धनगढी : कैलाली कारागारमा बेहोस् अवस्थामा भेटिएका युवकको मृत्युु भएको छ । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको छ । उनी बैंकिङ कसुर मुद्दाका प्रतिवादी थिए ।
कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई राती सेती प्रादेशिक अस्पताल पुगाइएकोमा उपचारका क्रममा सोही राति मृत्युु भएको जानकारी दिए । उनको शव दुईदिन देखि उठेको छैन् ।
मृत्युको कारण स्पष्ट नभएपनि अस्पताल पुगाउने बेला पालीलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिना बताउँछन् । उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक लागेको देखिन्छ । शरिरका भागहरुमा निलडाम पनि देखिन्छन् ।
सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । अहिले उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ । पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र उनलाई पक्राउ गरेर कारागार चलान गरेको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए । प्रहरीले बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताए पनि आफन्तहरूले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गर्दै आएका छन् ।
मृतक पाली व्यवसायी हुन् । प्रहरी नायब निरीक्षक हरिजित नाथले दायर गरेको मुद्दामा दोषी ठहर भएर पाली केही वर्षपछि पक्राउ गरेका थिए । त्यसपछि पनि नाथले रकम माग्ने गरेको र २ गते मात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए । नाथले भने ‘अदालतको फैसलामा रकम बुझाएपछि रिहा हुने भनेको हुँदा फैसला अनुसारको रकम बुझाउन पाली परिवार नै राजी भएको’ बताउँछन्।
सई नाथको भारतीय व्यापारीसँग पनि सेटिङ हुने गरेको र उनीहरूको फसेको पैसा नाथले उठाउन भूमिका खेल्ने गरेको पालीका आफन्तहरूको आरोप छ । ‘कारागार भित्र निर्मम यातना दिएर उनको मृत्यु भएको’ आफन्तहरूको भनाइ छ । ‘शरीरभरि घाउ र नीलडाम छन्। यो सामान्य मृत्यु होइन, हत्या हो,’ पदमसिंहले भने ।
यता आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ । यसले घटनामा झनै शंका थपिएको आफन्तहरूको भनाइ छ। मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन् ।
न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान उनीहरूले लिएका छन् । साथै उनीहरूले प्रहरी अधिकारीहरूमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारी पनि गरेका छन् । मृतकका श्रीमती र एक छोरा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस