बिहिबार, १५ साउन २०८२

साउन १६ मा एमाले बाजुराको बैठक बस्ने, पार्टी केन्द्रले पठाएको अपानी बारे छलफल हुने

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बाजुरा जिल्ला कमिटीको बैठक साउन १६ गते मार्तडीमा बस्ने भएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक पछि जारी अन्तरपार्टी निर्देशन बारे छलफल हुने गरि बैठक बस्न लागेको हो । 

पार्टीको लेखा परिक्षण प्रतिवेदन पारित गर्न र सदस्यता नविकरण बारे छलफल गर्न बैठक बस्न लागेको पार्टी सचिव काशी विकले जानकारी दिएका छन् । बैठकमा जिल्ला क्रियाशिल पार्टी जनसंगठनको काम कारवाही बारे पनि छलफल हुने बताइएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठक पछि सबै जिल्लामा पठाएको अन्तर पार्टी निर्देशन पढेर सुनाउने र छलफल गरिने बताइएको छ । पार्टी केन्द्रले ३० पृष्ठ लामो अपमानी जारी गरेको छ । भदौ २२ र २३ गते हुने दोस्रो केन्द्रीय विधान महाधिवेशनमा प्रस्ताव गरिने विषय बारे पनि छलफल गरिने पार्टी सचिव काशी विकले जानकारी दिएका छन् । 

जिल्लाको विकास निर्माण, स्थानीय तहले विकास निर्माणमा खेलेको भूमिका बारे छलफल गर्ने र जिल्लामा बाढी पहिरोको जोखिम बढीरहेको बेला नेकपा एमालेको जिम्मेवारी र भूमिका बारे पनि योजना तयार गर्ने गरि बैठकको एजेण्डा राखिएको एमालेले बताएको छ ।

१६ गतेको बैठकका लागि पार्टी केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा र जिल्ला अध्यक्ष लालबहादुर ओली सहीतको टोली बाजुरा हिँडिसकेको छ । बाजुराबाट स्थायी कमिटी सदस्यमा कर्णबहादुर थापा सहीत केन्द्रीय कमिटीमा लालबहादुर थापा, प्रकाश बहादुर शाह, दयालबहादुर शाही र सहदेव बोगटी छन् । भने विभागीय सदस्यको रुपमा बसुन्धरा रोकाया पनि छ । 

बैठकमा प्रदेश कमिटीबाट पनि प्रतिनिधीत्व रहने बुझिएको छ । नेकपा एमालेमा राष्ट्रपति विद्या भण्डारीलाई गणतन्त्रको संरक्षककै रुपमा सम्मान दिने र पार्टीको कार्यकर्ता बनाएर गरिमा घटाउने काम नगर्ने निष्कर्ष सहीत पार्टी सदस्यता समेत नरहने निर्णय गरेपछि जिल्ला तहसम्म पनि केही जिज्ञासा सहीतको विषयले प्रवेश पाएको छ ।

बाजुरामा यसको चर्चा सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा अलि बेशी नै हुने देखिन्छ । विद्या भण्डारीलाई नेतृत्वमा ल्याउने पर्ने एजेण्डाको अगुवा नै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गरिरहेका छन् । थापाको गृह जिल्ला नै बाजुरा हो । तर पार्टीले भण्डारी बारे कुनै बहस र छलफल जिल्ला तहमा आवश्यक नरहेको बताइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस