शनिबार, ०६ पुष २०८१

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिनुभयो ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np  मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।

त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस