बुधबार, २१ जेठ २०८२

बडीमालिका ९ को बार्षिक समीक्षा : व्यवस्थीत खानेपानी र सडकबाटो सुधारमा जोड, बजेट प्राथमिकताको माग

बाजुरा : बडीमालिका नगरपालिका ९ का स्थानीय बजारको सडक र खानेपालीलाई व्यवस्थीत बनाउन सुझाव दिएका छन् । सदरमुकामको बजार क्षेत्र रहेको वडाको सडकलाई सहज र व्यवस्थीत गर्न र खानेपानीलाई थप सुधार गर्न सुझाव दिएका हुन् ।

हेलो मेयर कार्यक्रम अन्तर्गतको जनुगुनासो सुनुवाई तथा बार्षिक समीक्षा कार्यक्रमका सहभागिले मार्तडी बजारलाई नमुनामा रुपमा विकास गर्न सुझाव दिएका छन् । वडा अध्यक्ष सूर्यकिरण विकको अध्यक्षतामा आयोजित समीक्षामा नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा सहीत सहभागि थिए ।

योजनाको दीगोपनमा उपभोक्तालाई ध्यान दिन लगाउनु पर्ने, योजनामा स्थानीयको अपनत्व बढाउनु पर्ने र बजेटमा प्राथमिकता दिनु पर्ने माग स्थानीयले राखेका छन् । अन्य वडाको तुलनामा पालिकाले ९ नम्बर वडालाई विभेद गरेको आरोप उनीहरुले लगाएका छन् । कार्यक्रममा एमाले बाहेकलाई बाइपास नै गरेको आक्रोश काँग्रेसका कौशल विकले व्यक्त गरेका छन् ।

विकास निर्माणमा सबै राजनीतिक दललाई सँगै लैजानु पर्ने र सबैको सहभागितामा योजना छनोट गरिनु पर्ने धारणा राप्रपाका प्रकाश विकले राखेका थिए । जवाफमा वडा अध्यक्ष सूर्य किरन विकले जनताले दिएको जनमत र दलिय भावनालाई संवोधन गरेर नै प्रत्यक्ष वर्ष योजना छनोट गरिएको दाबी गरेका छन् । अध्यक्ष विकले उपभोक्तालाई जिम्मेवार र आफ्नालागि हो, भन्ने भावनाका साथ योजना निर्माण गर्न आग्रह गरेका छन् । 

राजनीतिक दलका प्रतिनिधी, उपभोक्ता समिति, शिक्षक, विव्यस, कर्मचारी, स्वास्थ्य कर्मी, उपभोक्ता र सरोकारवाला क्षेत्रका सबै प्रतिनिधी सहभागि समीक्षामा उनीहरुले मार्तडी बजार भित्र कालोपत्रे गर्न बाँकी सडकलाई प्राथमिकतामा राख्नु पर्ने र बजार बासीले भोग्नु परेको खानेपानी समस्यालाई संवोधन गर्न  बृहत मार्तडी खानेपानी आयोजना जिम्मेवार र जवाफदेही हुनु पर्ने सुझाव दिएका छन् । 

वडा सचिव सुनिता विकले सञ्चालन र सहजिकरण गरेको कार्यक्रममा सरसफाइ र स्वच्छतामा नमुना शहर बनाउन नसकिएको, बजार बाहिरका टोलको समस्यालाई संवोधन नगरिएको र बजारमा सोलार बत्तीको समेत व्यवस्थापन नगरेको प्रति नगर प्रमुख उपप्रमुखको ध्यानाकर्षण गराएका छन् ।

समीक्षामा नगर उपप्रमुख नन्दा कुमारी थापाले श्रोतसाधानको सीमितताले सबै समस्या एकसाथ संवोधन गर्न नसकिएको भन्दै यो वर्षको बजेटमा केही बिशेष र नमुना कामका लागि बजेट विनियोजन गर्ने बताएकी छन् । उपप्रमुख थापाले बजार क्षेत्रको सुधार र योजनाको दीगोपनाका लागि उपभोक्ता पनि जिम्मेवार बन्नु पर्ने बताएकी छन् ।

नगर प्रमुख अमर खड्काले बडीमालिकालाई उत्पादन र स्वच्छतामा नमुना बनाउने लक्ष्यका साथ आफूहरु अघि बढीरहेको बताएका छन् । मार्तडी बजारको अवस्था विगतको तुलनामा धेरै सुधार भइरहेको र स्थानीयले समेत सकारात्मक साथ सहयोग गर्नु पर्ने धारणा नगर प्रमुखको छ । 

उहाँले मार्तडी बडीमालिकाको केन्द्र मात्रै नभई बाजुराकै मुहार भएकोले यहाँका स्थानीयले अवसरको रुपमा लिनु पर्ने र पालिकाका तर्फबाट हुने सहयोगलाई पनि प्राथमिकतामा राख्ने बचन दिएका छन् । नगर प्रमुख खड्काले कालोपत्र गर्न बाँकी सडक यसैवर्ष सम्पन्न गर्ने र बजारमा सोलार बत्ती पनि केही समयमै जडान गरिसक्ने बचन दिएका छन् । समीक्षा ९ नम्बर वडा कार्यालयमा आयोजना गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस