बाजुरा : बडीमालिका नगरपालिका २ का स्थानीय योजना छनोटमा राजनीतिक दलका प्रतिनिधीलाई पनि समावेश गर्न सुझाव दिएका छन् । पालिकाको हेलो मेयर कार्यक्रम अन्र्तगतको बार्षिक समीक्षा तथा जनगुनासो सुनुवाई कार्यक्रमका सहभागिले विकासमा राजनीतिक दललाई नै जिम्मेवार बनाउन सुझाव दिएका हुन् ।
योजना छनोट र कार्यान्वयनको जिम्मेवारी अधिकार वडा र पालिकाका जनप्रतिनिधीलाई भएपनि दलका नेताहरुलाई समेत जिम्मेवार र जवाफदेही बनाउनु पर्नेमा उनीहरुको जोड थियो । दलका नेताहरुले अनुकुल र प्रतिकुल हेरेर मात्रै जनप्रतिनिधीलाई सहयोग गर्ने परिपार्टी हाबी भएको अवस्थालाई सुधार गर्न र बुहदलिय व्यवस्थामा दललाई स्थान दिन हरेक कार्यान्वयन र निर्णय गर्ने अधिकारी जनप्रतिनिधीलाई दिएपनि सहभागि गराउन सुझाव दिएका हुन् ।
वडा अध्यक्ष डम्मर महतको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय नन्द खत्रीले पालिकाको क्रमागत योजनामा पालिकाकै जेसीबी प्रयोग गरिनु पर्ने, योजनालाई पारदर्शी बनाउनु पर्ने र उपभोक्ता समितिलाई जिम्मेवार बनाउन सुझाव दिएका छन् । उपभोक्ता समितिलाई सुशासन, योजना कार्यान्वयन र गुणस्तर बारे प्राविधिक ज्ञान हुने गरि तालिम दिनु पर्ने सुझाव स्थानीयको छ ।
विष्टवाडा मैमातोला खानेपानी आयोजनाको भुक्तानीको माग गरेका स्थानीयले खोलामा औषधी हालेर माछामार्ने क्रम नरोकिएको र भैसी पालन कार्यक्रमको उपलब्धी देखिन नसकेको गुनासो गरेका छन् । वडाको बार्षिक प्रगति र आगामी योजना बारे वडा सचिव वीरबहादुर विकले जानकारी गराएका हुन् ।
वडा भित्रका वन, विद्यालय र अन्य सार्वजनिक सरोकारका संस्थाहरुको अनुगमन र रेखदेख वडा कार्यालयबाट गरिनु पर्ने, र वडाले सञ्चालन गरेका कामलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले वडाले लगानी गरेपनि उपलब्धी भनेअनुसार नगरिएकोमा आक्रोश पोखेका छन् ।
विकासको नाममा निर्माणका कुरालाई मात्रै जोड दिँदा सामाजिक रुपान्तरण र सचेतनालाई ध्यानमा राखेर बजेटलाई पनि प्राथमिकता दिनु पर्ने सुझाव उनीहरुको छ । स्थानीयले सत्यवादी माविलाई आवासीय विद्यालय बनाउने प्रक्रिया बारे प्रश्न गरेका थिए, भने राष्ट्रपति रनिङ शिल्ड आयोजना २ नम्बर वडाले गर्न अवसर पाउनु पर्ने माग गरेका छन् ।
पालिकाले गर्ने काममा धेरै गुनासो नराखेका उनीहरुले जनप्रतिनिधीलाई नियमित भेटघाट र सम्पर्कमा आइरहन र जनताका समस्या बारे जानकारी लिइराख्न पनि आग्रह गरेका छन् । वडा अध्यक्ष डम्मर महतले वडामा उल्लेख्य विकास भएको र स्थानीयले धेरै राम्रो साथ सहयोग गरेको बताएका छन् ।
कृषि र पशु क्षेत्रका विज्ञ आउने, सुझाव दिने र पालिकाले लिएको उत्पादन नीतिलाई प्रभावकारी बनाउनु पर्नेमा जोड सहभागिको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं नगर उपप्रमुख नन्दा कुमारी थापाले पालिकाले वडाका स्थानीयका मागलाई नै संवोधन हुने र सुझाव नै कार्यान्वयन हुने गरि अघि बढ्ने वचन दिएकी छन् ।
उपप्रमुख थापाले बजेट अभावमा केही योजना बनाउन र माग संवोधन गर्न ढिलाई भएपनि पालिकाको सामथ्र्य अनुसार बजेट सबैवडालाई न्यायीक वितरण गरिने जानकारी गराएकी थिइन् । कार्यक्रम वडा कार्यालयमा आयोजना गरिएको थियो । वडा अध्यक्ष डम्मर महतका अनुसार पालिका र वडा अनि संघ र प्रदेशबाट आएका सबै योजना सम्पन्न हुने चरणमा पुगेको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस