शनिबार, २४ जेठ २०८२

सुदूरपश्चिमको विकासमा सबैको साझा पहल रहनु पर्छ : मन्त्री भण्डारी

धनगढी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

आज धनगढीमा आयोजीत प्रदेश लगानी तथा विकास सम्मेलन पूर्व तयारी बैठकको सम्बोधन गर्दै उहाँले तीनै तहका सरकार र निजिक्षेत्रको साझा प्रयासमा सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

“नेपालले सन् २०३० सम्ममा न्यून आय भएको मुलुकबाट मध्यम आय भएको देशको स्तरमा पुग्ने एक महत्वपूर्ण लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि आर्थिक, सामाजिक, रोजगारी र नागरिक जीवनस्तरका क्षेत्रमा आमूल सुधार गर्न आवश्यक छ । यसै सिलसिलामा हालसम्म न्यून आय भएको देश भएकाले विश्व समुदायबाट प्राप्त सुविधाहरूमा मध्यम आय भएको देशको स्तरमा स्तरोन्नती हुँदा कटौती हुन सक्ने भएकाले अब प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र आर्थिक विकास र वृद्धिलाई टेवा दिने उपायहरू खोज्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।” भण्डारीले भने ।

मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताए । “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो । यहाँको कुल घरेलु उत्पादनमा कृषि क्षेत्रले ३३ प्रतिशत योगदान पु¥याएको छ । स्रोत साधनको उपयोग र जनसांख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो । यस प्रदेशमा प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वनस्रोत, वन उत्पादन, जडीबुटी तथा औषधीजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् ।”

उनले भने, “प्रदेश सरकारले लगानीयोग्य ५६ वटा परियोजना पहिचान गरिसकेको छ, जसमा रिसोर्ट, वाटर पार्क, ¥याफ्टिङ, पाँच तारे होटल, हेलिकप्टर सफारी, कृषि औजार उत्पादन, भेडा च्याङ्ग्रा फार्मिङ, फलफूल उद्योग, यातायात सेवा, केवलकार जस्ता विविध क्षेत्र समेटिएका छन् । यी परियोजनाहरूले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासलाई थप गति दिने र यहाँको स्रोतसाधनलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।” उनले ठूलो सम्भावना बोकेको प्रदेशमा आर्थिक र विकास निर्माणका गतिविधिहरू अपेक्षित मात्रामा सञ्चालनमा नहुनु बिडम्बना रहेको बताए ।

स्रोतहरूको न्यून परिचालन र अवसरहरूको सीमित उपलब्धताका विशेषगरी पहाडी र हिमाली क्षेत्रका मानिसहरू जीविकोपार्जनका लागि प्रायः न्यून ज्यालामा काम गर्ने गरी मौसमी कामदारको रूपमा भारततर्फ पलायन हुने प्रवृत्ति बढेको बताए । उनले सम्भावनाहरूको सदुपयोग गरी प्रदेशको आर्थिक, सामाजिक र औद्योगिक रूपान्तरणमा स्वदेशी तथा वैदेशिक लगानी एक महत्वपूर्ण कडी बन्ने विश्वास व्यक्त गरेका छन् ।
भण्डारीले लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्धता व्यक्त गरे ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताहरूसँग मेल खाने गरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगानीमैत्री वातावरण सृजना गर्न, निजी क्षेत्रको सहभागिता बढाउन, र रणनीतिक पूर्वाधारमा लगानी भित्र्याउन आवश्यक नीति सुधार, कानूनी सरलता र सहजीकरणका उपायहरू अवलम्बन गर्दै आएको बताए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतासँग मेल खाने गरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी अघि बढाएको मन्त्री भण्डारीको भनाई छ । लगानी सम्भावित क्षेत्रहरूको पहिचान र परियोजना सूची तयार गर्ने, नीति तथा कानूनी सुधारका एजेन्डाहरू संकलन र प्राथमिकता निर्धारण, वैदेशिक प्रतिनिधिमण्डलसँग पूर्व–सम्पर्क र आमन्त्रण प्रक्रिया, संघीय तथा प्रदेश सरकारबीच समन्वय सुदृढ गर्ने संयन्त्रको निर्माण गर्ने बताए । उनले यो सम्मेलन लैगानीमैत्री वातावरण निर्माण गरि समृद्ध प्रदेश निर्माणको दिशा केन्द्रीत पाइला भएको बताए ।

प्रतिक्रिया दिनुहोस