शुक्रबार, १६ साउन २०८२

फाउन्डेसनको दोस्रो बैठक: ‘मदनका सपना’ साकार बनाउने प्रतिबद्धता

कैलाली  :लामो समयदेखि समाजमा वैचारिक चेतना, सामाजिक अभियान र रचनात्मक कार्यक्रममार्फत सक्रिय मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कमिटीले दोस्रो बैठक सम्पन्न गरेको छ। बैठकले फाउन्डेसनद्वारा हालसम्म गरिएको कार्यहरूको समिक्षा गर्दै आगामी योजनाहरूलाई अझ स्पष्ट र सुदृढ बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू लिएको छ।

बैठकमा विशेषतः जिल्लाका सबै पालिकामा संगठन विस्तार र अधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखिएको थियो। त्यसअनुसार, भदौ महिनाको मसान्तभित्र जिल्लाभरका १३ वटै पालिकामा पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाइएको छ। साथै, फाउन्डेसनको वार्षिक कार्ययोजना तयार गरी अर्को बैठकमा प्रस्तुत गर्ने र त्यसको कार्यान्वयनमा जान प्रतिबद्धता व्यक्त गरिएको छ।

असार १४ गते सम्पन्न ७४ औं मदन जयन्तीको अवसरमा कैलालीको सुखडमा आयोजना गरिएको साताव्यापी कार्यक्रमको समीक्षा बैठकको केन्द्रमा थियो। फाउन्डेसनले उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै आगामी वर्षहरूमा अझ स्तरीय कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

बैठकमा सामाजिक उत्तरदायित्वका साथ रचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लाभर रक्तदान, स्वास्थ्य शिविर, आँखा जाँच शिविर, युवा लक्षित वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ जस्ता कार्यक्रम सञ्चालन गरिने भनिएको छ। विशेषगरी ‘युवा संग मदन’ शीर्षकमा विविध क्रियाकलाप सञ्चालन गर्दै युवामा मदन भण्डारीको विचारधारालाई फैलाउने योजना बनाइएको छ।

खेलकुद क्षेत्रलाई समेत सामाजिक रूपान्तरणको माध्यमका रूपमा लिँदै फाउन्डेसनले कैलालीमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गठन गर्ने निर्णय गरेको छ। आगामी दिनमा पालिकास्तरमै पुगेर खेलकुदसँग जोडिएका कार्यक्रमहरू सञ्चालन गरिने र त्यसमार्फत युवालाई सकारात्मक मार्गमा डो-याउने लक्ष्य लिइएको छ।

बैठक मदन भण्डारी फाउन्डेसन कैलालीका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश कमिटी सदस्य तथा फाउन्डेसनका संस्थापक सदस्य युवा नेता कमरेड खडक बम थिए भने विशिष्ट अतिथिको रूपमा जिल्ला उपाध्यक्ष कमरेड लोकेन्द्र शाहीसहित जिल्ला कमिटीका अन्य नेताहरूको सक्रिय उपस्थिति रहेको थियो।

बैठकले ‘मदनका विचार, सशक्त संगठन र सक्रिय युवा’ भन्ने नारालाई व्यवहारमा उतार्ने संकल्पका साथ विभिन्न निर्णय गर्दै समापन गरेको छ।

प्रतिक्रिया दिनुहोस