बाजुरा : बृहत जानरण सभा बाजुराको सदरमुकाम मार्तडीमा भव्य रुपमा आयोजना गरिएको छ । जिल्ला दलित नेटवर्क बाजुराको आयोजना, बडीमालिका सामुदायिक विकास समाज बाजुराको सहकार्य र दलितका लागि दलित अभियानको समन्वयमा वृहत जागरणसभा भव्य रुपमा मार्तडीमा सम्पन भएको हो ।
कार्यक्रमलाई सफल बनाउन मार्तडी बजारमा बाजागाजा सहित नारा जुलुस लगाई बजार परिकर्मा गरि खुल्ला मन्चमा एक औपचारिक कार्यक्रमका साथ कार्यक्रम संचालन गरिएको दलित नेटवर्क बाजुराका अध्यक्ष जसबहादुर विकले बताएका छन् ।
बृहत जागरण सभा कार्यमक्रममा दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका मुद्धालाई अगाडी बढाउदै गर्दा बाजुराको दलित समुदाय पनि एकजुट भएकोे सन्देश दिएको छ ।
सामाजिक अभियान्ता समेत रहेका सुनारले दलितलाई यहाँका गैरदलितहरुसहित राज्यले समेत विभिन्न सेवा सुविधामा बन्चित गर्ने गरेकोले यसको प्रतिकारमा उत्रेर अगाडी बढ्नुपर्नेमा जोडदिनुभयो ।
दलितहरुलाई अहिलेका राजनीतिक दलहरुले प्रयोग मात्रै गर्ने गरेको आरोप उहाँले लगाउनुभएको छ । अब एक पटक दलित समुदायले एक भएर आफ्नो समुदायको हकअधिकारका लागी लड्न तयार रहनुपर्ने बेला आएको अभियान्ता सुनारले बताएका छन् ।
२०७७ साल देखि आफु दलितका लागि दलित आफ्ना लागि आफै भन्ने उद्देश्यका साथ एक शसक्त आन्दोलनको एजेण्डा बनाएर लागि रहेकाले यो अभियानमा साथ दिन बाजुराका दलित समुदायलाई आग्रह गरेका छन् ।
दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारबाट यहाँका स्थानीय तहले बन्चित गरेपछि पहिलोपटक दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिएको जिल्ला दलित नेटवर्क बाजुराका अध्यक्ष जसबहादुर विकले बताएका छन् ।
शिक्षा र जनचेतनाको विकास भएसँगै बाजुरा जिल्लाका दलित समुदायहरु एकजुट हुन् थालेका हुन् । दलित समुदायलाई लक्षित गरेर आयोजना गरिएको वृहत जागरण सभामा दलित समुदायका नागरिकहरुको भव्य उपस्थिति रहेको थियो ।
जिल्ल दलित नेटवर्क बाजुरा अध्यक्ष जसबहादुर विकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार रहेका थिए ।
त्यस्तै कार्यक्रममा स्थानीय दलित अधिकारकर्मी, दलित अगुवा, दलित समुदायबाट नेतृत्व गर्ने विभिन्न स्थानीय तहमा जनप्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य, र दलित महिला सदस्यहरु लगायतको सहभागिता रहेको थियो । मार्तडीको खुलामंचमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन दलित अधिकारकर्मी गोरख विकले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस