शनिबार, ०६ पुष २०८१

माओवादी केन्द्र बडीमालिका नगर कमिटी द्वारा नगरपालिकाको ध्यानाकर्षण

कालोबजारी र लम्पी स्किन रोग नियन्त्रण गर्न अनुरोध,

बाजुरा :  नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले बडीमालिका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगर कमिटीले  ८  बुँदे  माग सहित नगरपालिकाको ध्यानाकर्षण गारएको हो ।   

 सो ध्यानाकर्षण पत्रमा  अखिल क्रान्तिकारी जिल्ला कमिटीले पनि एकिबद्धता जनाएको छ । नगर कमिटी र विद्यार्थी संगठनले नगरपालिकाको सयुक्त ध्यानाकर्षण गराएका हुन् । स्थानीय सरकार गाउँ गाउँमा आउँदा जनताले आफ्नो आगनमा प्रत्यक्ष अनुभूति गर्न पाएको अवस्थामा बडीमालिका नगरपालिका भने जनताको जनजिविकाका सवालमा बेखबर बनेको आरोप  नेकपा मोओवादी केन्द्र नगर कमिटीले ध्यानाकर्षण पत्र मार्फत लगाएको छ ।

देशव्यापी रुपमा फैलिएको लम्की स्कीन रोग नियन्त्रणमा नगरपालिकाले चासो नदेखाएकोले तत्काल  उपचारमा ध्यान दिई नियन्त्रण गर्नुपर्ने, सदरमुकाम मार्तडीमा स्थायी पक्की सडक भएपनि गार्डी पार्किनका लागि बसपार्क नभएकाले दुर्घटना हुने जोखिम रहेकाले बसपार्क निर्माण गर्नुपर्ने, नगरपालिका भित्रका रिक्त रहेका विद्यालयमा नगर स्वयंसेवक शिक्षकहरुको पद्पुर्ती गर्नुपर्ने माग राखेको छ ।

यस्तै  वर्षातका कारण अवरुद्ध सडकहरु सञ्चालन र सडकहरूको स्तरउन्नतिका लागि पहल कदमी गर्नुपर्ने, सदरमुकाम भित्रै समय समयमा खानेपानिको समस्या हटाउन पहल गर्नुका साथै वर्षातका कारण अवरुद्ध भएका खानेपानीका मुहानहरु तत्काल निर्माण गर्नुपर्ने, मार्तडी बजार क्षेत्रका सडकमा अव्यवस्थित ढङ्गले राखिएका  बंगुर फर्महरु र पोल्ट्री फर्महरुका कारण वातावरणीय असर परेकाले तत्काल हताउनुपर्ने, सार्वजनिक सौचालय निर्माण गर्नुपर्ने, दैनिक उपभोग्य मुल्यमा व्यापारीहरुले बढाएको मुल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने मागहरु नगर कमिटी द्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छन् । 

आफुहरुले राखेका मागहरू सम्बोधन गरेर नगरवासिहरुलाई स्थानीय सरकारको अनुभुती गराउन ध्यानाकर्षण पत्र मार्फत नै अनुरोध गरिएको नगर कमिटी सचिव प्रेम धामीले बताएका छन् । जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधि नै जनताका जनजिविकाका सवालमा गैरजिम्मेवार बनेपछि ध्यानाकर्षण गराउनु परेको उनको भनाई छ ।  

नेकपा माओवादी प्रदेश कमिटी सदस्य तथा बडीमालिका नगर इन्चार्ज मान बहादुर वि. क , बडीमालिका नगर कमिटी सचिव प्रेम बहादुर धामी, अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष खेमराज  साँउद द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र नगर उपप्रमुख नन्दा थापालाई कार्यालयमै पुगेर बुझाएका हुन् । 

यता नगर उपप्रमुख नन्दा थापाले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरूलाई सम्बोधन गर्ने कुरामा नगरपालिका तयार रहेको बताएकी छन् । नगरपालिका जनता प्रती गैरजिम्मेवार बन्यो, अर्थात जनताका जनजिविकाका सवालहरुमा बेखबर बन्यो भन्ने कुरा यथार्त  नभएको उपप्रमुख थापाको भनाई छ । आफुहरु नगर बासिका समस्याहरु जनजिविकाका सवाल संग केन्द्रित रहेर नै निरन्तर जनतामाझ रहेर जनउत्तरदायी काम गरिरहेको उपप्रमुख थापाको दावी छ ।  

ध्यानाकर्षण पत्र मार्फत दिइएका सुझावहरुलाई नगरपालिकाले सहजै ग्रहण गर्ने र समाधानका लागि पहल गर्ने पनि थापाले बताइन् । उसो त बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार भित्रका व्यापारीहरुले मनोमानी ढङ्गले बढाएको मुल्य वृद्धि नियन्त्रण गर्न अनुगमन गरि व्यापारीहरुलाई बदमासी नगर्न भनिसकेको छ । उपप्रमुख थापा स्वयमको नेतृत्वमा व्यापारीगरुलाई कालोबजारी नगर्न अनुरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस