बुधबार, २१ जेठ २०८२

बडीमालिका ३ का स्थानीयले भने– गाउँमा प्राविधिक र आधुनिक कृषि खेतीका लागि सीप चाहियो

बाजुरा : बडीमालिका नगरपालिका ३ का स्थानीयले बजेटलाई भन्दा प्राविधिक ज्ञान र सीप सिकाउने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । योजना मुखी कार्यक्रमले जीवनस्तरमा खासै परिर्वतन नगर्ने भएकोले सीप र प्राविधिक ज्ञान दिन पालिकालाई सुझाव दिएका हुन् ।

पालिकाले हेलो मेयर कार्यक्रम अन्र्तगत जनगुनासो सुनुवाईका लागि आयोजना गरिएको बार्षिक समीक्षा कार्यक्रमका सहभागिहरुले रजालीलाई कृषिको हबको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । खेतबारी बाँझै रहने र तरकारी खेतीका किसानहरु पनि घट्न थालेको विषयलाई गम्भीर रुपमा लिनु पर्ने सुझाव पूर्व वडा अध्यक्ष वीर बहादुर रावलको छ । रावलले गुजाराका लागि नभई पारिवारीक योजना सहीत तरकारी खेतीमा जोडिनु पर्ने सुझाव दिएका हुन् । 

बडीमालिका ३ रजाली जिल्लाकै कृषि खेतीको हब हो । तरकारी खेतीका लागि जिल्लाकै नमुना पकेक क्षेत्र हो । तर हाल त्यो अवस्थामा खस्कीदै गएकोमा स्थानीय चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पालिकाका तर्फबाट पशु र कृषि तर्फका प्राविधिकलाई वडामा पठाइ दिन आग्रह गरेका छन् । पालिकाका प्राविधिक वडा र किसानको खेतबारीमा कमै पुग्ने गरेको जनगुनासो छ । 

महिनाको एक पटक मात्रै भएपछि प्राविधिक ज्ञान र सीप दिने गरि वडामा पठाइदिन नगर प्रमुख र उपप्रमुखलाई आग्रह गरेका हुन् । कार्यक्रममा नगरप्रमुख अमर खड्का, र उपप्रमुख नन्दा कुमारी थापा सहभागि थिए । वडा अध्यक्ष डबल रोकायाले सडक, विद्यालय सहीतका संरचनाको कामलाई पनि निरन्तता दिएर बिशेष गरि कृषि खेतीमा नै जोड दिनु पर्नेमा बताएका छन् ।  

सडक संरचना, केही टोलमा खानेपानी बाहेक वडाका लागि तरकारी खेती र आम्दानीमुलक योजना नै आवश्यक हुने बताएका छन् । मार्तडी रजाली सडकलाई स्तरोन्नती गरि नियमित सुचारु गर्न नेपाली काँग्रेसका स्थानीय नेता हर्क विकले सुझाव दिएका छन् । केही स्थानीयले पालिका, वडा र गैर सरकारी संस्थाका कुनै कार्यक्रमको तालमेल नहुने भएकोले एकीकृत भएर योजना सञ्चालन गर्न सुझाव दिएका छन् । 

सिँचाइ सुविधा विस्तार गरेरै भएपनि तरकारीबाटै करोडौको आम्दानी गर्ने र आधुनिक तरकारी खेतीले आर्थिक श्रोत उपार्जनको प्रमुख व्यवसाय बनाउन लागि परेको पालिका प्रमुख अमर खड्काले बताएका छन् । रजाली खड्को गृह वडा समेत हो । उहाँले चोयाकोट माविलाई नमुना विद्यालयको रुपमा विकास गरिएको, सोही क्षेत्रलाई जिल्लाकै प्रमुख पिकनिक स्पोर्टस बनाउन लागिएको र त्योसँग अब उत्पादन समेत जोड्न बताएका छन् । 

नगर उपप्रमुख नन्दा कुमारी थापाले उत्पादनको क्षेत्रका रुपमा रजालीलाई देशव्यापी चिनाउने गरि पालिका लागि परेको र किसानको तर्फबाट पनि साथ सहयोग हुनु पर्ने बताएकी छन् । उहाँले रजाली र ढम्कनेका स्थानीयको मेहनत, सभ्यता र संस्कार अरुका लागि पनि सिकाइयोग्य हुनु पर्ने बताएका छन् । वडाका कर्मचारी विनिता रावलले सञ्चालन गरेको कार्यक्रममा दिपु न्यौपानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी हुन् । 

बडीमालिका ३ रजालीमा ८० प्रतिशत बढी योजना निर्माण सहीत भुक्तानी समेत भइसकेको समीक्षा कार्यक्रममा जानकारी गराइएको छ । स्थानीयले पालिकाका तर्फबाट आवश्यक योजना र बजेटमा रजाली प्राथमिकतामा परेकोमा धन्यवाद दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस