सोमबार, ०२ असार २०८२

एमाले नेतृ शान्ता चौधरी भन्छन्-उद्यम र उत्पादन विनाको समृद्धि दिवा सपना हो

धनगढी : नेकपा एमाले पोलिटव्यूरो सदस्य शान्ता चौधरीले देशलाई समृद्ध बनाउन सबैले उद्यमशिलतामा जोडिन आग्रह गरेकी छन् । उद्यम र उत्पादन विनाको समृद्धि संभव नभएको भन्दै चौधरीले सुरुवाद आफैबाट गर्नु पर्नेमा जोड दिएकी हुन् ।

दश दिने अचार तथा मसेउरा र गुन्द्रुक उत्पादन तालिमको समापन समारोहमा बोल्दै उनले समृद्धि पनि खोज्ने उद्यमशिलताका लागि संघर्षपनि नगर्ने कुरा दन्तबजान मात्रै भएको बताइन् । हामीलाई समृद्धि पनि चाहिएको छ, खुस पनि खोजिएका छौं, धेरै आम्दानी होस्, भन्ने चाहना पनि छ, तर संर्घष छैन्, यसो भए संभव छैन्, उनले भनिन् ।

अचार उद्यमी समेत रहेकी चौधरी दश दिन देखि बाजुरामै छिन् । महिलालाई अचार तालिमको प्रशिक्षण दिन बाजुरा आएकी हुन् । सुरुमा त केही गर्ने इच्छाशक्ति चाहियो, सोच बनाउनु पर्यो, अनि सीप आर्जनमा लगानी गर्न सक्नु पर्यो, त्यसपछि मात्रै उद्यम विकास हुने र आम्दानी गर्न सकिने उनले बताइन् ।

काम कोही नगर्ने, उत्पादनमा कसैको ध्यान नै नहुने, तर देशको समृद्धिको सपना देख्ने, आफ्नो आम्दानी बढोस् भन्ने चाहना तर काम र उद्यम केही नगर्ने उनले भनिन्, त्यो दिपा सपना हो, कहिल्यै पुरा हुदैन् । प्रत्येक घर र परिवार उत्पादनसँग जोडिनु पर्ने सुझाव शान्ताको छ । 

उनले २ वर्षदेखि अचार उद्यम थालेकी छन् । देश बाहिरपनि वर्षेनी करोडको अचार उनकै उद्योगबाट जाने गरेको छ । तालिम लिने, सीप सिक्ने तर कार्यान्वयन नगर्ने यो परिपार्टीको अन्त्य हुनु पर्छ । राज्यलाई केही दिएन पनि सीप सिकाएको छ, सीप सिक्नका लागि लगानी गरेको छ, फेरि पनि सरकारलाई नै दोष, यो कुरा बाजुराका अचार तालिम लिएका दिदीबहिनीहरुसँग सुन्न नपरोस्, उनले थपिन् । 

आफ्नो राजनीतिक काम छोडेर, महिला उद्यमी बढाउनकै लागि बाजुरा आएको उनको दाबी छ । १५ दिन बित्यो, १० दिन म तालिम दिनमै बिताए, तर पनि यो मेहनतबाट केही उपलब्धी भएन भने, त्यो भन्दा दुखद अरु केही हुदैन्, बडीमालिका नगरपालिकाले महिलाकै जीवन स्तर उठान गरेको लगानीको पनि प्रतिफल आउनु पर्नेमा उनको जोड छ । 

सुखी नेपाली, समृद्ध नेपालको नारा यस्तै उद्यम र उत्पादनले मात्रै संभव हुने दाबी उनको छ । महिलाहरु अब स्मार्ट हुनु पर्छ, पहिरन, बोली, अडान र उत्पादन सबैमा महिलाले गर्न सक्छन् भन्ने पार्नु पर्छ, त्यो सीप र इच्छाशक्ति बाट हुने हो, तपाईहरुले सीप सिक्नु भो, अब अचार र अचारका लागि आवश्यक कच्चा पदार्थ बाजुराबाटै लिन पाउनु पर्छ, उनले सहभागिसँग आग्रह गरिन् ।

आफूले कमलहरी हुँदाको संर्घष सुनाउँदा र १० दिने तालिमपछि काठमाडौं फर्किन्छु भन्दा सहभागि ६० जना मध्ये अधिकांशले आँशु खसाएका थिए । मेरो आउने हप्ताबाट हप्ताबाट स्नातक तेस्रो वर्षको परीक्षा छ, अचार उद्योगको व्यवस्थापनको काम पनि छ । राजनीतिक काम पनि गर्नै पर्ने छ । आज हामी छुटीन्छौं, तपाईलेहरुले उत्पादन गरेको कच्चा पदार्थ र अचार लिन आउँछु, शान्तिले सहभागिलाई भनिन् । 

उनले यो तालिम ठूलो उद्यम विकासका लागि प्रर्याप्त होइन्, तपाईहरु काठमाडौं आउनु, म निशुल्क मेरै कम्पनीमा तालिम सिकाउँछु, गाडी भाडा नगरपालिकासँग माग्नु होला, तर देश समृद्ध बनाउने जिम्मेवारीको सहयोगी तपाईहरु पनि बन्नु पर्छ, शान्ताले आग्रह गरिन् । व्यस्त समयका बीच पनि देश बनाउन सपना बोकेका हामीहरुले उद्यमशिलतामा जोड दिनु पर्छ र महिला उद्यमी बढाउनु पर्छ, भन्ने सोच सहीत आएको बताईन् । 

नगर प्रमुख अमर खड्काले संघर्षबाट स्थापित मान्छेले गरेको काम र सिकेको सीपलाई तपाईहरुलाई सिकाउन र प्रेरणाको श्रोतका रुपमा आकर्षण बढाउन अति व्यस्त माछेलाई नै बोलाएर तालिम गराएको र यसको उपलब्धी जरुर हुनु पर्ने धारणा राखेका छन् ।

सहभागिले पनि उद्यम गर्ने प्रतिवद्धता जनाएका थिए । नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदम माझी सहीत वडाअध्यक्षहरु सहभागि थिए । तालिम  चार जनाले सिकाएका हुन् । 

प्रतिक्रिया दिनुहोस