शनिबार, ३१ जेठ २०८२

एयर इन्डियाको विमान दुर्घटनापछि शोकमा डुब्यो भारत, एक यात्रु जीवितै भेटिए

काठमाडौं: भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको छ । एयर इन्डियाको विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ ।लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार विमानको ११(ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् ।त्यसअघि प्रहरीले विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको हुनसक्ने बताएको थियो ।

दुर्घटनासँगै भारत शोकमा डुबेको छ ।

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।’

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए । एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखेका थिए ।

भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, ‘‘जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए ।’’विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ ।एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ । विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।

उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रूत र समन्वित कारबाही गर्न’ निर्देशन दिए ।‘‘अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरो दुःखका साथ म पुष्टि गर्दछु’’, एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भने, ‘‘हाम्रो विचार र गहिरो समवेदना यस विनाशकारी घटनाबाट प्रभावित सबैका परिवार र प्रियजनहरूसँग छ ।’’

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो ।

स्थानीय पुनम पटनीले एएफपीसँग भनिन्, ‘‘जब हामी घटनास्थलमा पुग्यौँ त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए ।’’‘‘धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्,’’ उनले भनिन् ।


भारतको राष्ट्रिय सुरक्षा निकाय सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ ।विमान अहमदाबादको सिभिल अस्पताल र शहरको हर्स क्याम्प नजिकैको क्षेत्रमा खसेको थियो ।

अहमदावादमा भएको विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन् ।राष्ट्रपति द्रोपदी मुर्मूले राष्ट्रपति मुर्मूले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यो हृदयविदारक विपत्ति भएको बताएकी छिन् ।

राष्ट्रपति मुर्मूले ट्वीटरमा लेखेकी छिन्, ‘‘अहमदाबादमा भएको विमान दुर्घटनाको खबरले म निकै दुःखी छु । यो हृदयविदारक विपत्ति हो ।’’

उनले भनेकी छिन्, ‘‘दुःखको यस घडीमा दुर्घटनाबाट प्रार्थना प्रभावित सबैमा समवेदना । अवर्णनीय दुःखको यस घडीमा राष्ट्र पीडित परिवारजन र उनीहरूका आफन्तको साथमा उभिनेछ ।’’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘‘अहमदाबादको यो दुःखद घटनाले हामीलाई स्तब्ध तुल्याउनुका साथै दुःखी पनि बनाएको छ । यो शब्दमा व्यक्त नै गर्न नसकिने गरी हृदयविदारक घटना हो । यो दुःखको घडी हो र यसबाट प्रभावित सबैमा मेरो सहानुभूति छ । म प्रभावितहरूलाई सघाउन लागि परेका मन्त्री तथा अधिकारीहरूसँग सम्पर्कमा रहेको छु ।’’

त्यसैगरी, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, कांग्रेस सांसद तथा लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले लण्डनका लागि उडेका एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष गान्धीले भनेका छन्, ‘‘अहमदाबादमा भएको विमान दुर्घटनाबाट म स्तब्ध र दुःखी छु । यात्रु र चालक दलका सदस्यका परिवारप्रति मेरो समवेदना छ । दृश्यहरू अत्यन्त्यै हृदयविदारक छन् । सिङ्गो देश शोकले आक्रान्त छ र प्रार्थना गरिरहेको छ ।’’

राहुल गान्धीले कांग्रेस कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । गान्धीले भने, ‘‘यो अविश्वसनीय कठिन प्रशासनद्वारा तत्काल उद्धार र राहत प्रयासहरू गर्नु महत्वपूर्ण हुनेछ ।’’

दुर्घटनाप्रति शोक व्यक्त गर्दै देशका अन्य दल, तिनीहरूका नेता, कलाकार तथाउद्यमीहरूले पनि सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गर्दै राहतका लागि कुनै कसुर बाँकी नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।

भारतले घातक हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ । त्यसबेला दुई जेट नयाँदिल्लीमाथि हावामा ठोक्किएर करिब तीन सय ५० जनाको ज्यान गएको थियो ।

सन् २०१० मा दक्षिण पश्चिम भारतको मङ्गलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो । उक्त दुर्घटनामा एक सय ६६ यात्रु र चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो ।

दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा तीन सय २९ जना यात्रु सवार थिए र कोही पनि बाँचेनन् ।

उग्रवादी सिखहरूले विमानले बोकेको सामानमा बम राखेको एउटा भारतीय आयोगले निर्धारण गरेको थियो ।

अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रुअहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवारभारतमा दुर्घटनाग्रस्त बोइङ ७८७(८ ड्रिमलाइनरको सुरक्षामा यसअघि नै उठेका थिए प्रश्न

प्रतिक्रिया दिनुहोस