जनताको आशा र भरोसा संघ र प्रदेश सरकारका ठूला बजेटभन्दा पनि स्थानीय सरकारले प्रत्यक्ष रूपमा जनताको जीवनसँग जोडेर बनाएको बजेट रहने छ । बडिमालिकाका जनताले पनि संघिय र प्रदेश सरकारले गरेको बजेट भाषण भन्दा पनि अब आफ्नै स्थानीय सरकारले निकट समयमा गर्ने बजेट कार्यक्रमसँग ल्याउन स्थानियले अपेक्षा गरेका छन्।
बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०८२।८३ को नयाँ बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने बेला आएको छ । स्थानीयवासीको मनमा यो वर्ष केही परिवर्तन आउनेछ र जनताको मन छुने बजेट विनियोजन हुनेछ भन्ने आशा र भरोसाका किरणहरु देखिएका छन् । बजेट रकमको विवरण मात्र होइन, यो त जनताको जीवन, सेवा र अवसरसँग प्रत्यक्ष जोडिएको विषय हो। विशेषतः हाम्रो जस्तो दुर्गम क्षेत्रको हकमा बजेट जीवन परिवर्तन गर्ने एक साधन हो।
आधारभूत सेवा—पहिलो प्राथमिकता
बडिमालिका नगरपालिकाका अधिकांश वडामा अझै पनि स्वास्थ्य चौकीहरु सामान्य औषधि विहीन अवस्थामा छन । विद्यालयहरुमा शिक्षक अभाव छ , पिउने पानीको पहुँच सबै ठाउँमा प्रभावकारी छैन । यस्तो अवस्थालाई परिवर्तन गर्न बजेटले खास प्राथमिकता दिनुपर्छ भन्ने अपेक्षा सर्वसाधारणको रहेको छ। जनताको आधारभूत आवश्यकताहरु जस्तै बाटो, बिजुली र सञ्चार सेवाहरु शुधार नगरी अन्य विकास दीर्घकालीन हुन सक्दैन।
पारदर्शिता भरोसा निर्माणको खम्बा
नगरपालिकाको बजेट पारदर्शी हुनुपर्छ भन्ने अपेक्षा नागरिकको प्राकृतिक अधिकार हो। बजेट कहाँ र कसरी खर्च भयो भन्ने विषयमा सार्वजनिक सुनुवाइ, मासिक प्रगती रिपोर्ट र विभिन्न माध्यहरुबाट जनताले जानकारी पाउनु पर्ने मानव अधिकारको विषय पनि हो । यसका लागि स्थानीय तहमा प्रभावकारी अनुगमन तथा मूल्याङ्कन संयन्त्रहरू सक्रिय हुन आवश्यक छ। यदि बजेटले जनताका भावना विरुद्ध अन्धाधुन्ध खर्च गर्ने र कागजमा मात्र योजनाहरू पूरा हुने छन् भने त्यो जनताको विश्वासमाथिको धोका हुनेछ।
समावेशिता र न्यायपूर्ण बाडफाँट
सामाजिक समावेशिता बिना बजेट निष्पक्ष हुँदैन। दलित, महिला, अशक्त, सिमान्तकृत वर्ग, सामाजिक र आर्थिक रुवमा पछाडी परेका वर्ग र दुर्गम वडा र वस्तीलाई प्राथमिकता नदिई समान पहुँच सुनिश्चित गर्न सकिँदैन। बजेट बनाउने प्रक्रियामै जनताको प्रभावकारी र न्यायपुर्ण सहभागिता हुनु अत्यावश्यक छ। “हामीका लागि होइन, हाम्रै साथमा” भन्ने सोच आवश्यक छ।
स्थानिय रोजगारी र सीप विकास
बजेटले केवल भौतिक पुर्वाधार बनाउनमात्र नभई स्थानीय जनशक्तिलाई रोजगार दिन र उत्पादनमा आवद्ध गराउने क्षेत्रमा पनि लगानी बढाउनु पर्दछ । कृषि, पशुपालन, सीपमूलक क्षेत्र, व्यवसायमूलक क्षेत्रमा स्थानीय जनशक्तिलाई आवद्ध गर्ने र उनीहरुलाई लगानी गर्ने वातावरण सिर्जना गरी सहुलियत ऋणजस्ता कार्यक्रमहरू मार्फत बडिमालिकाका युवालाई रोजगारीको अवसर मिल्न सक्छ। बजेटले विदेश जाने बाध्यता कम गरेर घरमै जीवननिर्भर बनाउने उपायहरू खोज्नुपर्छ।
विपत् व्यवस्थापन र दीगो विकास
बाजुराको भूगोल विपत् जोखिमयुक्त छ। बाढी, पहिरो, दुर्घटना र महामारीले जनजीवन संकटमा पारिरहेको हुन्छ ।बजेटले आपतकालीन कोष, तयारी, उद्धार तथा राहत योजनामा विशेष ध्यान दिनुपर्छ। साथै, बनजंगल, पानी स्रोत र जैविक विविधता संरक्षण गर्न बजेटले दीगो सोच अपनाउनु अपरिहार्य छ।
अन्ततः जनताको अपेक्षा सधैं ठूलो हुँदैन । जनताका अपेक्षा भनेका बाटो राम्रो बनिदियोस्, स्वास्थ्य चौकीमा सिटामोल पाइयोस्, विद्यालयमा शिक्षक नियमित होस , छोराछोरीले आफ्नै गाउँमा रोजगार पाउन, घरमै बसेर इन्टरनेट चलाउन पाइयोस, सुख्खा जमिनमा सिँचाइ सुविधा होस, उन्नत जातको विउविजन र कृषि औजारहरु जनताका लागी अावसेक साधान हुन्।
जनताका सामान्य र आधाभूत आवश्यकता र अपेक्षा पुरा गर्न सक्ने सक्षम, उत्तरदायी र पारदर्शी बजेट नै जनताको चाहनामा छ। बजेट कागजमा मात्र नभई, जनताको जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम होस् भन्ने सामाजिक चाहना हो।बडिमालिकाको बजेट सही योजनासँग, समावेशी सोचसँग, र जनउत्तरदायी नेतृत्वसँग मेल खाने गरी तय भयो र कार्यान्वयन भयो भने बडिमालिकाका जनताको आशा र भरोसा पुरा हुनेनै छ।
प्रतिक्रिया दिनुहोस