बाजुरा : बाजुरामा सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूलाई लक्षित गरी पहिलोपटक मोबाइल पत्रकारिता ९ःयव्य० सम्बन्धी तालिम सम्पन्न भएको छ। बडीमालिका नगरपालिका र नेपाल पत्रकार महासंघ, बाजुराको संयुक्त आयोजनामा सम्पन्न पाँच दिने तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध ३५ जना पत्रकार सहभागी भएका थिए।
मोबाइल पत्रकारिता तालिमले मोबाइलमार्फत भिडियो संकलन, सम्पादन, समाचार लेखन र प्रस्तुतीकरणको व्यवहारिक ज्ञान दिएको सहभागीहरूको भनाइ छ। रेडियो बुढीनन्दाकी पत्रकार सर्मीला रोकायाले भनिन्, “मोबाइलबाटै समाचार तयार पार्ने सीप हामीले सिक्यौं, जुन स्थानीयस्तरमा सहज र प्रभावकारी हुन्छ।”
बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले डिजिटल युगसँग मेल खाने सीप विकासले पत्रकारिताको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “पत्रकारहरू प्रविधिमा सशक्त भए जनताको सवाल प्रभावकारी ढंगले उठाउन सकिन्छ,” उनले भने। नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदमबहादुर सिंहले तालिमले परम्परागत शैलीबाट पत्रकारहरूलाई प्रविधिमैत्री अभ्यासतर्फ डोर्याउने बताए।
“अब पत्रकारिता केवल कागज र कलममा सीमित छैन,” उनले भने, “मोबाइल पत्रकारिता सरल, छरितो र प्रभावकारी माध्यम हो।” तालिममा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट र सचिव धमराज साउँदको उपस्थिति रहेको थियो। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझीले मोबाइल पत्रकारिताले समाचार उत्पादनलाई सहज र स्तरीय बनाउने विश्वास व्यक्त गरे।
तालिमको प्रशिक्षण पत्रकार भीषण राईले दिएका थिए भने समापन कार्यक्रमको सञ्चालन महासंघका सचिव प्रेम बहादुर राउलले गरेका थिए। प्रेस चौतारी नेपालका केन्द्रीय सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओलीले तालिममा सिकेको ज्ञान व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै, “बाजुराको सवाल र सम्भावनालाई उजागर गर्न मोबाइल पत्रकारिता उपयोगी हुनेछ,” सुझाव दिए।
तालिमपछि सहभागी पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागीहरूले तालिमलाई व्यावहारिक, उपयोगी र प्रविधिमैत्री अनुभवको रूपमा मूल्यांकन गरेका छन्।
प्रतिक्रिया दिनुहोस