मङ्गलबार, १७ असार २०८२

बाजुराको छेडेदह ‘लभ ताल’ मा खेल सेमिनार, प्रकृतिमै रमाए खेलाडी

धनगढी  : खप्तड छेडेदह गाउँपालिकाले छेडेदह अर्थात लभताल परिसरमा खेल प्रशिक्षण तथा सेमिनार सञ्चालन गरेको छ । प्रकृति र खेल जीवनलाई जोड्न र तालको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्य सहीत छेडेदह तालमै प्रशिक्षण तथा सेमिनार आयोजना गरेको हो । सेमिनार एक दिन सञ्चालन गरिएको प्रशिक्षक नरेन्द्र बहादुर ओलीले जानकारी दिएका छन् ।

ताल परिसरमै कराते, तेक्वान्दो र किकबक्सीङ विधाको प्रशिक्षण गरिएको छ । भने खेल क्षेत्र बारे खेलाडी र सरोकारवाला निकाय बीच सेमिनार सहीतको समीक्षा पनि गरिएको छ । पालिका खेलकुद विकास शाखाको संयोजक र खेल प्रशिक्षक ओलीको सक्रियतामा कार्यक्रम आयोजना गरिएको हो ।

तालकै किनारमा लिएर खेल प्रशिक्षण दिने र खुला सेमिनार सञ्चालन गर्ने अभ्यास नौलो हो । भारतको मुम्बईमा तीन दशक लामो समय प्रशिक्षण गरेका ओलीले पनि आफूले गरेको यो नौलो अभ्यास भनेका छन् । म तीन दशक बढी भारत बसेँ, ठूला प्रशिक्षण तथा सेमिनार आयोजना गरियो, त्यसको संयोजन समेत मैले नै गरेको हो, तर प्रकृतिको काखमा जाने, प्रशिक्षण दिने अभ्यास यो नै पहिलो हो, ओलीले भने ।

तालको संरक्षण र प्रवद्र्धनमा पनि टेवा पुग्ने, संरक्षण अभावमा रहेको तालको सुधार र प्रवद्र्धनमा समेत दबाब पुग्ने र खेलाडीले प्रकृतिसँग रमाउने अवसर पनि पाउने भएकोले छेडेदहमा आयोजना गरिएको ओलीको भनाई छ । ओली राष्ट्रिय  गोजुरियो कराते दो संघ  नेपालका केन्द्रीय कोषाध्यक्ष तथा बाजुरा जिल्लाका  प्रमुख प्रशिक्षक र मार्सल आर्ट अन्तर्रास्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय रेफ्री हुन् । 

खेलाडीलाई तालमै किनारमा प्रशिक्षण दिने, खेल क्षेत्रको विकास बारे समीक्षा गरिने कुराले राम्रो सन्देश गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावतले बताए । हाल पालिका भरिका ४ सय ५० बढी विद्यार्थी खेलमा आवद्ध छन् । 

प्रशिक्षणमा पालिका भित्र रहेका नौ वटै माविका विद्यार्थी सहभागि थिए । पालिकामा हाल खेल शिक्षक राखिसकेपछि मार्सल आर्ट, कराते, तेक्वान्दो र किक बक्सिङ विधाका खेलहरुमा उल्लेख्य प्रगति भइरहेको पालिका अध्यक्ष दीलबहादुर रावतले बताए । पालिकाले निशुल्क खेल प्रशिक्षण सञ्चालन गरिरहेको छ । 

खेलमा कक्षा ४ देखि माथिका विद्यार्थी सहभागि छन् । भने ७ देखि १८ वर्ष उमेर समूहका बालबालिकाले खेल सिकाइरहेको पालिका खेलकुद तथा शिक्षा शाखाले जानकारी दिएको छ । खेल क्षेत्रमा खप्तड छेडेदह गाउँपालिकाले राम्रो प्रगति गरेको उपाध्यक्ष बीसुदेवी नाथले बताइन् । पालिकाले पहिलो पटक दक्षिण एसियाली अन्तर्राष्ट्रिय खेल पनि जिताएर आएको हो । 

त्यो नै बाजुराले भाग लिएको पहिलो अन्तर्राष्ट्रिय खेल हो । जहाँ नेपाल पहिलो भएको थियो । भारतको झारखण्डमा बैशाख ५ देखि ७ गतेसम्म आयोजना गरिएको प्रतियोगितामा नेपाल पहिलो हुँदा भारत दोस्रो, मलेसिया तेस्रो र भुटान चौथो भएका थिए । बाजुराबाट प्रशिक्षक नरेन्द्र ओलीले नै टोलीको कमाण्ड गरेर लिएका थिए । 

कुल ९२ पदका लागि भएको खेलमा नेपाल एक्लैले ५४ पदक हात पारेको थियो । भने ती मध्ये बाजुरा एक्लैले १२ स्वर्ण २ रजत र १ कास्य जितेको थियो । खेलमा खप्तड छेडेदह गाउँपालिकाका खेलाडी मात्रै सहभागि थिए । ओलीले दक्षिण एसियाली खेलमा उत्कृष्ट रेफ्री अवार्ड पनि पाएका थिए । 

पछिल्लो समय सुदूरपश्चिमका दुर्गम गाउँहरुमा पनि खेल क्षेत्रको उल्लेख्य विकास भएको पाइन्छ । खेल प्रतिको युवा आकर्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा हुने सफलताले पनि प्रमाणित गरेको देखिन्छ । 

अन्य पालिकाको तुलनामा छेडेदहमा झन बढी खेलकुदका गतिविधी भइरहेको देखिन्छ । सुदूरपश्चिमका पहाडकै ठूलो धनराशीको छेडेदह गोल्डकप पनि खप्तड छेडेदहमै हुने गरेको छ । छेडेदहमा आयोजना गरिएको खेलले राम्रो सन्देश दिएकोमा पालिकाले धन्यवाद दिएको छ । सामाजिक सञ्जालमा पनि राम्रो प्रतिक्रिया आइरहेको देखिन्छ । 

छेडेदह बाजुरा जिल्लाकै ठूलो ताल हो । यहाँको प्रमुख पर्यटकीय क्षेत्रमा रुपमा रहेको ताल लगानी र सरकारी बेवास्ताले संरक्षण र प्रवद्र्धन अभावमा छ । लभ अर्थात प्रेम तालका रुपमा परिचित ताल घुम्न प्राय जोडिहरु जाने गरेका छन् । 

प्रेममा परेका जोडिहरुले छेडेदहको अवलोकनले सम्बन्ध गाढा हुने र युगयुगसम्म साथ साथ भइरहने विश्वास गरिन्छ । निमको पात अर्थात लभ साइनमा रहेको ताल खप्तड छेडेदह गाउँपालिका ७, ४ र ५ को बीचमा पर्ने गरेको छ । बाजुरा, अछाम र बझागका लागि छेडेदह परिचित ताल हो । रारा खप्तड पैदल मार्गको बीचमा पर्ने भएकोले पनि भविष्य सुन्दर देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस