सेनाको जिल्ला स्थित कार्यालयलाई खबर गर्न सके छिटो उपलब्ध गराउन सकिने जानकारी गराएका छन् ।
छलफलमा सडक सब डिभिजन कार्यालय साँफेका प्रमुख नेत्रप्रसाद देवकोटाले सडकको सुधार र स्तरोन्नतीका लागि कार्यालयका तर्फबाट थप काम अघि बढाइएको जानकारी गराएका छन् । बाजुरामा बजेट कम आउने र त्यसैमा पनि खर्च नभएर फिर्ता जाने भएकोले त्यसमा जोड दिनु पर्ने सुझाव देवकोटाको छ ।
छलफलमा पत्रकारले जिल्ला अस्पतालको मनोमानी, व्यक्तिको खातामा पैसा जम्मा गर्ने अवैध कार्य तत्काल रोकिनु पर्ने र व्लड बैक सञ्चालनको नाटक गर्ने रेडक्रसको काममा छानवीन हुनु पर्ने र बडीमालिकाको नाममा आउने भिटी र दान व्यक्तिको नभइ संस्थागत रुपमा सरकारको स्वामित्वको हुनु पर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस