बाजुरा : बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न योजनाहरूको प्रगति तथा आगामी वर्षका कार्यक्रमबारे सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा नगर प्रमुख अमर बहादुर खड्का, उप–प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी लगायत विभिन्न शाखाका प्रमुखहरूले नगरपालिकाका नीति, योजना र सेवाहरूको बारेमा जानकारी प्रस्तुत गरे।
नगर प्रमुख खड्काले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई अझ जिम्मेवार बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउन सुझाव तथा सल्लाहहरूलाई गम्भीरतापूर्वक आत्मसात् गरिने बताए। सार्वजनिक सुनुवाईमार्फत नगरवासीको चासो, सुझाव र सरोकारहरूलाई नगर विकासमा समाहित गरिने प्रतिबद्धता व्यक्त गरियो। कार्यक्रममा सहभागीहरूले व्यक्तिगत भन्दा पनि सार्वजनिक हितका विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।
नगरवासीका समस्याहरू पहिचान गरी कार्यान्वयनमा लैजानु आवश्यक रहेको धारणा सहभागीहरूले व्यक्त गरे। कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारलगायतको सक्रिय उपस्थिति थियो। स्थानीय राजनीतिक दलहरूका प्रतिनिधिहरू—नेपाली काँग्रेस नगर सभापति गोपाल कार्की, नेकपा एमाले नगर अध्यक्ष राजेश पायल विक र नेकपा माओवादी केन्द्रका चन्द्र थापाले पनि आफ्ना धारणा प्रस्तुत गर्दै नगर विकासमा निरन्तर लाग्न जनप्रतिनिधिहरूलाई सुझाव दिए। सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार लक्ष्मीराज पाध्यायले गरेका थिए भने विषयगत प्रस्तुति तथा सहभागीको अभिमत संकलनको भूमिका मदनराज जैशीले निर्वाह गरेका थिए। बडिमालिका नगरपालिकाले वर्षेनि यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत माझीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस