बाजुरा : मृत्यु हुनेको संख्या तीन पुग्यो, गम्भीर घाइते ७ जनाको हेलिकप्टर मार्फत उद्दार, ६ जनाको कोल्टीमा उपचार हुदै बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । घाइते १६ जना मध्ये तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
घाइते १३ जना मध्येपनि गम्भीर घाइते सात जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्दार गरिएको छ । गम्भीर घाइते भएका सात जनालाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो । नेपाली सेनाको हलिकप्टरले दुई सिफ्ट गरेर घाइतेको उद्दार गरेको हो । बाँकी छ जनाको कोल्टी आधारभुत अस्पतालमा उपचार भइरहेको छ ।
जीपमा सवार २६ जना मध्ये तीनको मृत्यु, १६ घाईते भएका हुन् । दुर्घटमा परि मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकाया र अन्दाजी ३५ बर्षकी जुनेली रोकाया छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते चालक गौरी बुढा, बाजधन रोकाया, राम बहादुर बुढथापा, सुरेन्द्र शाही, दशरथ बुढा, अष्कली बुढा र रनसुर सुनारलाई हेलिकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित कर्णाली प्रादेशीक अस्पतालमा उपचार भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जानकारी दिएका छन् । मध्यम अवस्थामा रहेका भदैरी रोकाया, छते रोकाया, अम्म रोकाया, भैजित बुढा, दलबहादुर चदरा र साजन रोकायाको एम्बुलेन्स मार्फत कोल्टी आधारभुत अस्पताल ल्याएर उपचार भइरहेको छ ।
बिहीवार बिहान हिमाली गाउँपालिका ५ किउडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रु बोकेर धुलाचौर आउँदै गर्दा बा प्र.०३००१ ज ०३३८ नम्बरको जीप दुर्घटना भएको हो ।
कच्ची सडकमा अवस्था बिग्रीसकेका पुराना जीपहरुमा चालकहरुले पैसा कमाउनकै लागि क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् । साघुँरो सडकमा अनियन्त्रित भएर जीप दुर्घटनामा परेको हो । जीप हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ बर्षका गौरी बुढाले चलाइरहेका थिए ।
उनीहरु सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा कार्यालय आउन लागेका थिए । सोही समयमा उनीहरु जीप दुर्घटनामा परेका हुन् । कच्ची सडक र क्षमता भन्दा बढी यात्रु बोक्ने गरेकै कारण ग्रामिण सडकमा जीप यात्रा जोखिम बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस