बाजुरा : जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति कार्यक्रममा शिक्षा, कृषि र सडकलाई प्राथमिकतामा राखेको छ ।
पालिकाले कक्षा ५ र ८ र एसइइमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीलाई सम्मान गर्ने, शिक्षक र विद्यालयसँग कार्यसम्पादन सम्झौता गर्ने, अतिरिक्त क्रियाकलापमा लगानी बढाउने नीति लिएको छ । आगामी आर्थिक वर्ष निर्माण गर्ने गरि १० वर्षे गाउँ शिक्षा नीति बनाउने र स्थानीय पाठ्य पुस्तक तयार पार्ने नीति लिएको छ ।
पालिकाले वन संरक्षण, जडिबुटी खेती र हरियाली पालिका निर्माणमा लगानी बढाउने नीति लिएको छ । पालिका अध्यक्ष कालीबहादुर शाहीले गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपन्न समुदाय, अल्पसंख्यक, सिमान्तकृत वर्गको जीवन स्तर सुधारका लागि कुल बजेटको १० प्रतिशत रकम उद्यम र सीप विकासमा लगानी गर्ने नीति लिएको छ ।
पालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने र पीलुचौरमा कृषि हाट बजार सञ्चालन गर्ने नीति लिएको छ । प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र शाहीका अनुसार गाउँको उत्पादनलाई बजारसम्म लैजान कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने र बजार क्षेत्रमा कोल्ड स्टोर सञ्चालन गर्ने नीति लिएको जानकारी दिएका छन् ।
पालिकाले हरेक किसानलाई कृषि उपज सामान खरिद गर्ने र उत्पादनका काममा जोडिने योजना पेश गरे ५० प्रतिशत अनुदान दिने नीति लिएको छ । कम्पोष्ट मलको प्रयोग र स्थानीय रैथानी बालीको उत्पादनमा अनुदान प्राप्त किसानले जोड दिनु पर्ने सर्त राखिएको छ ।
विद्यालयमा स्काउट दल गठन गर्ने, गर्भवती, विपन्न र विपतमा परेका विरामीहरुलाई उद्दारका लागि निशूल्क एम्बुलेन्स, जुड्डी स्थित जगन्नाथ अस्पताल र कोल्टी आधारभुत अस्पतालसम्म सेवा उपलब्ध गराउने, ९० वर्ष माथिका वृद्धहरुलाई घरमै निशुल्क स्वास्थ्य उपचार गरिने नीति लिएको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।
पालिकाले युवा उद्यम र सीप विकासमा लगानी बढाउने बताएको छ । सक्षम र स्वरोजगार युक्त युवा, जगन्नाथ समृद्धिको आधार भन्ने मान्यता सहीत सबै युवालाई सीप सिकाउने नीति अघि बढाएको छ । विगतका योजनालाई निरन्तरता दिएको पालिकाले यो वर्षप्नि सडक सञ्जाल जोड्न र बाह्रै महिना वडा कार्यालय र गाउँमा सडक सुचारु हुने गरि सडक निर्माणमा लगानी बढाउने नीति अघि सारेको छ ।
स्वास्थ्य उपचार सेवालाई पालिकामै प्रभावकारी बनाउने, गाउँमा निशुल्क बिशषेज्ञ शिविर सञ्चालन गर्ने, पालिकाका सबै व्यवसायीलाई अनिवार्य दर्ता गराउने र करको दायरामा ल्याउने नीति लिएको उपाध्यक्ष मरुकला विष्टले जानकारी दिएकी छन् पालिकाको कार्यालयमा असार ९ गते नीति तथा कार्यक्रम सार्वजनिक गरिएको र १० गते आज बजेट ल्याउने पालिकाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस