बाजुरा:नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक चिन्तक बिपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराले वृक्षारोपण कार्यक्रम गरी दिवंगत नेता कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको आयोजनामा सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालय परिसरमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको हो। कार्यक्रममा पार्टीका उपसभापति पदमबहादुर बडुवाल, भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।
उपसभापति बडुवालले विपी कोइरालाको आदर्श र सिद्धान्तअनुसार पार्टीलाई एकतावद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै, “विपीले देखाएको बाटो र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छन् भन्नू भयाे ।
बिपी कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको हो भने निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो। प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गरेका कोइराला वि.सं. २०१६ सालमा संसदीय निर्वाचनपछि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। उनको नेतृत्वमा ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम सुरु भएको थियो।
कोइरालाले नेपाली साहित्यमा पनि गहिरो छाप छोडेका छन्। ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ लगायत उनका उपन्यासहरू मनोवैज्ञानिक यथार्थवादी धाराका उत्कृष्ट उदाहरण मानिन्छन्। उनका आत्मकथात्मक कृति ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ लगायतका रचनाले नेपाली राजनीतिक इतिहासलाई उजागर गरेका छन्।
शाही पञ्चायती व्यवस्थाका विरोधी बिपी कोइरालाले भारतमा निर्वासित जीवन बिताउँदै राष्ट्रिय एकता र मेलमिलापको नीति ल्याई २०३३ सालमा स्वदेश फर्किएका थिए। त्यसबेलादेखि उनले मेलमिलापको राजनीतिक विचारलाई संस्थागत रूप दिन आग्रह गरेका थिए।
कार्यक्रमका सहभागीहरूले वृक्षारोपण मार्फत वातावरण संरक्षण तथा बिपीप्रति श्रद्धाञ्जली दुवै उद्देश्यमा योगदान पुर्याएको बताए।
प्रतिक्रिया दिनुहोस