बाजुरा : नेकपा एमाले बाजुराले १८ औं गणतन्त्र दिवसलाई जनउत्सव दिवसका रुपमा मनाएको छ । मार्तडी सदरमुकाम मार्तडीमा औपाचारिक कार्यक्रम आयोजना गरि दिवसलाई जनउत्सव दिवसको रुपमा मनाएको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । २३ वटा जनसंगठन, पार्टी केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीका उपलब्ध नेता कार्यकर्ता बोलाएर एमालेले उत्सवको रुपमा मनाएको हो ।
पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथि थिए । बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित जनउत्सव समारोहमा नेता कार्यकर्ताले गणतन्त्र प्राप्तिका लागि ज्यान गुमाउने सबै शहीदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
एमाले पार्टी संगठन विभाग प्रमुख अमर खड्काले सञ्चालन गरेको कार्यक्रमा नेकपा एकीकृत समाजवादी पार्टीका सचिव नीरबहादुर शाही पनि सहभागि थिए । एमाले बाजुराले जनउत्सव दिवसको अवसर पारी नेकपा एमाले गौमुल गाउँ कमिटीलाई उत्कृष्ट पालिका कमिटीको सम्मान प्रदान गरेको छ ।
पार्टी संगठन कमिटी मध्ये गौमुल गाउँ कमिटीले गरेको उत्कृष्ट कामलाई मूल्याकंन गर्दै सम्मान गरिएको अध्यक्ष लाबहादुर ओलीले बताएका छन् । पालिका कमिटीका तर्फबाट उपाध्यक्ष वीरेन्द्र बोहरा, र उपसचिव निर्मला बोहरालाई केन्द्रीय सदस्य लालबहादुर थापा र जिल्ला अध्यक्ष लालबहादुर ओलीले सम्मान प्रत्र प्रदान गरेका थिए ।
गौमुल गाउँकमिटीले २०७४ र २०७९ को संघ प्रदेश र पालिका निर्वाचनमा फराकिलो मतअन्तरले पार्टीलाई जिताउन योगदान पुर्याएको छ । पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओली सोही अवसरमा सबैलाई जिम्मेवार हुन र पार्टी संगठनलाई बलियो बनाउन आग्रह गरेका छन् । पद लिने काम नगर्ने र संगठनको जिम्मेवारी नलिई अवसरमा मात्रै पार्टीमा जोडिनेको आवश्यक छानवीन गरि सोच्नु पर्ने बेला आएको बताएका छन् ।
पार्टी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले पार्टी माथिको चौतर्फी घेराबन्दी तोड्न सबै लाग्नु पर्ने बताएका छन् । पार्टी संगठनका नेता कार्यकर्ता नेतृत्व र पार्टीमाथि घेराबन्दी हुँदा पनि केही नबोल्ने अवस्था आउनु दुखत विषय बनेको बताएका छन् ।
थापाले पार्टी भित्रको एकता बलियो बनाउनु पर्नेमा जोड दिँदै गणतन्त्र विरोधी समूहलाई परास्त पार्नु पर्ने बताएका छन् । गणतन्त्र वादीलाई खेल्ने अवसर पाउने अवस्था सिर्जना हुनुमा पार्टी भित्रको एकता नहुनु भएकोले त्यसलाई बलियो बनाउँदै लैजानु पर्ने सुझाव दिएका छन् ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । एमालेले मुलधारमा देखिएर गणतन्त्र रक्षाको संरक्षक बन्नु पर्ने रुपमा आफूलाई प्रस्तुत गरिरहेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।
प्रतिक्रिया दिनुहोस