आइतबार, १८ जेठ २०८२

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

काठमाडौँ  :अर्थमन्त्री विष्णु पौडेलले गभर्नर छनोट सिफारिस समितिको बैठक बोलाएका छन् । झन्डै दुई महिनादेखि कांग्रेस र एमाले गभर्नर नियुक्तिमा उल्झिएका बेला अर्थमन्त्री पौडेलले मंगलबार दिउँसो समितिको बैठक बोलाएका हुन् । 

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मन्त्रिपरिषद् बैठक बोलाएका छन् । समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ । गभर्नर छनोटका लागि सरकारले केही दिनअघि अर्थमन्त्री पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको थियो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गरेको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् ।

यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामा पछि सो पदमा पाण्डे आएका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया०को व्यवस्थाअनुसार यसअघि गत चैत ११ मा सरकारले गभर्नर सिफारिस समिति गठन गरेको थियो ।

एक महिनासम्म पनि बैठक नबसेको, गभर्नर छनोटमा समितिको भूमिका नरहेको भन्दै सुरुको समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि उनको स्थानमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको थियो ।

कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको भनिएको छ । सोहीकारण पौडेलले समितिबाट राजीनामा दिइसकेका छन् । गत चैत २५ गते देखि राष्ट बैंकमा गभर्नर पद खाली छ । कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस