बुधबार, २१ जेठ २०८२

बडीमालिका १ को बार्षिक समीक्षा : खानेपानी समस्या संवोधन गर्न माग, जिम्मेवार व्यक्ति नै इमान्दार हुनुपर्ने सुझाव

बाजुरा : बडीमालिका नगरपालिका १ का स्थानीयले जिम्मेवार व्यक्तिबाटै सरकारी काममा बेइमानी हुने गरेको गुनासो गरेका छन् । विकास निर्माणका कामको जिम्मेवारी लिएका र राज्यले सुविधा भोग गरेरका व्यक्तिहरु नै जिम्मेवार र जवाफदेही बन्न नसक्नु नै प्रमुख समस्या भएको बताएका हुन् । 

बडीमालिका नगरपालिकाले हेलो मेयर कार्यक्रम अन्र्तगत जनगुनासो सुनुवाईका लागि आयोजना गरेको बार्षिक समीक्षा तथा आगामी योजना छनोट विषयक छलफल कार्यक्रमका सहभागिले जिम्मेवार व्यक्तिलाई नै जवाफदेही बनाउनु पर्ने सुझाव दिएका हुन् । नेकपा एमाले बडीमालिका १ का वडा कमिटी अध्यक्ष दीलबहादुर विकले सुविधाका लागि भन्दा पनि स्वार्थका लागि मात्रै योजना बन्ने गर्दा विकास नदेखिएको धारणा राखेका छन् । 

२०५३ सालमा केयर नेपालले बनाएको खानेपानी अझै सञ्चालनमा रहनु पर्ने र अघिल्लो वर्ष बन्ने योजना मर्मतका लागि बजेट चाहिने कुरा नै गलत र बदनियतपूर्ण रहेको विकको भनाई छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य कृष्णराज उपाध्यायले योजना आफ्ना लागि भन्दा पनि पैसाका लागि मात्रै बनाउने परिपार्टी अन्त्य हुनु पर्ने सुझाव दिएका छन् ।

वडा अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागि महिला सहभागि हिरा कार्कीले दीर्घकालिन योजना बाहेकमा रकम छुट्याएर लगानी खर्च नगर्न आग्रह गरेकी छन् । वडाका चारवटै टोलमा खानेपानी समस्या रहेको भन्दै कार्कीले मर्मतका नामका केही व्यक्तिलाई लाभ हुने गरि भन्दा सिंगो वडालाई नै पानी पाउने गरि बजेटको माग गरेकी छन् । 

नगर प्रमुख अमर खड्का सहीतको उपस्थिति रहेको कार्यक्रममा स्थानीय बडीमालिका १ को समस्या नै पानी भएको बताएका छन् । सल्लेनाका स्थानीय परे कार्कीले सोलार प्रणालीबाट बनाएको खानेपानीको पनि मोटर बिग्रीएर अभाव सिर्जना भएकोले सुधारका लागि पालिकासँग अनुरोध गरेका छन् । 

सडक बाटो, स्वास्थ्य सेवा र प्रविधीमैत्री शिक्षाका लागि जोड दिएका सहभागिले नामका योजनालाई पालिकाले कटौटी गरि देखिने काम गर्न सुझाव दिएका छन् । जाल्पादेवी माविका विव्यस समिति अध्यक्ष समेत रहेका पूर्व वडा सदस्य विश्वराज पण्डितले शैक्षिक क्षेत्रको सुधारका लागि इमेल इन्टरनेट सहीतको सुविधामा पालिकाले ध्यान दिनु पर्ने र स्कुलबाटै गर्नुपर्ने अवस्था भएपनि जानकारी गराउनु पर्ने सुझाव दिएका छन् ।

जैशीडाँडा आधारभुत विद्यालयका प्रअ डबल दानीले विद्यालयमा कम्प्यूटर शिक्षा सञ्चालन गर्न शिक्षकहरुले आफ्नै लगानीमा ल्याप्टप किनेर कक्षा सुरु गर्ने तयारी गरिएको बताएका छन् । खानेपानीको पाइपलाईन देखि टुटीसम्म र सानो पर्खाल सुधारमा समेत पालिका सम्झीने प्रवृत्ती अन्त्य गर्नु पर्ने र जिम्मेवार व्यक्ति नै जवाफदेही हुनु पर्ने धारणा राखेका छन् ।

वडा कर्मचारी मदन दानीले सञ्चालन गरेको कार्यक्रममा प्रगति प्रतिवेदन वडाका प्राविधिक जनक कार्कीले प्रस्तुत गरेका थिए । भने वडा सदस्य ईश्वर भण्डारीले स्वागत मन्तव्य सहीत उदेश्य बारे जानकारी गराएका थिए । वडा अध्यक्ष कृष्ण बहादुर कार्कीले उपलब्धी ग्यारेन्टी नहुने योजनामा बजेट खर्च नगर्ने बताएका छन् । उहाँले कर्मचारी नै नियमित नबस्ने र भनेजस्तो सेवा प्रवाहमा शिक्षक, कर्मचारी सबैले जिम्मेवार नहुने कुरा दुखत भएको बताएका छन् । 

नगर प्रमुख अमर खड्काले बडीमालिकाको शिक्षा, स्वास्थ्य र सडकसँगै उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । उहाँले बडीमालिकाको उत्पादन र उद्यम विश्व बजारमा विकाउने लक्ष्य सहीत आगामी योजना छनोट गरिने जानकारी गराएका छन् । उहाँले कार्यालयमा नबस्ने र जिम्मेवार नहुने शिक्षक कर्मचारी, स्वास्थ्य कर्मीको विवरण नै तयार गरि  मूल्याकंनको आधार बनाउने बताएका छन् । 

यस्तै वडामा जनप्रतिनिधी नबस्ने गुनासो बढीरहेकोले त्यसलाई संवोधन गर्न समेत जनप्रतिनिधीलाई आग्रह गरेका छन् । पालिकाले सबैवडामा बार्षिक समीक्षा तथा जनगुनासो सुनुवाईका लागि हेलो मेयर अन्र्तगत कार्यक्रम आयोजना गरिरहेको छ । वडाले योजना निर्माणको ८० प्रतिशत काम सकिसकेको बताएको छ । कार्यक्रम वडा कार्यालयमा आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस