शुक्रबार, १६ साउन २०८२

पुष्पलालको ४७ औँ स्मृति दिवसमा बाजुरामा वृक्षारोपण

बाजुरा : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस बाजुरामा वृक्षारोपण गर्दै मनाइएको छ। बुधबार प्रेस चौतारी नेपाल बाजुराको आयोजनामा नेकपा एमाले जिल्ला कमिटीले पार्टी कार्यालय परिसरमा वृक्षारोपण गरी स्मृति दिवस मनाएको हो। वृक्षारोपणपछि आयोजित औपचारिक कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पण गर्दै सहभागीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा नेकपा एमाले बाजुरा जिल्ला सचिव काशी विकले पुष्पलालको योगदानले नेपालमा मात्र नभई विश्व कम्युनिस्ट आन्दोलनमै प्रभाव पारेको बताए। उनले पुष्पलालका विचारहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको उल्लेख गरे। वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।

उनका दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि उनीमा राणाविरोधी चेतना जागृत भएको मानिन्छ। पुष्पलालको निधन वि.सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो। कार्यक्रम प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन जिल्ला सचिव सुशिल रोकायाले गरेका थिए। कार्यक्रममा एमाले जिल्ला कमिटीका सदस्य, भातृ संगठनका प्रतिनिधि तथा स्थानीय नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस