मङ्गलबार, १७ असार २०८२

बाजुराको सत्यवादी माविमा कृषि खेती, पढ्दै कमाउदै विद्यार्थी

धनगढी : विद्यालयमा पनि कृषि खेती भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । पढ्ने समय । १६ मुनिको बालक उमेर । तीनै बालबालिकालाई पनि खेतीकिसानमा किन ? लगाएको प्रश्न उठ्न सक्छ । तर सत्यवादी मावि भौनेराले भने विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत कृषि खेती सुरु गरेको छ । र विद्यार्थीलाई कृषि खेतीमा जोडेको छ । कक्षा ७ देखि १० सम्मका ४५ जना बालबालिका कृषि खेतीमा आवद्ध छन् ।

गएको शैक्षिक सत्रबाट विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्र्तगत नै कृषि खेती सुरु गरिएको प्रअ मानबहादुर हमालले जानकारी दिएका छन् । उनका अनुसार अभिभावकको मञ्जुरी र विद्यार्थीको सहमतिका आधारमा खेतीमा आवद्ध गराएको बताए । बडीमालिका नगरपालिका २ मा पर्ने सत्यवादी माविमा कृषि खेतीको सुरुवाद वडा कार्यालयले गरेको छ ।

वडाकै गौरवको योजना अन्र्तगत मौसमी, बेमौसी तरकारी, आलु, प्याज सहीतको खेती सुरु गरिएको वडाअध्यक्ष डम्मर महतले बताए । विद्यार्थी विद्यालय समय बाहिर खाली बस्ने, अल्लारे पारामा घुमफिर गर्ने र विद्यालयको पाठ्यक्रममा समावेश शिक्षाले ज्ञान आर्जन बाहेक कुनै सीप नसिक्ने अवस्था रहेकोले खेती लगाउन सुरु गरिएको हो, महतले भने ।

महत वडा अध्यक्ष हुनु पूर्व लामोसमय विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर काम गरेका थिए । विद्यालयले ५ रोपनी जमिन भाडामा लिएको छ । विद्यालय नजिक रहेको जमिन कृषि खेतीकै लागि भनेर भाडामा लिएर पहिलो वर्ष उत्पादन समेत सुरु गरिसकेको छ । जमिनको भाडा तिर्न र बीउ विजन, औजार उपकरणका लागि वडाले ५ लाख रकम सहयोग गरेको थियो ।

खेती सुरु गरेको पहिलो सिजनमा आलु र प्याज उत्पादन गरिएको छ । करिब १५ क्वीन्टल प्याज र ८ क्वीन्टल आलु फलाएको र बर्खे सिजनको कृषिबाली लगाउन थालिएको विद्यालयले बताएको छ । विद्यालयबाट श्रोत शिक्षकको रुपमा यज्ञ रोकायालाई जिम्मेवारी दिएको छ । उनी विद्यालयको प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक हुनुपूर्व र हालपनि उनी सफल कृषक पनि हुन् ।

विद्यालयमा कुनै प्राविधिक धार छैन्, तर विद्यार्थीलाई सीप र सहजताका लागि पढ्दै कमाउँदै कार्यक्रम थालिएको शिक्षक यज्ञ रोकायाले जानकारी दिए । हाल बाजुराको बजारमा प्याज ६० देखि ७० र आलु ४० देखि ५० रुपैया प्रतिकेजी छ । उत्पादन गरिएको प्याज र आलु विक्री गर्दा करिब डेढ लाख बढी हुन आउँछ ।

एउटै सिजनमा ४० जना अप्राविधिक विद्यार्थीले ढेढ लाख कमाएपछि अभिभावक र शिक्षक दुबै हौसियका छन् । जमिन बाँझो हुदै जान थाल्यो, विद्यालयको पाठ्यक्रम पनि ज्ञान आर्जन र प्रमाणपत्र हासिल बाहेक नहुने स्थिति छ । त्यसैले सीप पनि सिक्ने कमाइपनि हुने गरि कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष डम्मर महतले बताए ।

विद्यालय, अभिभावक र वडा कार्यालयको त्रिपक्षिय सहकार्य गरिएको छ । कुल आम्दानीको २० प्रतिशत विद्यालयलाई दिने र बाँकी ८० प्रतिशत विद्यार्थीलाई दिने कार्यविधी नै बनाएको छ ।

विद्यार्थीको बैंक खाता अनिवार्य खोल्ने र उनीहरुको कमाई त्यही खातामा राखिदिने कार्यविधीमा उल्लेख छ । उच्च शिक्षा आर्जनलाई समेत सहज हुने र १० पछि आफ्नो कमाइ अनुकुलको घर खर्चमा चलाएपनि हुने गरि कार्यविधीमा लेखिएको छ । विद्यार्थीलाई कृषि खेतीमा ४ बजेपछि र शुक्रबारको दिन मात्रै काम लगाउने गरेको विद्यालयले बताएको छ ।

जमिन उर्वर छ । राम्रै आम्दानी हुने देखिन्छ । विस्तारै विद्यार्थीका लागि पनि विद्यालयका लागि पनि कार्यक्रम प्रभावकारी हुने विश्वास शिक्षकहरुको छ । उनीहरुले कृषि प्राविधिक नियुक्त गरेर थप प्रभावकारी बनाउने योजना बनाएका छन् । बडीमालिका नगरपालिका भित्र २४ वटा सामुदायिक विद्यालय छन् ।

तीन मध्ये सत्यवादी मावि भौनेरा र चोयाकोट मावि रजालीमा पढ्दै कमाउँदै कार्यक्रम छ । सबैविद्यालयमा जोड्ने गरि नीति बनाउन लागिएको नगर प्रमुख अमर खड्काले बताए । चोयाकोटमा पनि तरकारी, चोयाका डोका, डस्वीन र कुचा उत्पादन गर्ने गरेका छन् । नेपाल सरकारले पनि पढ्दै कमाउँदै कार्यक्रमलाई नीतिगत रुपमै अघि बढाउने भनेको छ ।

त्यसैको कार्यान्वयन पूर्व नै बडीमालिकाका २ वटा विद्यालयले सुरुवाद गरिहेका छन् । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी हुन सके विद्यार्थीलाई खेती किसानी बारे ज्ञाप सीप आर्जन पनि हुने, व्यक्तिगत आम्दानी पनि गर्न सकिने, आमाबुबालाई मात्रै आर्थिक भार नपर्ने देखिन्छ । विद्यार्थीलाई आम्दानीसँग जोड्न विद्यालयमा कृषि खेती सुरु गरेको हो ।

यो वर्षबाट गौरवकै योजनाका रुपमा अघि बढाउने तयारी वडा कार्यालयले गरेको छ । विद्यालयमा उत्पादन गरिएको प्याज आलु हेर्दा कुनै व्यवसायीक किसानको भन्दा कम गुणस्तरको छैन् । विद्यालय आउने र घर फर्किने पढाइमै सीमित हुने विद्यार्थीहरु र उनका अभिभावकहरु पनि उत्पादन देखेर दंग छन् । कर कसैलाई गरिएको छैन् । विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

ती मध्ये सहमत भएका ४५ जनालाई मात्रै सहभागि गराइएको हो । जबरजस्ती नगरि विद्यार्थीलाई सहभागि गराउने विद्यालयको लक्ष्य छ । तर पहिलो पटककै आम्दानी देखेर सबैजसो विद्यार्थीले भाग लिने इच्छा जाहेर गरेको देखिन्छ । सत्यवादी माविमा मौसमी, बेमौसमी तरकारी र केरा, च्याउ, उखु सहीतको खेती गर्न थालिएको छ । दुबैमा कृषि शिक्षा भने पढाइ हुदैन् ।

बाजुराका किर्तिचौर मावि मानाकोट र दशरथ मावि आटीचौरका विद्यार्थीले पनि कृषि खेती गरेका छन् । तर त्यहाँ ९ देखि १२ सम्मको विद्यालय शिक्षा हो, पढ्दै कमाउँदै कार्यक्रम भने होइन् । कृषि ज्ञान केन्द्र पनि विद्यालयको काम प्रति प्रभावित बनेको छ । सुरुमै टनेल सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने ज्ञान केन्द्रको विद्यालयसँग वाचा छ ।

जेनतेन खेलकुद बाहेक अरु कुनै अतिरिक्त क्रियाकलाप नहुने विद्यालयका लागि सत्यवादीका शिक्षक विद्यार्थीको मेहनत नयाँ सिकाइ र अभ्यासको नमुना बनेको छ । सत्यवादीको अभियान अन्य विद्यालयका लागि सिकाइ बन्ने छ । पढाइपनि कमाइ पनि अनि भोलिका लागि सीप आर्जन पनि सबैतिरबाट राम्रो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस