कुन वायुसेवाको यान अर्थात् हवाईजहाज (प्लेन) थियो, त्यसको उल्लेख यहाँ गरिएन (तिनको बजार प्रतिष्ठामा आघात पुग्ने भएकाले नाम भन्न मिलेन) । नेपालगञ्ज विमानस्थलमा झण्डै तीन घण्टाको कुराइपछि हामीमा आशाको सञ्चार भएको थियो । दिउँसोको करिब १ बजेतिर वायुसेवा कम्पनीद्वारा जानकारी गराइयो– प्लेन अब ताल्चा (मुगु)बाट आउँदै छ । कोल्टी जाने यात्रु चेकइन काउन्टरतर्फ बढनुहोस् ।
हाम्रो नेतृत्व गरिरहेका थिए, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाहले । अर्जुनले हामी सबैको बोर्डिग पास लिए । हामी प्लेनतिर बढयौँ । १९ सिटे प्लेन । सबै सिटमा यात्रु थिए, यस अर्थमा प्लेन भरिभराउ थियो । नम्बर नदिइएकाले कुनै पनि यात्रु कुनै पनि सिटमा बस्न स्वतन्त्र थिए । हामीले पनि स्वतन्त्रता रौज्यौँ । जसले जहाँ उचित ठान्यौँ बस्यौँ । उक्त उडानमा अर्जुनलगायत म, वरिष्ठ पत्रकार हरिबहादुर थापा, पत्रकारहरू बझाङका वसन्तप्रताप सिंह, कैलालीका मुकेश टेर्रार डडेल्धुराका नवराज भण्डारी थियौँ । यो यात्रा संयोजनका लागि म अर्जुनप्रति आभार व्यक्त गर्न चाहन्छु ।
ओहो ! कस्तो खतरनाक !! यो के देखिरहेको छु ? आफैँभित्र एउटा प्रश्न जन्मियो– यो प्लेन यही अवस्थामा कसरी उड्छ ? कसरी कोल्टी पुग्छ ? कुनै पनि सिट सुरक्षित थिएनन् । सिटका बेल्टले काम गरेका थिएनन् । झ्यालको सिसा फुटेर कुटको गत्ताले छोपेको । कतिपय ठाउँमा डोरीले बाँधेको । मलाई लाग्छ, मैले स्वदेश र विदेशमा गरी थुपैपटक विमान सेवा प्रयोग गरेको छु, तर आफ्नो जीवनमा कुनै पनि विमानको अवस्था यस्तो देखेको थिइनँ । मलाई ताज्जुब लाग्यो, के नियामक निकायलाई यो कुरा थाहै नभएको हो कि थाहा पाएर पनि बुझ पचाएको हो ? कुनै पनि अवस्था होस्, त्यो त सर्वसाधारण यात्रुको जीवनसँग खेलबाड गरिएको हो नि ।
बाजुराको कोल्टीसम्मको यो यात्रा थियो ११ फागुन २०७७ को । त्यसपछि मैले कोल्टीको हवाई यात्रा गरेको छैन । त्यसैले अहिलेको हवाई यात्राको अवस्था कस्तो छ, त्यो मलाई थाहा छैन । तर, मलाई के थाहा छ भने यस रुटमा उडान भर्ने सर्वसाधारणले यस्तो बेथितिबारेको गुनासो गर्न सक्दैनन्, किनभने उनीहरूलाई भय छ– गुनासो गरिएको खण्डमा यातायातको एक मात्र साधन प्रभावित हुन सक्छ । वायुसेवा कम्पनीले त्यसपछि उडान नगर्न पनि सक्छन् ।
हामी नेपालगञ्जबाट उडेपछि प्लेनमा रडाको मच्चिएको थियो । प्लेन दायाँबायाँ कोल्टे फेर्दा वा हल्लिँदा अनेकौँ यात्रुको सानो मुखबाट ठूलो चिच्याहटको आवाज सुनिन्थ्यो । यात्रुहरू कराउँथे । हल्लिँदा प्लेनमा समाउने कुनै उपयुक्त ठाउँसमेत नहुँदा यात्रु आत्तिनु स्वाभाविक नै थियो । कतिपयले भगवान्को नाम जप्दै हातले माला घुमाएको पनि देखियो ।
हाम्रै टोलीका केही सदस्यको अवस्था ठीक थिएन । जेहोस, प्लेनभित्रको यस्तो विकट दृश्यका बावजुद बाहिरको सुन्दर प्राकृतिक दृश्यले मलाई बारम्बार आकर्षित गरिरहेको थियो र मेरा आँखा पटकपटक झ्यालका सिसा छेड्दै बाहिरका डाँडाकाँडा, खोलानाला, फाँटबेँसीसँग ठोक्किन्थे । मस्तिष्कले प्रतिक्रिया व्यक्त गर्थ्यो– आहा ! कति सुन्दर छन् यी ठामहरू । तर, आवागमनमा सुगमताको अभावका कारण विकट मानिन बाध्य छन् । यी ठामलाई पनि राज्यको मूलधारमा समावेश गर्न सकिए कस्तो हुँदो हो ?
कोल्टीमा अवतरण, विमानस्थलमा स्वागत
यस्तैयस्तै सोचिरहेको अवस्थामै धनगढीबाट करिब ३ सय ६५ किलोमिटरको सडक दूरीमा अवस्थित कोल्टी विमानस्थलमा नेपालगञ्जबाट उडेको करिब आधा घण्टामा प्लेन अवतरणको तैयारीमा रहेको जनाउ प्राप्त भयो । कोल्टीमा जहाज अवतरण हुँदा ज्यान फर्किएको अनुभूति जीवनकै लागि महत्त्वपूर्ण छ । यो विमानस्थलले पूर्वोत्तर बाजुरा र कर्णालीका हुम्ला, मुगु र कालीकोट क्षेत्रका बासिन्दालाई सेवा प्रदान गरिरहेको छ । यस अर्थमा बाजुराको कोल्टीे विमानस्थलको निकै ठूलो महत्त्व छ ।
विमानस्थलमा बाजुराका अग्रज पत्रकार दयाराम पण्डित, निमेन्द्र शाही, छक्क मल्ल, अनिल शाही, शर्मिला रोकाया, जीवन कैला, गगन अएडी, धर्म पाध्या, वसन्त विकलगायत बाजुराका अन्य पत्रकारको उपस्थिति थियो । फूल, माला र अबिरको स्वागतले मलाई निकै गम्भीर र भावुक बनाएको थियो ।
विमानस्थलबाट हामी छेवैमा रहेको होटल सत्कारतर्फ लाग्यौँ । हाम्रो आजको रात्रि विश्राम यहीँ हुने निश्चित थियो । मेरो र हरिको एउटै कोठा । सायद सत्कार होटलमै बुुढीनन्दा नगरपालिकाका तत्कालीन प्रमुख पदम गिरीको पनि आवास थियो ।
पूर्वोत्तर पहाडको पारम्परिक व्यापारिक नगर
कोल्टी बाजुराको उत्तरी क्षेत्रमा अवस्थित पुरानो सभ्यता हो । बाजुरालाई हुम्ला, मुगु र कालीकोटसँग जोड्ने यो सानो बस्ती त्यस क्षेत्रको परम्परागत व्यापारिक नगर पनि हो । यस बस्तीले वर्षौंदेखि बाजुराको उत्तरी क्षेत्रलगायत सीमावर्ती हुम्ला, मुगु र कालीकोटको आवश्यकता पूरा गर्दै आएको छ । हुम्लाबाट बग्दै आउने हुम्ला कर्णाली र मुगुबाट आउने मुगु कर्णाली कोल्टीबाट करिब ४५ किलोमिटर उत्तरमा अवस्थित दोमुखा भन्ने ठाउँमा मिसिन्छ र कर्णालीमा रूपान्तरित हुन्छ । यही कर्णाली नदी कोल्टी बजारको छेवैबाट अगाडि बढ्छ र कालीकोट हुँदै अछाम तथा दैलेखलाई छुट्याउँदै कैलालीको चिसापानी पुग्छ ।
बाजुराको सदरमुकाम २०३४ सालमा टाँटेबाट मार्तडी सरेको कुरा बाजुरा घर भएका हाम्रो टोलीनेता अर्जुनले जानकारी गराए । उनका अनुसार टाँटे जिल्लाको दक्षिणी क्षेत्र हो । दक्षिणी क्षेत्र अछामसँग जोडिएको छ । अहिलेको सदरमुकाम मार्तडी जिल्लाको बीच भागमा पर्ने भएकाले त्यहीँ सदरमुकाम सारिएको हो र कोल्टीमा विमानस्थल बनाएर सन्तुलन मिलाइएको हो । अहिले कोल्टी बजार बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकाको संयुक्त केन्द्र हो भन्दा अतिशयोक्ति हुँदैन । यी चारवटै स्थानीय तहका लागि कोल्टीको समान महत्त्व छ ।
होटलमा हामी सबैले आफ्नो स्थान सुरक्षित गर्दै झोला बिसाउँदै कोठाबाहिर निस्कियौँ । हाम्रो टोली नेताले चियाको निम्तो दिँदै एकछिन घुम्ने जनाउ दिए । उनको भनाइ थियो, 'जति सकिन्छ आजै घुमौँ, भोलिको दिन व्यस्त भइएला, घुम्न भ्याइन्छ कि भ्याइन्न, टुंगो छैन ।'
उनको चिन्ता स्वाभाविक थियो । हामी यहाँ आउने मूल काम अर्कै थियो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वामीकार्तिक गाउँपालिकासँगको सहकार्यमा एकदिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । म र हरिले उक्त कार्यक्रमको सहजीकरण गर्नुपर्ने थियो ।
चियापानपछि हामी होटलबाट बाहिरियौँ । हिमाली जिल्लाका रूपमा परिचय बनाएको बाजुराको उत्तरी क्षेत्रमा अवस्थित कोल्टी । आँखासामुन्ने विकट भूगोलको उपस्थितिलाई असामान्य मान्नुपर्ने कुनै कारण थिएन । नदी किनारको बस्ती । बाटाभरि ढुंगैढुंगा । खाल्डाखुल्डीका बीच उकाली ओराली । रोमाञ्च त स्वाभाविक नै थियो नि । अहिले त बजार क्षेत्रमा ढलान सडक निर्माण गरिएको थाहा पाएको छु ।
चित्ताकर्षक पहाडी दृश्यले मेरा अहिलेसम्मका सबै अवलोकनलाई झुटो सावित गर्ने प्रयत्न गरिरहेको थियो । म दायाँबायाँका पहाड, खोलानाला र बीचमा ज्युला (धान गहुँजस्ता अन्नबाली राम्रो उब्जने जग्गाा) हरू हेर्दै अगाडि बढिरहेको थिएँ । कोल्टी बजारमा गाडी कुदेको देखियो । यी गाडीहरू यहाँबाट मार्तडी र हुम्ला तथा मुगुतर्फ केही परसम्म जान्छन् । कर्णालीलगायतका खोलाहरू तर्ने व्यवस्थित पक्की पुल नहुँदा यहाँ गाडीको यात्रा सहज नभएको त्यत्तिकै अनुमान गर्न सकिन्थ्यो । कोल्टी बजार र आसपासका क्षेत्रमा त्यसबेला झोलुंगे र काठे पुलको आधिक्य थियो ।
कर्णालीमा रोमाञ्चक जलयात्रा
दिउँसोको करिब ३/४ बजिरहेको थियो । सँगै रहेका अर्जुनले भने, 'दाइ, अब कर्णालीमा जलयात्रा (र्याफ्टिङ) गर्ने हो ।' म बडो उत्साहित भएँ । मैले अनुभव गरेँ, यो सूचनापछि म मात्रै होइन, हाम्रो टिमका सबै नै उत्साहित थिए । हामीले हिमाली गाउँपालिकाको धुलाचौरबाट स्वामिकार्तिकको पिलुचौरसम्म करिब १२ किलोमिटर कर्णाली नदीमा रोमाञ्चक जलयात्रा गरेका थियौँ ।
त्यस जलयात्राको संयोजन स्वामीकार्तिक खापर गाउँपालिकाका तत्कालीन अध्यक्ष चीरञ्जीवी शाहीले गरेका थिए भने पत्रकार अनिल शाही र पर्यटन व्यवसायी जनेश भण्डारीको सहयोगी भूमिका महत्त्वपूर्ण थियो । मेरा लागि जीवनकै पहिलो जलयात्रा थियो यो । मैले यसअघि र्याफ्टिङ देखेको मात्र थिएँ । सहभागी हुने अवसर मिलेको थिएन । डर, उत्साह र रोमाञ्चका बीच त्यो १२ किलोमिटरको यात्रा कुन बेला सकियो, पत्तै भएन । सुरक्षा ज्याकेट र हेलमेट लगाएर मैले पनि एकाधपटक डुंगाको बहना खियाउने प्रयत्न गरेको थिएँ । बडो पृथक अनुभव थियो त्यो ।
यसअघि र्याफ्टिङको तयारी हुँदै गर्दाको बखतको एउटा कुरा सम्झन्छु । प्रिय हरि अलि डराएजस्तो लाग्यो । र्याफ्टिङका लागि हरि खासै इच्छुक देखिएका थिएनन् । तर, सबैले कर गरेपछि उनी पनि तयार भएका थिए । त्यसो त र्याफ्टिङका लागि मलाई पनि डर नलागेको कहाँ हो र ? कर्णाली नदीको त्यो १२ किलोमिटर जलयात्रा कति रोचक र रोमाञ्चक थियो भन्ने कुराको बयान लेखेर गर्न सकिँदैन । दुवैतिर भीमकाय चट्टानी पहाड, गाउँहरू लगभग शून्य, अति एकान्त, अत्यासलाग्दो भूगोल । त्यसमाथि कर्णाली नदीको उछाल । बाफरे ! र्याफ्ट हुत्तिएर पर पुुग्ने डरलाग्दो अनुभूति । असाध्यै रोमाञ्चक र अविस्मरणीय रह्यो त्यो अनुभव ।
बडो अनौठो संंयोग । र्याफ्टिङ पूरा भएपछि हामी डुंगाबाट ओर्लेर पिलुचोरको बगरमा हिँड्न संघर्ष गरिरहेकै बखत सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गरेको समाचार हाम्रो कानमा परेको थियो । देशले अब नयाँ राजनीतिक कोर्स लिने कुरामा कुनै शंका थिएन । हाम्राबीच यही कुरामा व्यापक चर्चा चलेको म यतिखेर सम्झन्छु । संसदीय मामिलाका विज्ञ पत्रकारका नाताले हरिको टिप्पणी हाम्रा लागि निकै महत्त्वपूर्ण थियो । हामी उनैको कुरा सुनिरहेका थियौँ ।
स्वामीकार्तिक गाउँपालिकाले स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्णालीमा र्याफ्टिङ सेवा सञ्चालन गरेको रहेछ । त्यसो त यसलाई गाउँपालिकाको एक महत्त्वपूर्ण प्रयासका रूपमा हेरिनु उचित हुन्छ तर सबैभन्दा महत्त्वपूर्ण कुरो त के भने पर्यटकलाई यहाँसम्म ल्याउने कसरी ? सम्बद्ध सबै तहका सरकारले यसबारे गम्भीर हुनु जरुरी छ । हामीले जलयात्रा सम्पन्न गर्दा साँझको करिब साढे ६ बजेको थियो ।
भोलिपल्ट अर्थात् १२ फागुन । हामी बिहान होटलबाट निस्कियौँ र केही बेर कोल्टी घुम्यौँ । सरकारले यस क्षेत्रमा बुढीनन्दा नगरपालिका कायम गरेको छ । यो उचित हो कि होइन ? त्यसबेला बहसकै विषय थियो । आजको अवस्थाबारे म जानकार छैन । बजारका नाममा केही पसल । केही पुराना मोडेलका ढुंगा र स्लेटले छाएका घरहरू । तर, बिस्तारै बजारको विस्तार भइरहेको हो कि भन्ने भान भने हुन्थ्यो ।
बाटैमा कतै खाना खाएर हामी करिब साढे १० बजेतिर स्वामीकार्तिक खापर गाउँपालिकाको कार्यालय पुगेका थियौँ । यहाँ हामीले पूर्वनिर्धारित कार्यक्रमअनुसार पत्रकार अभिमुखीकरण कार्यक्रमको अपराह्न करिब ४ बजेसम्म सहजीकरण गरेका थियौँ । कार्यक्रममा माथि मैले चर्चा गरेका पत्रकारका अतिरिक्त महेश कार्की, कालिका उपाध्याय, उमेश शाही, पदम सिंह, वसन्त विक, मुगुका कमल कार्कीसहित थुप्रै पत्रकारको सहभागिता थियो । साँझ गाउँपालिकाले आयोजना गरेको स्वागत समारोहमा सरिक भई भोजनको कार्य सम्पन्न गरी करिब ७ बजेतिर होटल फर्केका थियौँ ।
कर्णाली किनारका पाखाभरि जैतुनको घारी
आजको पैदल यात्राका क्रममा झोलुंगे पुलको प्रयोग त महत्त्वपूर्ण थियो नै, एउटा कुराको दृश्यावलोकन अझै महत्त्वपूर्ण थियो– कर्णाली किनारका पाखाभरि जैतुन अर्थात् लौठ अर्थात् ओलिभको घारी । मैले २०६७ सालताका लेवनान जाँदा पहिलोपटक जैतुनको खेती देखेको थिएँ ।
यो वनस्पति आजको विश्वमा निकै महत्त्वपूर्ण मानिन्छ । मूलतः स्वस्थकर खाने तेलका लागि प्रयोग हुने जैतुन नेपालमै पनि यति विशाल परिमाणमा उपलब्ध छ भन्ने कुरा मेरो अनुमानभन्दा परको कुरो थियो । मैले यसबारे निकै जिज्ञासा राखेको थिएँ । पत्रकार निमेन्द्र शाहीले मेरा जिज्ञासाको सम्बोधनको प्रयत्न मात्र गरेनन्, बरु केही लेख्य सामग्री पनि उपलब्ध गराएर मलाई गुन लगाउने कार्य गरे । म उनीप्रति आभार व्यक्त गर्न चाहन्छु ।
जैतुन खेतीको सम्भावना बोकेका नेपालका दश जिलामध्ये बाजुरा पनि एक मानिन्छ । जंगली वनस्पतिका रूपमा कोल्टी क्षेत्रमा जैतुन अर्थात् लौठको अस्तित्व परम्परागत रूपमा रहिआएको स्थानीयहरू बताउँछन् । यो फल र यसको तेल दैनिक खाद्यान्नका रूपमा प्रयोग हुनुका साथै क्यान्सर र छालासम्बन्धी रोगको उपचारमा पनि सहायक हुने विश्वास गरिन्छ ।
विज्ञका अनुसार यो निकै लामो समयसम्म जीवित रहने वनस्पति हो । एकपटक यसको बोट हुर्केपछि निकै लामो समयसम्म यसबाट लाभ लिन सकिन्छ । पछिल्लो समयमा यहाँ जैतुन खेतीको विकास र प्रवर्द्धनका लागि सरकारीस्तरबाट केही प्रयास भएको देखिए पनि त्यसबाट अपेक्षित परिणाम भने प्राप्त हुन सकेको छैन । यतिचाहिँ हो, कर्णाली काखको कोल्टीको चट्टानी पहाडका बीच जैतुन यस्तो वनस्पति बनेको छ, जसले यहाँ हरियाली छरेको छ ।
निमेन्द्रका अनुसार कृषि उत्पादनका सन्दर्भमा अधिकांश समय संकट व्यहोर्न बाध्य बाजुराको पूर्वोत्तर क्षेत्रमा व्यावसायिक रूपमा जैतुन खेतीको विस्तार गर्न सरकारद्वारा इटालीको टुसिया विश्वविद्यालयको सहयोगमा यहाँ नेपालकै पहिलो जैतुन अनुसन्धान केन्द्र स्थापित छ तर संरक्षण हुन नसक्दा केन्द्रले राम्ररी काम गर्न सकेको छैन । परिणामतः जैतुनका बोटमा कीरा लागेर उत्पादन प्रभावित भइरहेको छ ।
कोल्टीबाट मार्तडीतर्फको यात्रा
यात्राको तेस्रो दिन अर्थात् १३ फागुन । हामी बसेकै होटलमा बुढीनन्दा नगरपालिकाका मेयरले संक्षिप्त भेटघाट कार्यक्रम आयोजना गरेका थिए । सामान्य कुराकानी भयो । उनले आफ्नो कुरा हतारहतार राखे । हामीले पनि आफ्ना जिज्ञासा राख्यौँ । चियापान भयो । हामीलाई पनि हतार थियो । आज हामीले सदरमुकाम मार्तडीतर्फ प्रस्थान गर्नु थियो । एकछिनपछि हामी अर्जुनको पछाडि लाग्यौँ । उनले व्यवस्था गरेका दुईवटा गाडी (जिप)मा हामी कसै गरी व्यवस्थित भयौँ ।
कोल्टीबाट प्रस्थान गर्दा बिहानको सायद ८ बजेको थियो । त्यसो त दुई वर्षपहिले मैले बाजुराको भूगोल टेकेको हुँ । साँफेहुँदै मार्तडीसम्मको यात्राको अनुभव मलाई थियो तर कोल्टीको भूगोल मेरा लागि नितान्त फरक थियो । एक त कोल्टी नै नयाँ, त्यसमाथि अब कोल्टीबाट मार्तडीका लागि जाने बाटो र भूगोल त झन् नयाँ ।
जिल्लाको पूर्वोत्तर भेग जोड्ने ४२ किलोमिटर लामो कोल्टी– मार्तडी सडकको शिलान्यास भएको करिब २५ वर्ष भए पनि यहाँ बस सेवा सञ्चालनमा आउन सकेको थिएन । साविकका १२ गाविस र हालका चार पालिकाका नागरिकले सधैँ आवतजावतमा सास्ती भोग्दै आएका थिए ।
संघीयतापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडकका रूपमा आव २०७४/७५ माकोल्टी–मार्तडी सडकका लागि बजेट विनियोजन गरेको थियो । गत २६ पुसदेखि भने यस सडकमा बस सेवा सञ्चालन भएको जानकारी मलाई पत्रकार प्रेम रौलेले मार्तडीबाट टेलिफोनमार्फत गराएका थिए । उनले मसँग खुसी साट्दै भनेका थिए, 'दाइ, तपाईंहरू कोल्टीबाट जुन बाटोहुँदै मार्तडी आउनुभएको थियो, त्यसमा आजदेखि बस चल्न सुरु भएको छ नि ।'
वीरसैनका कवि कृष्णदत्त
हाम्रो गाडी कोल्टीका ज्युलालाई तल पार्दे कच्ची बाटोबाट माथि उकालो उक्लिन थालेको थियो । दानसाँघु खोला कटेपछि चाफारुख, कारकेला हुँदै हामी बुढीनन्दा– ५, वीरसैन आइपुग्दा एउटा गाडीमा धुवाँ देखियो र त्यो धुवाँ गाडीभित्र पनि फैलियो । गाडी त्यहीँ रोकियो । अब कोल्टीबाट अर्को गाडी आएपछि मात्र हाम्रो अगाडिको यात्रा सम्भव हुन सक्थ्यो । त्यतिञ्जेल त्यहीँ कुर्नुको अर्काे विकल्प थिएन । हामी टाइमपासको मुडमा चिया पसल खोज्न थाल्यौँ ।
यसै क्रममा एक जना पाका व्यक्तित्वसँग भेट भयो । उनी थिए कृष्णदत्त पाध्या, जो एक प्रकारले आँसुकवि थिए । उनी जे कुरा पनि पनि पद्यात्मक शैलीमा भन्न सक्ने क्षमता राख्थे । हामीले निकै बेर उनका कुरा सुन्यौँ । हामी पत्रकार हौँ भन्ने थाहा पाएपछि उनले पत्रकारकै बारेमा एक कविता सुनाए–
