काठमाडौ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनले नयाँ पुस्तालाई संगठिन गर्न सक्नु पर्ने बताएका छन् । पार्टी र संगठनमा काम नगर्नेहरूले जिम्मेवारी नलिन महासचिव पोखरेलको सुझाव छ ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीको जनसंगठन संयन्त्रले आयोजना गरेको वाग्मती प्रदेश अन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसंगठन इन्चार्ज तथा प्रमुखहरूको संयुक्त बैठकलाई पार्टी प्रदेश कार्यालय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पुरा गर्न नसक्ने बताएका हुन् ।
‘हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र संगठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले संगठन निर्माण भएकै छैन, हाम्रा जनसंगठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्’, पोखरेलले भने ।
पार्टी र संगठन निर्माणको बारेमा गम्भीर भएर सोच्ने बेला आएको उनले बताए । ‘पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनु पर्छ’, पोखरेलेले भने ।
पार्टीमा नभएका मानिसहरूलाई पार्टीमा ल्याउने आधार बनाउन जनसंगठन बनाइएको उनले बताए । पार्टी सदस्यलाई मात्र संगठित गर्न जनसंगठन आवश्यक नै नपर्ने उनले बताए । पार्टी सदस्य नभएकालाई पार्टीसँग जोड्नको लागि जनसंगठनले काम गर्नुपर्नेमा उनले जोड दिए ।
जनताको ठुलो पंतिलाई पार्टीमा जोड्न जनताका मुद्दा उठाउनु पर्ने उनले बताए । त्यो काम जनसंगठनले गर्नुपर्ने पोखरेलको धारणा छ ।
पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा प्रदेश जनसंगठन संयन्त्र तथा समन्वय प्रमुख दावा दोर्जे लामाको अध्यक्षतामा बैठक भएको हो । बैठकमा पार्टीका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई ,अध्यक्ष कैलाश ढुङ्गेल लगायत पदाधिकारीहरू सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस