धनगढी: सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सेती प्रादेशिक अस्पतालले सेवा सञ्चालनमा ल्याएको हो ।
निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका हुन् । प्रादेशिक अस्पतालले स्थापना गरेको सेवा औपचारिक सञ्चालनमा आएको समेत उनले घोषणा गरेका छन् ।
केन्द्र संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो । प्रदेश सरकार र संघिय सरकारको लगानी सहायतामा केन्द्र सञ्चालनमा आएको उद्घाटन गर्दै मेसु डाक्टर पाण्डेले बताए ।
उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भए पनि केही प्राविधिक समस्याले हुन नसकेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेका थिए ।
अब उक्त बाध्यता अन्त्य भएको छ । भारत र काठमाडौं गएर महँगो खर्च तिर्नु पर्ने बाध्यता हटेको छ , सहज र सुलभ रूपमा धनगढीमै सेवा लिन सकिने उनले बताए । प्रादेशिक अस्पतालले निःसन्तान भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउने बताएको छ ।
प्रादेशिक अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले निःसन्तानपन सम्बन्धी समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए ।
निःसन्तान सम्बन्धी कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाट निःसन्तान भएका दम्पतीले लाभ लिन सक्नेछन् । उक्त सेवा अन्तरगत पुरुष र महिलाको सामान्य स्तरको प्रजनन सम्बन्धी परीक्षण र परामर्श, पुरुषको वीर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनीय रूपमा सेवा प्राप्त गर्न सक्ने अस्पतालले बताएको छ ।
भट्टले यो सेवाको सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भनेका छन् । सेतीमा सुरु भयो, भविष्यमा थप सेवा विस्तार गर्न सकिने उनले बताए । बाँझोपनको समस्या महिला र पुरुष दुवैमा हुने चिकित्सकको भनाई छ ।
विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिमलाई लक्षित गरी यो सेवा विस्तार गरिएको छ । सेवा सञ्चालनसँगै महँगो खर्च गरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।
प्रतिक्रिया दिनुहोस