मङ्गलबार, १७ असार २०८२

बान्नीगढी जयगढ गाउँपालिकाले ३७ करोडको बजेट सार्वजनिक, “स्वदेशमै रोजगारी” नारासहित आत्मनिर्भर बान्नीगढी निर्माणमा जोड

अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ३७ करोड १ लाख २ हजार ३१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १४औं अधिवेशनमार्फत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्धि, स्वरोजगार र प्रभावकारी सेवा प्रवाहमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उपाध्यक्ष बिन्दु रावलले बजेट विवरण प्रस्तुत गरेकी हुन्।

यस वर्ष गाउँपालिकाले “विदेश होइन, स्वदेशमै रोजगारी स् आत्मनिर्भर बनाऔँ बान्नीगढी” भन्ने मूल नारा अघि सारेको छ। सो नारा अनुरूप व्यावसायिक कृषि, पशुपालन र स्थानीय स्रोतमा आधारित लघु उद्यमहरूलाई प्रवर्द्धन गर्दै स्वरोजगार सिर्जना गर्ने योजना बनाइएको छ।

शिक्षा क्षेत्रमा “गुणस्तरीय शिक्षा, समृद्ध बान्नीगढीको आधार” भन्ने दृष्टिकोण अघि सारिएको छ भने स्वास्थ्य क्षेत्रमा “सबैको पहुँचमा गुणस्तरीय सेवा” भन्ने लक्ष्यसहित सामाजिक विकासमा विशेष ध्यान दिइने जनाइएको छ।

प्रशासनिक सुधारको सन्दर्भमा, नव निर्मित प्रशासनिक भवनमार्फत जनमैत्री, पारदर्शी र सहज सेवा प्रवाह गरिने योजना बजेटमा समेटिएको छ। आन्तरिक तथा प्रशासनिक खर्चमा कटौती गर्दै सेवा केन्द्रित प्रणालीको विकास गरिने उल्लेख छ।

गाउँपालिकाले संगठन संरचना पुनरावलोकन गर्दै आवश्यक जनशक्ति व्यवस्थापनका लागि कार्य विवरण र विश्लेषणमा आधारित सुधारात्मक नीति अपनाउने योजना बनाएको छ।

स्थानीय पर्यटन, कृषि, पशुपालन र लघु उद्यमलाई प्राथमिकतामा राख्दै दीर्घकालीन आर्थिक वृद्धि र रोजगारी सृजनामार्फत आत्मनिर्भर बान्नीगढीको परिकल्पना अगाडि सारिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत सेवा, समावेशी विकास र आर्थिक स्वावलम्बनलाई अगाडि बढाउने स्पष्ट योजना अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस