मङ्गलबार, १७ असार २०८२

बडीमालिकाले बाल सञ्जाललाई प्रभावकारी बनाउँदै,बाल विवाह र दुर्व्यसनी रोक्न नीतिगत अभियान थाल्ने

बाजुरा : बडीमालिका नगरपालिकाले बाल संरक्षण र अधिकार नीतिलाई थप सुदृढ र प्रभावकारी बनाउने भएको छ । पालिका भित्रको बाल दुव्र्यशनी, बाल विवाह रोकथाम र अधिकारका पक्षमा वकालत पैरवीका लागि नीतिलाई परिमार्जन सहीत कार्यान्वयनमा जोड दिने भएको निर्णय गरेको छ । 

बडीमालिका नगरपालिका, पीसविन नेपाल र पलान इन्टरनेशनलको सयुक्त सहकार्यमा नीतिगत बहस र पैरवी सहीत कार्यान्वयनको पाटो बलियो बनाउदै लैजाने नगर प्रमुख अमर खड्काले बताएका छन् । कार्यविधी, कार्यनीति बनाएर बाल कल्याण अधिकारी समेत नियुक्ती गरिसकेको बडीमालिकाले वटा, टोल स्तरमै बाल सञ्जाल गठन सहीत सक्रियता बढाउने योजना अघि बढाएको छ । 

पालिका स्तरीय बाल सञ्जाल देखि वडा र टोल स्तरमै गठन गरेर अभियानमुखी कार्यक्रममा जोड्नु पर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले बताएकी छन् । रोकायाका अनुसार बालबालिकाको क्षमता विकास, स्वय व्यक्तिगत आचरण सुधार र सामाजिक विकृतिका विरुद्धमा बालबालिकाको एकताका लागि सञ्जाललाई प्रभावकारी बताउने बताएकी छन् ।

पीसविनले आयोजना गरेको स्थानीय बाल अधिकार समितिको सुदृढीकरण र भूमिका सम्बन्धी छलफलमा सहभागि जनप्रतिनिधी र सरोकारवाला निकायले बाल अधिकार र संरक्षणको सवाललाई बिशेष महत्वका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । 

बाल विवाह नरोकिएको, विद्यालयमा कक्षा छोड्ने, दोहोरिने क्रम अझै देखिएको, बाल दुव्र्यशनी बढेको, बाल श्रमका घटनाहरु भइरहेकोले त्यसको सुधारका लागि बालबालिकाकै प्रत्यक्ष संलग्नता आवश्यक रहेको सहभागिको सुझाव थियो । सुझावकै आधारमा पालिकाले पीसविन र प्लान इन्टरनेशनलसँग मिलेर बाल सञ्जाल गठन, र सक्रिय बनाउने निर्णय गरिएको छ ।

पालिकाको अभियान र कामसँग पीसविनका गतिविधीलाई जोडेर थप प्रभावकारी बनाउनु पर्नेमा उपप्रमुख नन्दा कुमारी थापाले जोड दिएकी छन् । बाल संरक्षण र अधिकारका क्षेत्रमा बजेटको प्राथमिकता दिने र विद्यालय स्तरबाटै सुधार गर्ने नीतिमा पालिका लागि परेको नगर प्रमुख अमर खड्काको दाबी छ । 

नगर उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सञ्चालन गरिएको छलफल कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख अमर खड्का थिए । पीसविन नेपालका कार्यक्रम संयोजक पदम कठायतले सञ्चालन गरेको कार्यक्रमको उदेश्य बारे पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्म रोकायाले जानकारी गराएकी थिए ।

प्लान इन्टरनेशनलका जिल्ला कार्यक्रम प्रमुख महेश नेपालीले सहजिकरण गरेको कार्यक्रममा बाल सञ्जाल देखि जनप्रतिनिधी, वकिल देखि अन्य सरोकारवाला निकाय सहभागि थिए । पीसविनका तर्फबाट कार्यक्रम प्रबन्धक धर्म रोकायाले कार्यक्रम लागु भएका बडीमालिका, बुढीगंगा, त्रिवेणी र गौमुल सहीत चारवटै पालिकामा स्थानीय सरकारको नीतिलाई थप प्रभावकारी बनाउन आफूहरुको साथ रहने बताएका छन् ।     

प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का उपप्रमुख नन्दा कुमारी थापा प्रमुख प्रशासकीय अधिकृत्त पदम माझी २ नम्वर वडा का वडाध्यक्ष डम्मर महत्त शिक्षा शाखा प्रमुख रंगमल विक महिला बालबालिका तथा जेष्ठ नागरिस सेवा शाखा केशरी रोकायानेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह अधिबक्ता गगन रावल, हर्क खडायत बाल क्लब प्रतिनिधि लगाए सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

नगर उपप्रमुख नन्दा कुमारी थापाले बाल अधिकार समितिहरूलाई संस्थागत बनाउँदै क्षमता अभिवृद्धि, स्रोत परिचालन र अनुगमन प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सबै सरोकारवाला निकायहरूलाई समन्वयमा काम गर्न आग्रह गरिएको छ । 

कार्यक्रममा सहभागीहरूले बालविवाह, बालश्रम, घरेलु हिंसा, विद्यालय बाहिरको बालबालिका, मानसिक स्वास्थ्य र लैङ्गिक विभेद जस्ता चुनौतीहरूको पहिचान गर्दै समाधानमा समिति सशक्त रूपमा अग्रसर हुनु पर्ने धारणा राखेका थिए ।
 

प्रतिक्रिया दिनुहोस