बाजुरा: जिल्ला अस्पताल बाजुरामा शुक्रबारबाट निःशुल्क दुई दिने आँखा शिविर आज वाट सुरु भएको छ । बडीमालिका नगरपालिकाको समन्वय र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा आँखाको ज्योति गुमाएका र आँखा सम्बन्धी रोग लागेका स्थानीयहरुको उपचारका लागि शिविर संचालन गरिएको छ ।
शिविरमा आँखाका ज्योती गुमाएका विरामीहरुको शल्यक्रिया गरिने गेटा आँखा अस्पतालका डाक्टर स्मिथ अधिकारीले बताउनु भयो ।
शिविरमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले आँखाको उपचारमा आएका विरामीहरुलाई पालिकाले निःशुल्क औषधी सहयोग गर्ने बताएका छन् ।
गेटा आँखा अस्पतालले हरेक वर्ष दुर्गम जिल्लाहरुका नागरिकहरु आँखाका विरामी हुने गरेकाले उनीहरुलाई जिल्लामा नै गएर सेवा निःशुल्क दिने गरी शिविर संचालन गर्दै आएको छ ।
शल्यक्रिया गरिएकालाई चस्मा सहित औषधी पनि नगरपालिकाले सहयोग गर्ने उनले बताए । वार्षिक कार्यक्रमका रुपमा शिविरको पालिकाले गर्दै आएको नगर प्रमुख खड्काले बताए ।
आँखा शिविरमा सबैले सेवा लिन आउन अपिल गरेका छन् । शिविरमा कुनै समस्या आए पालिकासंग समन्वय गर्न पनि नगर प्रमुख खड्काले आग्रह गरेका छन् ।
नगर प्रमुख खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गेटा आँखा अस्पतालका चिकित्सक स्मिथ अधिकारी,बडीमालिका नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धरमपाल मिजार,७ का वडा अध्यक्ष धर्मराज पाध्याय, ९ का वडा अध्यक्ष सूर्यकिरण वि।क।,बुढीनन्दा नगरपालिका ७ का वडा अध्यक्ष अशोक दानी अतिथी रहेका थिए ।
यस्तै गैर सरकारी संस्था महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारी,नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेमबहादुर रौले लगायत अतिथी थिए ।
बडीमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले गर्नु भएको थियो ।
शिविरमा विहान देखि नै आँखाको उपचारका लागि भीड लागेको छ । शिविरमा आँखाको शल्यक्रिया,आँखाका समस्या र उनीहरुलाई परामर्श सहितको सेवा प्रदान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस