बाजुरा : बडीमालिका नगरपालिकाले ७ ले वडाको प्रगति समीक्षा तथा योजनातर्जुमा कार्यक्रम सञ्चालन गरेको छ । वडा र पालिकाले सञ्चालन गरेका कार्यक्रम र योजनाको प्रभावकारीता तथा उपलब्धी बारे समीक्षा गर्न कार्यक्रम आयोजना गरिएको हो ।
आर्थिक वर्षको समीक्षा र आगामी वर्षको योजना बारे छलफल गर्न कार्यक्रम गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । दलका प्रतिनिधी, विद्यालयका प्रअ, स्वास्थ्य चौकी इन्चार्ज सहीत कर्मचारी, योजना तथा उपभोक्ता समितिका अध्यक्ष सहीत पदाधिकारी र सर्वसाधारणको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको हो ।
नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा सहीतका व्यक्तिहरुको उपस्थितिमा समीक्षा कार्यक्रम सञ्चालन गरिएको वडा सचिव सरिता ठगुन्नाले जानकारी दिएकी छन् । वडाले यो वर्ष प्रदेश सरकारको १ करोड १३ लाख ८ हजार, बडीमालिका नगरपालिकाको ३५ लाख ५० हजार र वडाको २४ लाख बजेट कार्यान्वयन गरेको छ ।
कुल योजना मध्ये ८० प्रतिशत निर्माण सम्पन्न भइ भुक्तानी समेत भइसकेको र बाँकी जेष्ठ भित्रै सकिने वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । वडाको समीक्षा कार्यक्रममा सहभागिले योजनाको दीगोपन र स्थायित्वमा जोड दिएका छन् ।
हरेक वर्ष आयोजना माग्ने र कमाइ खाने प्रवृत्ती मात्रै हाबी हुने विषय चिन्ताजनक बनेकोमा नेपाली काँग्रेस वडा कार्यसमिति सभापति गोरखबहादुर धामीले दुख व्यक्त गरेका छन् । सरकारकै मुख ताक्ने, पाइप लाइन समेत बनाउन पैसा माग्नु पर्ने, योजनामा कसैको अपनत्व नहुने कुराको अन्त्य गरिनु पर्ने माग उनले गरेका छन् ।
अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख अमर खड्का र विशिष्ठ अतिथि नन्दा थापा थिए । उहाँहरुकै अगाडि स्थानीयले पैसा कमाउनकै लागि पानी नभएको ठाउँमा खानेपानी र सिँचाई, भवन आवश्यक नभएको ठाउँमा भवन, काम नगर्ने र कागज देखाउने गरि अनुदान माग्ने प्रवृत्तीको अन्त्यका लागि सुझाव दिएका छन् ।
पालिका अस्पताल भवन सञ्चालनमा ल्याउनु पर्ने, विद्यालयको भवन जाने बाटो, बर्षादमा चाहिँने काठे पुल बारे पनि समयमै बजेट विनियोजन गरेर काम अघि बढाउन सुझाव दिएका छन् । शैक्षिक सुधारमा बिशेष ध्यान दिन र खानेपानीको समस्या भएको टोलहरुलाई बजेटमा प्राथमिकतामा राख्ने पनि उनीहरुको सुझाव छ ।
वडा सचिव सरिता ठगुन्नाले सञ्चालन गरेको कार्यक्रममा स्थानीयले संघ र प्रदेशबाट आउने योजनालाई रोक्न समेत अनुरोध गरेका छन् । सबैभन्दा बढी सिँचाइका नाममा जिल्ली, रजातोलीमा करोडौंको रकम खर्च गरिएपनि सिँचाइ र उत्पादनका लागि कुनै काम नलागेको आक्रोश समेत व्यक्त गरेका छन् ।
उनीहरुले वडा कार्यालय भवन निर्माणको टुंगो लगाउन, पोरखे वन क्षेत्रको सीमा विवाद हल गर्न, गणित र विज्ञान विषयका शिक्षक नियुक्ती हुने र जानेक्रमको समस्याले पढाइमा परेको प्रभावलाई संवोधन गर्ने गरि पालिका भित्रै नीति बनाउन पनि सुझाव दिएका छन् ।
समीक्षामा वडा अध्यक्ष धर्मराज पाध्याय, कृषि उत्पादन, शैक्षिक सुधार र पर्यटन विकासमा उल्लेख्य सुधार भएको र खानेपानी, सिँचाई सहीतका समस्यालाई पनि एकपछि अर्को संवोधन गर्दै गएको बताएका छन् । नगर उपप्रमुख नन्दा कुमारी थापाले योजनालाई आफ्नो भन्ने मान्यता राख्न सुझाव दिएकी छन् ।
योजना मेरो हो, मेरा लागि हो भन्ने कुरामा कोही नलागेको र सकेसम्म गुनासा र समस्या मात्रै देखाउने गरेको विषयले निराशा मात्रै फैलाउने भएकोले योजनामा अपनत्व बढाउन आग्रह गरेकी छन् ।
नगर प्रमुख अमर खड्काले वडा कार्यालय निर्माण र सीमा समस्या हल गर्ने विषयमा आफूहरु जिम्मेवार रहेको बताएका छन् । नगर पालिकाले गर्न सक्ने र सामथ्र्य अनुसार मात्रै योजना छनोट गर्ने र कार्यान्वयन गर्ने नीति लिएकोले उत्पादनमै जोड दिएका छन् । बडीमालिकाले सकेसम्म निर्यातका लागि उत्पादन गर्ने र नभए आफ्ना लागि आफै उत्पादन गर्ने नीतिलाई सफल बनाउन र शैक्षिक सुधारमा प्रतिवद्ध हुन आग्रह गरेका छन् ।
हलो मेयर कार्यक्रम अन्र्तगत वडा कार्यालयको आयोजनामा गरिएको समीक्षा कार्यक्रममा आगामी बजेटमा जनताको आवश्यकता र मागलाई संवोधन गर्ने प्रतिवद्धता नगर प्रमुख खड्काले गरेका छन् । ५० बढी सरोकारवाला सहभागि कार्यक्रममा केहीले गाउँमा आउने योजना केही व्यक्तिका निजी जस्ता हुने र काम गरेको समेत रकम नदिने गरेको गुनासो समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस