बाजुरा: बुढीगंगा ८ घर भएका पारस कुँवर हराएको २२ दिनपछि मृत भेटिएका छन् । बुढीगंगा नगरपालिका ८ मोटावाडा घर भएका ३२ वर्षका कुँवर २२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए । उनको शव बुढीगंगा नगरपालिका ९ को चुल्ठे लेकमा भेटिएको आफन्तले बताएका छन् ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलमा खटिएको छ । प्रहरीका तर्फबाट शव कस्को हो, भन्ने एकीन नभएको बताएपनि आफन्तहरुले मृतकले लगाएको जकेट देखेर पहिचान भइसकेको बताएका छन् ।
पारसको हराए लगत्तै मृत्यु भइसकेको हुनसक्ने शवको अवस्था हेरेर देखिएको छ । मासु कुहिएर हड्डी मात्रै रहेको अवस्थामा उनको शव भेटिएको छ । लेकमा गएर त्यतै हराएको र पछि चिसो, भोक र अरु समस्याले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मानसिक रुपमा समस्या रहेका कुँवर त्यो भन्दा अगाडि पनि २ पटक हराएका थिए । सात दिन, आठ दिनको अन्तरालमा त्यो बेला खोजि गरेर ल्याइएको भएपनि यो पटक २२ दिनसम्म खोजिगर्दा पनि आफन्तले फेला पारेका थिएनन् । कर्ण कुँवर छोरा पारसको नै शव भएको आफन्त एलिजा कुँवरले जानकारी दिएकी छन् ।
कर्ण कुँवर र माता कुँवरका २ छोरा र छोरी छन् । ती दुबै मानसिक रुपमा कमजोर छन् । अब भाइपनि त्यस्तै समस्यामा रहेको आफन्तको भनाई छ । आफन्तले छरछिमेक देखि सबैतिर खोजी गरे, तर कतै नभेटिएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले शव लिएर पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पताल ल्याउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस