आइतबार, ०१ असार २०८२

भारतबाट फर्किएका कंचनपुरका गिरी धनगढीमा मृत भेटिए

धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरी धनगढीमा मृत अवस्थामा फेला परेका छन् । भारतको मुम्बईबाट तीन वर्षपछि घर फर्किएका गिरी बिहीबार दिउँसो करिब ३ बजे डोके बजार पुगेका थिए । 

उनीसँगै आएका अन्य तीनजना साथीसहित डोके बजारस्थित कार्की होटलमा खाजा र मदिरा सेवन गरेको पारिवारिक स्रोतले जनाएको छ । खाजा खाइसकेपछि गिरी बेपत्ता भएका थिए ।

शुक्रवार बिहानसम्म पनि घर नफर्किएपछि उनका आफन्तले खोजतलास थालेका थिए । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा फोटोसहित निवेदन दिइएको थियो । गिरी शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित नाला नजिकैको हिलोमा अचेत अवस्थामा फेला परेका थिए । 

उनलाई तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान नखुलेपछि शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो । पछि आफन्तले शवको सनाखत गरेका हुन् । हाल पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । मृतक गिरीका एक छोरा र एक छोरी छन् । घटना बारे प्रहरीले थप अनुसन्धान पनि अघि बढाएको छ । 
 

प्रतिक्रिया दिनुहोस