आइतबार, ०१ असार २०८२

पोखराका सुमन खड्का बने राष्ट्रिय लोकदोहोरी आइडल

काठमाडौं :  सांस्कृतिक समाज नेपालद्वारा आयोजित ‘राष्ट्रिय लोकदोहोरी आइडल २०८२’मा पोखराका सुमन खड्का विजेता भएका छन्।

काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा  सम्पन्न प्रतियोगितामा  पोखरा गाउँबेसी रोधिघरका कलाकार सुमन खड्काले उपाधि जितेका हुन्।  उपाधिसहित उनले  मोटरसाइकल , नगद ३३,३३३, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्  । त्यस्तै सालघारी दोहोरी साँझकी सँगिना थापा मगर दोस्रो भइन् । उनले स्कुटर, नगद  २२,२२२, ट्रफी र प्रमाणपत्र पाइन्।

कार्यक्रममा अन्य १० उत्कृष्ट कलाकारहरूलाई विभिन्न विधामा  नगद रु १५५५, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।देशभरिका ६९ दोहोरी साँझहरूबाट प्रतिनिधित्व गर्दै आएका  प्रतियोगिताबाट १६ जना कलाकार नेपाल प्रीमियर लिग का लागि छनोट भएका छन्।

कार्यक्रममा विशिष्ट निर्णायकको रूपमा तेजबहादुर केसी र प्राज्ञ दुर्गा रायमाझी थिए । त्यतै निर्णायक मण्डलमा सुवास केसी, राजु ढकाल, प्रचण्ड जिसी, जीवन दाहाल, दीपक खड्का, दुर्गा गुरुङ, कोपिला गौतम, सत्यकला राई तथा निर्णायक सहयोगीको रूपमा भरत बाराकोटी र प्रेम शर्मा थिए ।

पहिलो पटक आयोजना गरेको कार्यक्रमले देशभरि लोक दोहोरी र लोक सङ्गीतको सम्भावना उजागर गर्न ठुलो भूमिका खेलेको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । सांस्कृतिक समाज नेपालले यसअघि पनि विभिन्न सृजनशील कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस