बाजुरा :बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ कटीगाउँमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लड्दा ४१ वर्षीय वीरेन्द्र बोहराको मृत्यु भएको हो।
स्थानीय देवेंद्र धामीका अनुसार बोहरा आज बिहान घर नजिकैको बागेडोरा जंगलमा घाँस काट्न गएका थिए। तर लामो समयसम्म घर नफर्किएपछि परिवारजन र स्थानीयले खोजी गरेका थिए। खोजतलासका क्रममा करिब २०० मिटर तल भिरमा उनको शव फेला परेको जनाइएको छ।
घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। मृतक बोहराका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्।
घटनापछि गाउँमा शोकको वातावरण छाएको छ। यस्तै, सोही गाउँमा तीन साताअघि पूर्व वडा सदस्यको खोलाले बगाएर मृत्यु भएका थिए ।
मनसुनको समयमा बाजुराका विभिन्न स्थानमा यस्ता दुःखद मानवीय घटनाहरू दोहोरिँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस