बिहिबार, १५ साउन २०८२

मेरो 'स्वर्ग' ओलीगाउँ

स्वर्ग कहाँ छ, भनेर धेरैले प्रश्न गर्छन् ! 

कसैले धार्मीक किताब पल्टाउँछन्, कसैले दर्शन खोज्छन, कसैले त कल्पना गर्छन्, र त्यसैमा हराउँछन् ।

तर मेरो लागि स्वर्गको परिभाषा सरल छ, जहाँ आनन्द छ । जहाँ आत्मीय छ ।

जसलाई सम्झिदा मात्रै आधा थगान मेटिन्छ । खुसीको रहर भेटिन्छ ।

हो, त्यही हो, स्वर्ग मेरा लागि, त्यही स्वर्गको नाम हो, ओलीगाउँ । मेरो जन्मभूमि । सानो अनि सुन्दर उपत्यका ।

ठुला पहाडको बीचमा पनि त्यति सुन्दर गाउँ छ । समथर भूगोल छ ।

अनि हरियाली र हराभराले भरिएको छ ।

नपुगेकाहरुका लागि अचम्म लाग्न सक्छ । लाग्छ पनि । तर वर्णन गरिएभन्दा पनि सुन्दर र शान्त छ, म जन्मेको जन्मभूमि ।

आफ्नो जन्मभूमि सबैका लागि प्यारो लाग्छ । आत्मिय लाग्छ । अनि स्वर्ग लाग्छ । तर ओलीगाउँ त्यो भन्दा माथि अलौकिक र आनन्दको प्रकृतिमय सुन्दरताले भरिएको छ ।

माता भगवतीको बास स्थान बडालेकको फेदि हो, मेरो जन्मभूमि ।

जहाँ प्रेम ताल अर्थात छेडेदह र बडालेक सिरान बनेर बसेका छन् । विश्व विख्यात बडीमालिका साँझ विहान नजरमा पर्छिन् । सूर्य उदाउँदा होस् कि, साँझ घर पस्दा बडीमालिकाको दृश्य नहेरि आँखा निभ्दैनन् ।

कुडीकोटको आँगन हो, मेरो गाउँ । बगर खोलाको कलकल संगीतमा नाच्न पाइन्छ ।

डाँडासैनको सल्लाघारीको हावाले बिझाइ रहेको हुन्छ ।

सुन्दर नगरी आटीचौर नै हो, मेरो जन्मभूमि ।

जो स्वर्ग जस्तै सुन्दर र शान्त लाग्छ ।

म जन्मेको मात्रै होइन्, मलाई जन्माउने मेरा भगवान आमा–बुबाको धर्ती हो, ओलीगाउँ ।

जहाँ रोएर धर्ती टेकेको म, जन्मपछि हाँसेपनि, लडेँ पनि । उठेपनि । रमाएँ पनि ।

आज म मलेसियामा छु हजारौं माइल टाढा ।

सन्सार को जुनसुकै ठाउँ पुगेपनि जतिसुकै भौतिक सुखसुबिधा प्राप्त गरेपनि आफ्नो देश अनि आफु जन्मेको जन्मभुमि को सम्झना बिना त्यो खुसिहरु निकै खल्लो हुनेरहेछ।

स्वर्गको एउटा टुक्रा जस्तो लाग्छ। किनकी, त्यो मेरो प्यारो जन्मभूमि हो। म छोरा मान्छे हो बाध्यता र परिस्थिति ले प्रदेशिए पनि आफ्नो जन्मभुमि आफू खेलेको ,हुर्केको ठाउँ जहाँ गएपनि बिर्सन सकिदैन् ।

जन्मेको ठाउँले मानिस लाई विभिन्न संस्कार, मुल्य, मान्यता, व्यवहारिक ज्ञान, जीवनशैली, जीवन संघर्षको पाठ ,आचरण नैतिक ज्ञान ,सामाजिक-सांस्कृतिक ज्ञान, विभिन्न आधारभुत ज्ञान ,जीवन जिउने तरिका, विभिन्न सिप, कला, आत्मज्ञान ,जीवन र जगत बारे साक्षात्कार गर्ने अवसर समेत प्रदान गरेको हुन्छ।

हामिले जीवन निर्वाह गरिरहदा होस् वा अन्यत्र बसाई सरेर कामको दौडानमा टाढा बसिएको होस् तर पनि आफ्नो मन र आफ्नो भुमिलाई सधै सम्झिने र त्यो ठाउँको विकासमा केही न केही आफ्नो तर्फबाट सक्दो सहयोग कुनै न कुनै रुप बाट गर्नु आवश्यक हुन्छ। यहाँका अग्ला भवनहरूले छायाँ त दिन्छन्, तर जन्मभूमिको जस्तो आत्मियता दिन सक्दैनन्,

जुन ओलिगाउँका हरिया बारी, पाटी र गोठले दिन्थे।बाल्यकालका ती सुन्दर दिनहरूले दिन्थे बिहान उठ्नेबित्तिकै खोलामा हात–मुख धुन जाने, खोला नाला दौडिने, दिउँसो बस्तुहरु चराउन जङ्गल जादा भीरमा चिप्लिएर हाँस्दै फर्किने,यी सम्झनाहरू आज प्रदेशी जीवनको व्यस्तता भित्र श्वास बनिरहेका छन् ।

आजभोली प्रदेशी भुमिमा यो प्रदेशको व्यस्तता, धुलो, र भीडमा घेरिएको जीवन जिउँदैछु ।

तर मेरो मुटु भने हरेक साँझ आकाश हेर्दा उही गाउँ घर फर्किन्छ ।

हरेक हरियाली फोटोले मलाई सम्झाउँछ त्यो सानो बारी, त्यो छानो, त्यो पाटी, जहाँ सानो हुँदा आमा बुबाको साथमा जीवनको मिठास बटुलेको थिएँ । हुन त गाउँको बाटो अझै कच्ची होला, तर त्यहाँको मायाले मुटु गाढा पक्की बनाउँछ ।

गाउँको घर टिन वा छानोको होला, तर त्यहाँको यादले जीवनको आकाश उज्यालो बनाउँछ ।

गाउँमा इन्टरनेट नहुन सक्छ, तर त्यहाँको प्रेमको सिग्नल संसारकै बलियो छ ।

👉 जन्मभूमि बिर्सने हो भने जीवन नै अधुरो हुन्छ।

👉 विदेशमा बसेर पनि हरेक साससँग गाउँको गन्ध मिसिएको छ। प्रीय ओलीगाउँ... त केवल मेरो जन्मस्थान होइनस्, त मेरो आत्माको स्थायी ठेगाना होस् ।

तँ जहाँ छस् — त्यहीँ छ मेरो जरा, मेरो संस्कृति, मेरो आत्मा । देशमा फर्किने दिन म हरेक साँझ गनिरहेछु । म फर्किनेछु । हातमा माटो चुम्न, मनमा सम्झना बुन्न, र आत्मामा फेरि जीवन उमार्न ।

त्यही खेतमा हलो जोत्न, त्यो गोठमा सुत्न, त्यो आँगनमा चिसो धर्ती टेक्न र फेरि आमा–बुबाको हात समाउन ।

प्रीय ओलीगाउँ, म तिमीलाई माया गर्छु । तिमी नै हौ मेरो आत्माको स्थायी ठेगाना ।

एकदिन म चाडै फर्किनेछु गन्ध सुँघ्न, धूलो सुँघ्न, र माया अँगाल्न ।

समय ले दुरि ले टाढा बनाए पनि सुन्दर प्रकृति र त्यो प्राण भन्दा प्यारो जन्मभुमि संग रमाएका पल हरु कदापि बिर्सिने छैन् 🙏

✍️ जय ओली (बजुरेल कान्छो ) हाल  : मलेसिया 

प्रतिक्रिया दिनुहोस