बाजुरा : गायक तथा सर्जक चित्र विष्टले हृदयका प्यारा नामक देउडा गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । खप्तड डिजिटल म्यूजिक सिनेमाको यूटुब च्यालनबाट गीतको भिडियो सार्वजनिक गरिएको छ ।
प्रमिला थापाका शब्द रहेको गीतमा चित्र विष्ट र पूर्णकला बिसीको स्वर रहेको छ । उनी चित्र विष्टकी जीवन संगीनी हुन् । प्रमीला साहित्य विधामा कलम चलाउँदै आएकी छन् । अक्सर प्रीय मान्छेहरु छुटेर जाने, चाहेरपनि साथमा राख्न नसकिने र माया फेरि उनीहरुकै लागि रहने विषयलाई गीतको प्रमुख सन्देश बनाइएको छ ।
बिनोद बाजुरालीले एरेन्ज गरेको गीतको लय पनि बाजुरालीले नै गरेका हुन् । भीम थापाले निर्देशन गरेको म्यूजिक भिडियोमा टेक बिष्ट र मेनुका खड्का (अनु) को अभिनय रहेको छ । खप्तड फिल्मले दृष्य निर्माण गरेको भिडियोको छायाङकन अमृत उपाध्यायले गरेका हुन् । गीतको छायांकनपनि गाउँले परिवेशलाई आधार बनाएर कैद गरिएको छ ।
मेरी निम्ति ढुंग्री गीतबाट आफ्नो सांगीतिक यात्रा थालेका विष्टले मुगु रारा ताल सहीतका आधादर्जन गीत बजारमा ल्याएका छन् । उनले बाल विवाह, सरसफाइ, स्वच्छता सम्बन्धी चेतनामुलक गीत पनि आफ्नै लेखन र स्वर सहीत बजारमा ल्याएका छन् ।
फूली गया साल पुगि गया सरोवर
कहाँ छै मुगामाल सौराइले अकुल्याइ लाइगइ
तराइमा साल फूलिसक्दा, मानसरोवर पुग्ने कुरा भइसक्दा पनि आफूबाट टाढिएको, तर मनमा बसेको मान्छे नआएको प्रेमील कथालाई गीतको शब्दमा बुनिएको छ ।
बृरस्पती तारा एक्लै आउँछैइ एक्लै जान्छइ
हृदयका प्यारा छुटेर गइजाने रैछन्
आकाशमा एक्लै उदाइरहने बृरस्पती ताराले साथ नपाएजस्तै हृदयमा बसेको मान्छेको साहरा कम पाउने कुराको ब्याख्या गीतमा गरिएको छ । सांगीतिक यात्रा सुरु गरेको दशक पछि चित्रले अर्को कोशेली बजारमा ल्याएका हुन् । उनले सामाजिक सञ्जालको प्रतिक्रियाले निरन्तरताका लागि हौसला बढेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस