बाजुरा : बडीमालिका नगरपालिकाले प्रविधीमैत्री शिक्षण सिकाइका लागि आइटीसी तालिम सञ्चालन गरेको छ । बडीमालिका नगरपालिका शिक्षा शाखाको आयोजनामा सबै सामुदायिक विद्यालयका शिक्षकहरुलाई आइटीसी तालिम दिएको हो ।
पछिल्लो विकासित प्रविधी मार्फत शिक्षण सिकाइ गर्दा आवश्यक ज्ञानसीप र अनुभव आदान प्रदानका लागि तालिम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख रंगमल विकले जानकारी दिएका छन् । बडीमालिका नगरपालिकाले सबै सामुदायिक विद्यालयमा इहाजिरी देखि कम्प्यूटर कक्षा सञ्चालनको नीति लिएको छ ।
आधारभुत तहबाटै प्रविधीमैत्री शिक्षण सिकाइका लागि एक विद्यालयबाट एक जना शिक्षकलाई तीनदिन तालिम दिइएको छ । सामाजिक सञ्जालको प्रयोग, कम्प्यूटर शिक्षा बारे ज्ञान आर्जन र डिजिटल बोर्ड मार्फत गरिने पढाइ बारे जानकारी गराइएको हो ।
नगरपालिका सूचना प्रविधी शाखा प्रमुख हेमबहादुर रोकायाले शिक्षकहरुलाई प्रविधी मैत्री सीप बारे सहजिकरण गरेको शिक्षा शाखा प्रमुख रंगमल विकले जानकारी दिएका छन् । नयाँ प्रविधीसँग जोडिएर जानु पर्छ भन्ने उदेश्य सहीत सबै विद्यालयबाट एक एक जना शिक्षक बोलाएर तालिम दिइएको सामाजिक विकास समिति प्रमुख एवं २ नम्बर वडाका अध्यक्ष डम्मर महतले बताएका छन् ।
नगर प्रमुख अमर खड्काले तालिम लिने व्यवाहारमा कार्यान्वयन नगर्ने कुरामा निगरानी गरिनु पर्ने बताएका छन् । आफै कम्प्यूटर बारे जानकारी नभएर प्रविधीमैत्री आइटीसी तालिम लिएर नहुने भएकोले त्यसबारे आफू अब्बल हुन शिक्षकलाई निर्देशन दिएका छन् । पालिकाले गरेको लगानी विद्यार्थीको क्षमता विकाससँग जोडिनु पर्ने नगर प्रमुख खड्काको जोड छ । पालिका भित्रका सबै विद्यालय, स्वास्थ्य चौकी वडा कार्यालयमा बडीमालिकाले इन्टरनेट सुविधा सहीतको नेट जडान गरेको छ ।
प्रतिक्रिया दिनुहोस