'एक पत्रकार साउने गाउँका एक पत्रकार छापु ।
हाम्रा कुडा बेचिकन पेट पाल्दा छौ आफू ।।'
खासमा बाजुरामा साउने गाउँ (कोल्टी) र छापु गाउँ (वाई) दुई यस्ता गाउँ हुन्, जहाँका एक/एक जना पत्रकार यहाँ सक्रिय छन्– साउनेका सर्पलाल गिरी र छापुका गंगराज गिरी । पाध्याले तिनै दुई पत्रकारलाई आधार बनाएर आफ्नो अभिव्यक्ति सटिक रूपमा प्रस्तुत गरेका थिए ।
हो नि, पत्रकारले अर्काकै कुरा बेचेर त आफ्नो पेसा जोगाउँछ । अर्काको कुरा लेख्न सकेन भने त पत्रकारले पत्रकारिता गर्नै सक्दैन । म पाध्याका यी दुई पंक्तिबाट यति प्रभावित भएको छु कि त्यसपछि सहजीकरण गरेको पत्रकारिताको सबैजसो प्रशिक्षणमा मैले उदारहणका रूपमा यो दृष्टान्त प्रस्तुत गर्ने गरेको छु ।
पाध्यासँग यस्तै रमाइलो कुराकानी भएको थियो । समय बितेको पत्तै भएन । करिब १० बजेतिर गाडी आइपुग्यो । हामीले फेरि यात्रा प्रारम्भ गरेका थियौँ । वीरसैन, कोल्टी–मार्तडी सडकले छोएको गाउँ हो, जहाँ गर्न सके तरकारी खेती र अन्नबालीको प्रशस्त सम्भावना छ । वीरसैनबाट गाडी जतिजति अगाडि बढिरहेको थियो, उकालो पनि उतिउति बढ्दै थियो । पहाडका आकार पनि क्रमशः बढिरहेको भान हुन्थ्यो । जंगलका रुखका आकार पनि परिवर्तित भइरहेका थिए । अब सल्ला र देवदारका रुखहरू बढी देखिन थालेका थिए । यसको अर्थ हो, हिउँदमा यी ठाउँमा बाक्लै हिउँ पर्छ ।
पोरखेमा खानापछि भेडासँग भेट
वीरसैनबाट अगाडि बढेपछि स्यालकाटियाहुँदै हामी पाण्डुसैन आइपुगेका थियौँ । सशस्त्र द्वन्द्वकालमा दुईपक्षीय भिडन्तका कारण यो ठाउँ त्यसबेला निकै चर्चामा आएको म सम्झन्छु । तुलनात्मक रूपमा उचाइमा अवस्थित समथरजस्तो देखिने पाण्डुसैन स्याउको पकेट क्षेत्र हो । सारै रमणीय ठाउँ । यहाँ आलुको पनि राम्रो खेती हुन्छ ।
स्याउ र आलुखेतीलाई व्यवस्थित गर्न सकिए स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ । त्यसपछि हामी बडीमालिका र बुढीनन्दा नगरपालिकाको सिमानापोरखे पुगेका थियौँ । पर्यटकीय क्षेत्रका रूपमा रहेको पोरखेलाई बाइसेचौबीसे राज्यताकाको राजाको दरबार क्षेत्र पनि मानिन्छ । तत्कालीन जुम्ली राजाले राज गरेको ठाउँ भनिन्छ यसलाई । पोरखे लेकमा एउटा भवनको भग्नावशेष देख्न सकिन्छ ।
स्थानीयका अनुसार जुम्ली राजाको दरबारको अवशेष हो त्यो । तल पाण्डुसेन र माथि कालाजग्रासँगै रहेको पोरखे लेक पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावनायुक्त ठाउँ हो । हामीले यही खाना खाएका थियौँ । होटलको नाम त मैले बिर्सें तर खानाको मीठो स्वाद भने अहिलेसम्म जिब्रोमा झुण्डिएको छ । खाना खाएर अगाडि बढेपछि चर्न हिँडेका भेडा बाटाभरि भेटिए ।
भेडा देखेर पत्रकार वसन्त हौसिएर गाडी रोकेर ओर्लिए । उनी नेपथ्य व्याण्डको चर्चित गीत 'भेडाको ऊनजस्तो ......' गाउन थाले । हामी सहयात्रीले उनलाई एक्लै छोड्ने कुरा थिएन । हामी पनि उनीसँगै सहभागी भयौँ र गाएजस्तो गर्न थाल्यौँ– 'भेडाको ऊनजस्तो होss भेडाको ऊनजस्तो..... ।'
गाएजस्तो मात्र होइन, सबै जना नाचेजस्तो पनि गर्न थाल्यौँ । यहाँसम्म कि हरिले पनि कम्मर हल्लाएको दखियो । त्यो लेकमा उमेरले कसैलाई छेकेको थिएन । न कोही वरिष्ठ, न त कोही कनिष्ठ नै । सबै एक समान यात्राका समवयी सहयात्रीजस्ता ।
पोरखेबाट कुनै बेला गाडीमै बसेर गाउँदै, कुनै बेला तल ओर्लेर नाच्दै हामी यात्रा गरिरहेका थियौँ । वसन्तलाई पर्वतीय पर्यटनको रिपोर्टिङमा विशेष रुचि छ भन्ने मलाई थाहा थियो । मैले उनलाई सोधेँ, 'यो यात्रालाई के भन्ने होला ?' उनले तत्काल केही भन्न सकेनन् । अचानक मलाई एउटा शब्दावली फुर्यो– माउन्टेन सफारी । अरे यार, डिजर्ट र जंगल सफारी हुन सक्छ भने माउन्टेन सफारी किन हुन सक्दैन ? वसन्तलगायत सबै साथी मसँग सहमत देखिए र कराएरै भन्न थाले– माउन्टेन सफारी । यसपछि हामीले हाम्रो यो पूरै यात्रालाई यही नामबाट उच्चारित गर्न थाल्यौँ ।
अब ढम्कने आइसकेको थियो । माथि कालाजग्रा, तल फेदीमा रहेको ठाउँ ढम्कने । तरकारी खेतीका लागि उपयुक्त स्थान मानिन्छ यो । बाजुरेली साथीहरूले यहाँका जनजाति समुदायका घरको छ्याङ राम्रो हुने बताएर चाख्न हौस्याए । सहजै पाइएन । खोज्नुपर्यो । पाइयो र सबैले चाख्यौँ । त्यसपछि केही बेर गीतको श्वर थप घन्किएको सम्झँदा म अहिले पनि रोमाञ्चित हुन्छु ।
ढम्कनेमा हामी निकै बेर अलमलिएका थियौँ । यो ठाउँमा पशुपालन पनि राम्रै रहेको त्यसबेलाको मेरो अनुभव छ । ढम्कनेबाट अगाडि बढेपछि तुलनात्मक रूपमा समथर देखिने रजातोली र त्यसपछि ओरालो लागेर जिल्लीहुँदै हामी बाजुराको सदरमुकाम मार्तडी पुगेका थियौँ । दिउँसोको करिब ४ बजेको थियो ।
मूल बडिमालिका देवीको मन्दिर त हामी जान सकेनौँ तर प्रतिकात्मक रूपमा बडिमालिकालाई स्थापित गरेर मार्तडीमा मन्दिर बनाइएको ठाउँमा पुगेर हामीले देवीलाई आफूहरू यहाँ आएको जनाउ दिएका थियौँ । मन्दिरकै छेउबाट तल ओरालो लागेपछि बजारतर्फ गइँदो रहेछ । तल बजार पुगेर हामीले गाडी परिवर्तन गर्नु छ । अबको गन्तव्य नेपालगञ्ज जो थियो । शिलापत्र
प्रतिक्रिया दिनुहोस