धनगढी – स्थानीय तहमा यतिबेला योजना निर्माण, कार्यान्वयन र बील भुक्तानीको चटारो छ । कर्मचारी र जनप्रतिनिधि पुरानो बजेट कार्यान्वयन र नयाँ बजेट निर्माणको कामले व्यस्त देखिन्छन् । आर्थिक वर्षको समाप्ति हुँदैछ । गएको वर्षका योजना कार्यान्वयन र नयाँ योजना निर्माणको समय यही हो । सबै जसो स्थानीय तहका कर्मचारी योजना कार्यान्वयनमा लागिपर्छन् । र, जनप्रतिनिधि नयाँ नीति कार्यक्रम र योजना निर्माणमा व्यस्त छन् ।
तर बाजुराको बडीमालिका नगरपालिकाका जनप्रतिनिधि वडा, टोल पुगेर जनतासँगको संवाद र छलफलमा छन् । ‘हेलो मेयर’ कार्यक्रमअन्र्तगत नगर प्रमुख अमरबहादुर खड्का र उपप्रमुख नन्दाकुमारी थापा नौ वटै वडा पुगेका छन् ।
जनताका गुनासा सुन्ने, विकास बारे धारणा बुझ्ने र आगामी योजना तय गर्ने उदेश्यसहित वडावडामा ‘समृद्धि बहस’ समीक्षा कार्यक्रम सञ्चालन गरेका छन् । पालिकाभित्रका नौ वटै वडा पुगेका प्रमुख र उपप्रमुखले प्रत्येक वडाबाट योजनाको समीक्षा र नयाँ योजनाबारे सुझाव सङ्कलन गरेका छन् ।
जनप्रतिनिधिका मागभन्दा जनताका आवश्यकता बुझ्न वडामै पुगेर ‘समृद्धि बहस’ को माध्यमबाट गुनासा र सुझाव सङ्कलन गरिएको नगर प्रमुख अमरबहादुर खड्काले बताए ।
‘वडाबाट आउने योजना पनि आफू अनुकूल, स्वार्थ र लाभसँग जोडिएर मात्रै सिफारिस हुने जनगुनासो बढेपछि आफैँ वडामा पुगेर सुझाव लिने काम गरिएको हो, लगानी हुने तर प्रतिफल नदेखिने अवस्था आयो, अब त्यो अन्त्य गर्ने उदेश्यले जनतासँग भेटेरै सुझाव लिएको हो,’ प्रमुख खड्काले भने ।
स्थानीय राजनीतिक दल, उपभोक्ता समिति, शिक्षा, कृषि, स्वास्थ्य सबै शाखाका कर्मचारी, विव्यस र विद्यालयका प्रअ, समुदायिक वन, सहकारी, बाल समूह, महिला अधिकार मञ्च, दलित नेटवर्क, युवा सञ्जाल, अपाङ्गता समूह सबैलाई बोलाएर समीक्षासहित मेयर उपमेयर पालिका फर्किएको प्रमुख प्रशासकीय अधिकृत पदम माझीले जानकारी दिए ।
‘वडाको आवश्यकता बुझेर आउनु भा’छ, जनताका सुझाव पनि आएका छन् । यो कामले योजना निर्माण र प्राथमिकीरण गर्न पनि सहज हुने विश्वास प्रमुख प्रशासकीय अधिकृत माझीको छ । पालिका प्रमुख उपप्रमुखले नौ वटै वडाका कम्तीमा एक हजार बढी स्थानीयसँग प्रत्यक्ष साक्षात्कार गरेका छन् ।
योजनाको समीक्षामा उनीहरूलाई प्रत्यक्ष सहभागी गराइएको छ । नयाँ योजनाका लागि सुझाव सङ्कलन पनि गरियो । मनलाग्दी योजना माग्ने, काम नगर्ने, भुक्तानीका लागि प्राविधिक, कर्मचारी र जनप्रतिनिधिलाई नै धम्की दिने, थर्काउने, पार्टीको धाक लगाउने परिपाटी अन्त्य गरौं, भनेर नै ‘वडा समीक्षा’ तथा ‘समृद्धि बहस’ सञ्चालन गरिएको नगर उपप्रमुख नन्दा थापाले बताइन् ।
थापा पालिकाको योजना अनुगमन अधिकारी पनि हुन् । तर उनलाई निर्माण हुने योजनामा सन्तुष्टि छैन । उपभोक्ता नै गैरजिम्मेवार बन्ने गरेकोमा उनी दुःखी भएको बताउँछिन् ।
‘धेरै योजना भुक्तानिका लागि सिफारिस गरिएन, घरमै धम्की दिनसमेत आए, राम्रो गर्न खोज्दा पनि उपभोक्ताकै विरोधि हुनुपर्ने अवस्था छ ।’ उनले भनिन् । यो वर्ष समयमै गुनासा सुन्ने, सुनाउने र केही योजनाका लागि सुझावसमेत सङ्कलन गरिएको छ, राम्रो गर्न कोसिस जारी छ ।’ उनले थपिन्, ‘प्रत्येक वडामै समीक्षा गरियो । तीन वर्षमा गरेका काम, भएका उपलब्धी, योजनाको अवस्था र गुणस्तरबारे खुला छलफल गरिएको थियो ।’
मेयर र उपमेयर आएर छलफल, सल्लाह र सुझाव लिएको पहिलो पटक देखेको बडिमालिका–१ का परे कार्कीले बताए ।
‘गाउँमा पानीको समस्या छ, सोलार प्रणालीबाट पानी झिक्ने मोटर बिग्रिएको छ, मर्मतका लागि योजना माग गरेका छौं ।’ कार्कीले भने ।
‘योजनामा दोहोरो बजेट तर लापरबाही‘
बडीमालिकाले तीन वर्ष यता अर्बको बजेट खर्च गरिसकेको छ । त्यो सबै रकमको ८० प्रतिशत बढी खानेपानी, सिँचाइ, धारा, पँधेरा निर्माण, सडक बाटो, विद्यालय र स्वास्थ्य संस्थाका संरचना विकासमा खर्च गरेको छ ।
लगानी र तथ्याङ्कमा हेर्दा बडीमालिकामा ९५ प्रतिशत बढीको घरमा खानेपानी, सबै वडामा सडक, वडा र स्वास्थ्य संस्थाका संरचना विकास भइसकेको देखिन्छ ।
गाउँमा ती संरचना निर्माण पनि भएका छन् । तर टिकाउ छैनन् । दीगो छैनन् । स्थानीय उपभोक्ताले नै योजनामा अपनत्व नदेखाएको देखिन्छ ।
‘हरेक वर्ष एउटै खानेपानी मर्मत, सम्भार र निर्माणमा योजना गएको देखिन्छ । संघ र प्रदेशबाट पनि आएको छ । स्थानीय तहले पनि लगानी गरेकै छ, तर धारामा पानी छैन, खेतमा सिँचाइ छैन । नहर भएको कुलोमा पानी हुँदैन्, यतिसम्मको लापरबाही गर्न हुँदैन ।’ बडीमालिका–७ का स्थानीय गोरख धामीले ‘समृद्धि बहस’ मा सुझाव दिए ।
धामीले ढम्कनेमा २०५३ सालमा बनेको पानी अझैसम्म चलिरहेको उदाहरण समेत दिए । ‘हामीले २०५३ सालमा केयर नेपालले बनाएकै योजनाअन्र्तगतको पानी खाइरहेका छौं, हामीलाई योजना चाहिएको छैन, अरु विकासमा लगानी होस्, तर कमाइ र कमिसनका लागि वर्षौंवर्ष योजना माग्ने गलत संस्कार हट्नु पर्छ ।’ धामीले भने । स्थानीय तहले स्थलगत अध्ययन गरेर मात्रै लगानी गर्नुपर्ने सुझाव दिए ।
उपभोक्ताले पनि योजना मेरा लागि हो भन्ने मान्यता राख्नुपर्ने बडीमालिका–३ का वीरबहादुर रावल बताउँछन् । ‘यो राज्यको पैसा हो, जसरी पनि खर्च गर्नु पर्छ, खानु पर्छ भन्ने गलत मान्यताले स्थानीय तह आलोचित हुनु परेको छ,’ उनले भने, ‘स्थानीय सरकारले योजनाको आयु तोकेर लगानी गर्नुपर्छ ।’
‘प्राकृतिक विपद बाहेकका कुनै पनि योजना ५ वर्ष, १० वर्ष, १५–२० वर्षका लागि त टिकाउ हुनु पर्छ । जनतालाई मात्रै दोष दिएर अपनत्व लिएनन् भनेर हुँदैन ।’ रावलले भने ।
समस्या जनस्तरमा पनि देखिएको बडीमालिका–७ का अध्यक्ष धर्मराज पाध्याय बताउँछन् । ‘एउटै टोल छ । तीन वर्ष भयो, लगातार योजना पानीकै लागि मात्रै आउँछ । तर लगानी अनुसारको काम नै हुँदैन, विकास नहुनुको विडम्बना यो पनि हो ।’ अध्यक्ष पाध्याय भन्छन् ।
संघ र प्रदेशको बजेटबाट उनको वडामा आधा अर्ब बढीका सिँचाइ कुलो बनेका छन् । तर अझै अधिकांश खेतमा सिँचाई सुविधा छैन । कतिपय नहरमा पानी नै छैन । पानीबिनाका सिँचाइ र खानेपानी आयोजना निर्माण हुँदा पनि राज्यको कर्मचारीतन्त्र कमिसनकै चक्करमा चलेको देखिन्छ ।
‘विकासमा नागरिकको अपनत्व आवश्यक’
विकासमा स्थानीय अनपत्व र आवश्यकतालाई ध्यान नदिएसम्म विकास सम्भव नहुने बडीमालिका ४ का वडा अध्यक्ष अर्जुन नाथ बताउँछन् ।
‘धान एककट्टामा फल्छ, करोडको योजना माग्छन् । सुरुमा सडक खोजे, जब घरघरमा सडक पुग्यो, पहिरो लगाउने गरी सरकारले सडक बनायो भने,’ नाथ आश्चर्य व्यक्त गर्दै भन्छन्, ‘अनुदानका बोका, बाख्रा, राँगा, भैसी बिक्री गरी खान्छन्, काम सम्पन्न नहुँदै सिफारिस–पत्र बनाउन दबाब दिन्छन् ।’
सबै वडाको समीक्षामा योजना दीगो नबनेको गुनासो आयो । स्थानीयले पैसाका लागि मात्रै योजना माग्न थाले । त्यसको संस्थागत विकासमा कसैको ध्यान छैन । पूर्व नगरप्रमुख पदमबहादुर बडुवाल जनता पनि जिम्मेवार हुनुपर्ने बताउँछन् ।
‘विकास लगानी अभावले नभएको होइन्, जनताको अपनत्व नै भएन । पानी त आफ्नै लागि हो, भन्ने सोच्नु पर्ने चेतना जनतामा हुनु पर्छ ।’ उनी भन्छन् ।
विकास नै मेरा लागि हो, भन्ने मानसिकता जनस्तरमा बनाउन नसक्दा राज्यको लगानी मात्रै खेर गएको बडीमालिका–१ का विश्वराज पण्डित बताउँछन् । पूर्व कृषि विकास अधिकृतसमेत रहेका उनी देखिने विकास सम्भव नभएको बताउँछन् ।
‘अनुकूलका योजना नपाउँदा असन्तुष्टि‘
बडीमालिकामा सबै वडा र टोलमा स्वास्थ्य संस्था बनेका छन् । प्रसुति सेवा सहितको सुविधा छ । रजालीमा तरकारी, ढम्कनेमा आलु, कोर्धमा केरा खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
जिल्लामा अन्य पालिकाको भन्दा शैक्षिकस्तर पनि माथि छ । खेल र शैक्षिक क्षेत्रमा राम्रो प्रगति छ । सबै वडामा कच्ची भए पनि सडक पुगेको देखिन्छ । तर असन्तृष्टि कम छैन । अनुकूलका योजना नपाउनेहरू नै बढी रुष्ट देखिने गरेको बडीमालिका–५ का अध्यक्ष धर्मपाल मिजार बताउँछन् ।
उनले विद्यालयको व्यवस्थापनबाहेक वडामा सबै सुविधा पुगेको बताए । जनगुनासो सुनुवाइका लागि गरिएको वडा समीक्षा तथा समृद्धि बहसले राम्रो सन्देश दिएको सहभागीको भनाइ छ ।
जैशीडाँडा आधारभूत विद्यालयका शिक्षकले आफैंले कम्प्युटर कक्षा सञ्चालन गर्न ल्यापटप खरिद गरेका छन् । जिम्मेवार कोही नहुने अरूलाई मात्रै दोष दिने काम बन्द गरेर आफ्नो तर्फबाट पनि समाज र सरकारलाई योगदान गर्नुपर्ने मान्यतासहित अग्रसरता देखाएको उनीहरूको भनाइ छ ।
पानीका टुटीसमेतको समस्या सुनाउने, धमिलो पानी आयो, मुहान सफाइको योजना चाहियो भन्ने कुरा अन्त्य गर्न सुझाव दिएका थिए । शिक्षकले होस्, कि स्वास्थ्यकर्मीले अब गुनासाभन्दा बढी सफलता र उपलब्धीलाई सुनाउने र आफू पनि जवाफदेही बन्ने कुरामा जिम्मेवार हुन नगरपालिकाले बहसमार्फत् सबैलाई सन्देश दिएको छ ।
बडीमालिका बाजुराको सदरमुकाम हो । जिल्लाकै मुकाम भएपछि सबैको चासो, सरोकार र आवतजावत् भइरहन्छ । सरकारी संरचना प्रहरी प्रशासनदेखि गैर सरकारी संस्थाका कार्यालय पनि बडीमालिकामै छन् । हुनेखाने, शिक्षित र पढेलेखेकाको बसोबास पनि सदरमुकाम नै हुने गर्छ । त्यसकारण पनि सिकाइ र अनुकरणका लागि पालिकाले नमुना काम गर्नुपर्ने चुनौती छ ।
प्रतिक्रिया दिनुहोस