बाजुरा :महिलामाथि बढ्दो हिंसा, हत्या, शोषण र सामाजिक अन्यायको घटनामा सरकार जिम्मेवार हुनु पर्ने माग सहीत अखिल नेपाल महिला संघ, सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । महिला माथि भइरहेका सामाजिक विभेद र अन्यायका घटना प्रति गम्भीर चिन्ता व्यक्त गर्दै अनेमसंघले मुख्य मन्त्री कमल बहादुर शाहलाई ७ बुँदे माग सहीत ज्ञापन पत्र बुझाएका हुन् ।
नेकपा एमाले निकट महिलाहरुको संगठन अनेमसंघले सुदूरपश्चिमका कैलाली कंचनपुर सहीतका जिल्लाहरुले प्रशासन कार्यालय मार्फत एकसाथ गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको प्रदेश अध्यक्ष झुमा देवी चौधरीले बताएकी छन् । सुदूरपश्चिममा अझै हिंसा, हत्या र यौन शोषण सँगै लैङ्गिक असमानता र छाउकुप्रथा जस्ता अन्यायपूर्ण व्यवाहार भइरहेकोले अन्त्यको माग अनेमसंघले गरेको हो ।
संघले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, दाइजो प्रथा, घरेलु हिंसा, तथा परम्परामा नाममा गरिने यौनजन्य शोषण र दुव्र्यवहार नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गरि तुरुन्त कार्यान्वयनको माग गरेको छ ।
गत असार २७ गते भारतबाट फर्केकी कमला लामा नामकी महिलाको मृत्युले जनमानसमा गहिरो स्तब्धता छाएको भन्दै अनेमसंघले रोजगारीको सिलसिलामा भारत गएकी कमला स्वदेश फर्केर घरमा बसेको केही समयमै राति छाउगोठमा सर्पको टोकाइले अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको घटनालाई रहस्यमय भन्दै अनेमसंघले छानबिनको माग गरेको छ ।
यस्तै, गत जेठ २२ गते कैलालीको गौरीगंगा–१ मा तुलसी नाथ लाई आफ्नै देवरले हत्या गरी शव गहुँबारीमा गाडेको घटनाले समेत गम्भीर सामाजिक प्रश्न खडा गरेको र यो प्रकारको अमानवीय व्यवाहारको सिकार महिला नै हुनु पर्ने अवस्थाको अनत्य गर्न माग अनेमसंघको छ ।
अनेमसंघले महिलामाथिका हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी कार्यान्वयन गर्नु पर्ने, छाउपडी, दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन गर्नु पर्ने, प्रत्येक पालिकामा सुरक्षित महिला आवास गृहको स्थापना गरिनु पर्ने माग राखेको छ ।
यसैगरी महिला उद्यमशिलता प्रवद्र्धनका लागि अनुदान तथा सहुलियत, हिंसापीडित महिलाहरूलाई तत्काल राहत र न्याय सुनिश्चित गर्ने संयन्त्रको स्थापना गरिनु पर्ने माग पनि अघि सारेको छ । अनेमसंघले घटनाहरू दोहोरिरहनुले महिलाहरूको सुरक्षाप्रति राज्यको उदासिनता स्पष्ट भएको भन्दै गम्भीर हुन आग्रह गरेको छ ।
प्रदेश अध्यक्ष झुमा देवी चौधरी द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा तत्काल सुधारात्मक र नीतिगत कदम चाल्न अनुरोध गरिएको छ । अनेमसंघले महिला अधिकारको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि निरन्तर दबाबमूलक कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । जवाफमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार आफ्नो तर्फबाट जिम्मेवारी पूर्वक लागि परेको र सबैको सहकार्य र साथ आवश्यक हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस