लन्डन : नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा नयाँ नेतृत्व चुनिएको छ । आइतबार अबेर बेलायतको लेष्टरमा सम्पन्न नवौं अधिवेशनले पशुपति पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पोखरेल यसअघि मञ्चमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । अघिल्लो समितिमा उनी सदस्य र संघसंस्था समन्वय विभाग प्रमुखको भूमिकामा थिए ।
नवनिर्वाचित कमिटीको चार उपाध्यक्षमा प्रतिमा जिसी, डा मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं छन् । सचिवको जिम्मेवारी गंगा क्षेत्रीले पाएका छन् भने उपसचिवमा हरि आचार्य, श्याम लुईंटेल र दुर्गा बानिया चुनिएका छन् ।
त्यस्तै, सदस्यमा शम्भुप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जु पाठक र प्रेम गुरुङ छन् । रिक्त एक उपसचिव पछि मनोनित गरिने भएको छ ।
यस्तै सदस्य पदम बाजुरा कमल उपाध्याय पनि सर्वसम्मत भएका छन् । उनी पेशाले इन्जिनियर हुन् । अनेरास्ववियुबाट राजनीति सुरु गरेका कमलले प्रवासबाटै राजनीतिमा सक्रिय रहने तयारी गरेका छन् ।
नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई मञ्चको अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शपथग्रहण गराएका थिए । प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी महासचिव शंकर पोखरेललगायतका नेताले बधाई तथा शुभकामना दिएका थिए ।
अध्यक्ष निर्वाचित भएलगत्तै पोखरेलले तीन वर्षे कार्यकालमा सक्रियतापूर्वक खटेर संगठन र पार्टीको साख उकास्न लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले मञ्चको सदस्यता विस्तार कार्यलाई अभियानका रुपमा अघि बढाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
अध्यक्ष पोखरेलले आउँदै गरेको एनआरएनए यूके निर्वाचनमा समेत मञ्चको भूमिका सशक्त र प्रभावकारी पार्ने प्रतिवद्धता व्यक्त गरे । यसअघि मञ्चको अध्यक्ष पदमा दावी गरेका कृष्ण भण्डारी सहमतिका लागि पछि हटेपछि पोखरेलको नेतृत्वमा सर्वसम्मत कमिटीका लागि वातावरण बनेको थियो ।
नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रम भव्य रुपमा सम्पन्न भएको लण्डनबाट समितिका सदस्य समेत रहेका इन्जिनियर कमल उपाध्यायले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस